बैशाख २७ । एक जन्ती बोकेका बसले रोकिराखेको ट्रकमा ठक्कर दिँदा बसमा सवार २५ जनाभन्दा बढी घाइते भएका छन् ।

घाइतेमध्ये रौतहट जिल्ला चन्द्रनिगाहपुर– २ बस्ने रामतलेवर यादव र सोही जिल्लाको पिपरा रजवास ७ बस्ने रामदेव दासको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक भीष्म हुमागाईंले बताएका छन् ।

हिजो अबेर साँझ धनुषाको जनकपुरबाट जन्ती बोकी रौतहट गइरहेको ना४ख ६१६५ नंको बसले बर्दिवासको भोला बसन्त चोकमा रोकिराखेको ना ३ ख २५०६ नम्बरको ट्रकमा ठक्कर दिँदा बसमा सवार घाइते भएका हुन् ।

घाइतेहरुको उपचार बर्दिवासस्थित विभिन्न अस्पताल तथा निजी क्लिनिकमा भइरहेको प्रहरीले बताएको छ ।

बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको प्रहरी निरीक्षक हुमागार्इंले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।