बैशाख २५ । क्यानडा सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि आर्थिक सहयोग गर्ने वचन दिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठसँग मंगलबार भएको भेटमा नेपालका लागि क्यानडाका राजदूत स्टेवार्ट बेकले यस्तो आश्वासन दिएको छ ।
भेटमा राजदूतले नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई सुधार गर्न आफ्नो मुलुक विशेष आर्थिक सहयोग गर्न तयार रहेको बताएको मन्त्री श्रेष्ठका स्वकीय सचिव नीरज श्रेष्ठले राससलाई जानकारी दिएको उल्लेख गरिएको छ ।
सो अवसरमा राजदूत बेकले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र नेपालको पर्यटन प्रबद्र्धनमा क्यानडा सकारात्मक रहेको बताएका थिए ।
उनीहरूबीच द्विपक्षीय हितका साथै निकट भविष्यमा हुन लागेको संविधानसभा निर्वाचनको विषयमा समेत कुराकानी भएको बताइएको छ ।