बैशाख २३ । नेकपा एमालेले राष्ट्रपति डा रामवरण यादवलाई आज एक पत्र पठाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्ति सिफारिस सम्बन्धमा आफ्नो पार्टीको पोलिटव्यूरो बैठकले गरेको निर्णय जानकारी गराएको छ ।

राष्ट्रपति डा यादवलाई पठाइएको पत्रमा यही वैशाख ३ गते बसेको एमाले पोलिटव्यूरो बैठकले उच्चस्तरीय राजनीतिक समितिबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीको नाम प्रस्तावित गरिएको कुराप्रति गम्भीर ध्यानाकर्षण भएको स्मरण गराइएको छ ।

बैठकले अख्तियारजस्तो महत्वपूर्ण र संवेदनशील संस्थामा विवादास्पद छवि भएका व्यक्तिको नियुक्ति उपयुक्त हुँदैन भन्ने निष्कर्ष निकालेको व्यहोरासमेत सो पत्रमा उल्लेख छ ।

बैठकले निजलाई अख्तियार प्रमुख बनाउने सो प्रस्तावमाथि पुनर्विचार गर्न माग गर्ने निर्णय भएको व्यहोरा नेकपा (एमाले)ले राष्ट्रपतिलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।

व्यवस्थापिका–संसदको अनुपस्थितिमा संसदीय सुनुवाइसमेत सम्भव नभएको आजको परिप्रेक्ष्यमा राष्ट्रपतिबाट यस विषयमा जनभावनाको कदर हुने अपेक्षा गरिएको पार्टीका महासचिव ईश्वर पोखरेलद्वारा हस्ताक्षर गरी राष्ट्रपतिलाई सम्बोधन गरेर पठाइएको पत्रमा उल्लेख छ । रासस


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।