हेलोखबर डटकम, रासस बैशाख १२ । मन्त्रीपरिषद्को आज बसेको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरुले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।
बैठकले अरविन्द योग मन्दिर काठमाडौँ नामक संस्थाले एउटा सवारीसाधन खरिद गर्दा लाग्ने कर भन्सार असुल गरेको प्रमाण पेस गरेपछि सो संस्थालाई रु दस लाख शोधभर्ना गर्ने निर्णय गरेको छ ।
यसैगरी नेपाल–भारत संयुक्त आर्मी एभरेष्ट एक्सपिडिसन २०१३ नामक आरोहण दलमा सहभागी हुने नेपाली सेनातर्फबाट १३ र भारतीय सेनातर्फबाट १२ गरी २५ जनाले २०१३ अप्रिलको मेमा सगरमाथा आरोहण गर्दा लाग्ने सलामी दस्तुर दुई लाख ५० हजार अमेरिकी डलर छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री माधव पौडेलले जानकारी दिए ।
बैठकले केही निजामती कर्मचारी र तिनका परिवारलाई निजामती सेवा नियमावली–२०५० बमोजिम पाउने सुविधाबमोजिम जनही रु पाँच÷पाँच लाखका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
यसैगरी, सहसचिव देवनारायण शर्माले यही वैशाख १ गतेदेखि लागू हुने गरी दिएको राजीनमा पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।
सरकारले सिंचाई नीति २०७० को मस्यौदा सरकारसमक्ष प्रस्तुत भएकोमा त्यसलाई आर्थिक तथा प्राविधिक समितिमा पठाएर त्यससम्बन्धमा निर्णयमा पुग्ने निर्णय गरेको छ ।
यसैगरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सदस्य सचिवमा सोही परिषदमा कार्यरत डा. रामहरि लामिछानेलाई चार वर्षको लागि नियुक्त गर्ने निर्णय बैठकले गरेको छ ।






