अफिस समयमै तास खेल्ने सचिव, कम्प्युटर अप्रेटर र शिक्षकसहित आठ पक्राउ

बैशाख ११ – खोटांगमा अफिस समयमै तास खेल्ने चार गाविसका सचिव, कम्प्युटर अप्रेटर र शिक्षकसहित आठ पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालय नजिक सुवास होटलमा मंगलबार दिउँसो तास खेलिरहेका अवस्थामा बतासे गाविसका सचिव राजन खतिवडा, राखाबङ्देल गाविसका सचिव रमेश पोखरेल, महादेवस्थान गाविसका सचिव रामराज पोखरेल, बाकाचोल गाविसका सचिव यादवप्रसाद धमला र जिल्ला हुलाक कार्यालयका सहायक कम्प्युटर अप्रेटर राजेश शाक्य र शीतला मावि खाल्लेका शिक्षक महाप्रसाद आचार्य, दिक्तेल–४ का शिवप्रसाद आचार्य र घरधनी सुवास आचार्य पक्राउ परेका हुन् ।

तासको खालबाट रु १२ हजार ९४४ र आठ वटा मोबाइल टेलिफोन बरामद गरिएको छ । उनीहरू सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।