चैत्र ६ – आफ्ना मागप्रति व्यवस्थापनले चासो नदेखाएपछि लामो समयदेखि आन्दोलनरत नेकपा–माओवादी सम्बद्ध मजदुरहरुले बानेश्वरस्थित एनसेल भवनमा आक्रमण गरेका छन् ।
आक्रमणबाट एनसेलको मुख्यालयमा भौतिक क्षति पुगेको छ । उनीहरुले हानेको ढुङ्गाका कारण भवनको सिसाहरु फुटेका छन् । हेलो नेपाल नामक मोबाइल कम्पनीको सेयर एनसेलले किनेपछि तत्कालीन हेलो नेपालका ८७ जना कर्मचारीलाई हटाएइएको थियो ।
हटाइएको कर्मचारीको पुनर्वहालीको माग गर्दै आन्दोलनमा उत्रिएका कामदार र संघले आक्रमण गरेको हो । निस्कासित ८७ जनालाई पुनर्वहाली गर्न माग राख्दै शान्तिपूर्ण आन्दोलन गरिरहेको बेलामा एक्कासी प्रहरीले हस्तक्षेप गरी लाठी चार्ज गर्न थालेपछि उपस्थित मजदुरले आक्रमण गरेको संघका संयोजक जन्मदेव जैसीले बताएका छन् ।
मजदुर नेता शालिकराम काफ्लेले मन्तव्य राखिरहेको समयमा प्रहरीले एक्कासी हस्तक्षेप गरेको थियो । तोडफोडपछि भएको झडपमा पाँच जना मजदुर घाइते भएका छन् भने केही प्रहरीको नियन्त्रणमा छन् ।