फागुन २८ – प्रधानमन्त्रीलाई चुनावी सरकारको नेतृत्व प्रदान गरेर चुनावमा जान कस्सिएका दलहरुबीच सहमति अन्तिम अवस्थामा पुगेको छ ।
नेताहरुका अनुसार अब पूर्व जनमुक्ति सेनाको दर्जा बाहेक अन्य सबै विवास्पद विषयमा सहमति जुटेको बताइएको छ ।
आज नयाँबानेश्वरमा बसेको चार शक्तिको बैठकपछि नेताहरुले भोलि नै सर्वदलिय बैठक डाकेर सहमतिको कार्यान्वयन गरिने बताएका छन् ।
भोलि बिहान ११ बजे चार शक्तिबीच छलफल हुने र दिउँसो चार बजे सर्वदलिय बैठक बोलाइएको बताइएको छ ।
आजको बैठकपछि एमाओवादी उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले भोलि सर्वदलिय बैठक बोलाएर अहिलेसम्म भएका सहमति पारित गराइने उल्लेख गरे ।
आजको बैठकमा द्वन्द्वकालमा गम्भीर मानव अधिकार उल्लंघनका विषयलाई मुद्धा चलाउन चार शक्ति सहमत भएको बताइएको छ ।
सत्य निरुपण तथा मेलमिलाप आयोग गठनका विषयमा दलहरुबीच असहमति रहँदै आएकोमा आज भएको सहमतिसँगै यो विषय पनि टुंगिएको छ ।
चौतर्फी रुपमा विरोधका स्वरहरु पनि उठिरहेका बेला प्रमुख चार दलका शिर्ष नेताहरु भने प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व सुम्पिन लागेका हुन् ।