सप्तरी, २६ फागुन । सप्तरीको नकटीरायपुर गाविसको वडा नं. ९ को दलित बस्तीमा शनिबार भीषण आगलागी हुँदा ४४ घर जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार स्थानीय धुतरी सदाको घरबाट आगो सल्किएको हो । सदाले खाना पकाएर छाडेको चुल्होबाट आगो उनको घरमा सल्किएको र त्यसपछि पश्चिमबाट पूर्वतर्फ बहेको हावाले आगो सदाका छिमेकीका घरमा सल्काएको थियो ।
गाउँका पुरुषहरू बाहिर काममा गएको बखत तत्कालै आगोलाई नियन्त्रणमा लिन नसक्दा ठूलो क्षति भएको इप्रका रूपनीका इञ्चार्ज बलमबहादुर प्रधानले बताउनुभयो ।
आगलागीबाट घरमा रहेको अन्न, लत्ताकपडा, भाँडाकुँडासहितका सम्पूर्ण सरसामान जल्दा करिब रु ३५ लाखको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
आगलागी नियन्त्रणमा लिन राजविराज र लहान नगरपालिकाबाट वारुणयन्त्र ल्याइएको थियो । स्थानीयवासी, नेपाल तथा सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले गरेको प्रयासपछि दुई घण्टापश्चात् आगो नियन्त्रणमा आएको थियो ।







