फागुन २३ – वर्तमान सरकारको विगठन र राष्ट्रिय संयुक्त सरकार गठनको माग गर्दै नेकपा–माओवादीको नेतृत्वमा नेपाल संघीय जनगणतान्त्रिक मोर्चाले गरेको बन्दका कारण देशैभर असर परेको छ ।
मोर्चाले सरकार गठनमा विदेशी हस्तक्षेप निम्त्याउने चार पक्षीय गतिविधिको विरोध, राष्ट्रिय स्वाधीनताको रक्षा, असंवैधानिक कदमको विरोध र राजनैतिक दलहरुकै बीचबाट राष्ट्रिय संयुक्त सरकार गठन लगायतका माग राखेर आज नेपाल बन्दको आह्वान गरेको हो ।
बन्दका कारण बिहानैदेखि यातायात, शैक्षिक संस्था, कलकारखाना तथा बजारहरु ठप्प रहेका छन् ।
बन्दमा एम्बुलेन्स, रेडक्रसको गाडी, शववाहन, हस्पिटलको गाडी, दुध, पानी तथा फोहोर बोक्ने गाडीहरु, कुटनीतिक नियोगका गाडीहरु, मानवअधिकार र प्रेसका गाडीहरुलाई भने रोक लगाइएको छैन ।
नेपाल संघीय जनगणतान्त्रिक मोर्चामा नेकपा-माओवादी, नेकपा एकीकृत, मातृका यादब नेतृत्वको नेकपा माओवादी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (संघीय लिम्बुवान राज्य परिषद) लगायतका दल आवद्ध छन् ।