फागुन ११ – बाँके जिल्लाको खजुराखुर्दस्थित बागेश्वरी कत्था उद्योगमा कार्यरत सुरक्षा मजदुरको बिहीबार राति गोली हानी हत्या गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, राति ८ बजे मोटरसाइकलमा आएका दुईजनाले हानेको गोलीबाट सुरक्षा मजदुर दलबहादुर राना मगरको घटनास्थलमा मृत्यु भएको थियो ।

सो घटनामा संलग्नताको आरोपमा दुईजना भारतीयलाई हतियारसहित पक्राउ गरिएको जिल्लाका प्रहरी उपरीक्षक भुपाल भण्डारीले जानकारी गराए ।

आरोपीबाट प्रहरीले भारतीय नं. को मोटरसाइकल, अमेरिकामा बनेको नाइन एमएमको पेस्तोल र सोमा प्रयोग हुने गोली बरामद गरेको जनाइएको छ ।

प्रारम्भिक अनुसन्धानमा आरोपी दुवैले अपराध स्वीकार गरेका र एकमहिनाअघि नेपालगन्ज रामबाग निवासी गौरव मल्ललाई पनि आफूहरूले नै असफल गोली हानेको स्वीकार गरेका प्रहरी उपरीक्षक भण्डारीले बताए ।

आज पत्रकार सम्मेलनको आयोजना गरी आरोपीको नाम सार्वजनिक गरिने जनाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।