फागुन ३ – ‘गर्भवती’ बेलायती राजकुमारी केट बिदा मनाउन श्रीमान् विलियमसँग क्यारेबियन टापु मस्तिकमा पुगेका बेला सामुद्रिक किनारमा विकिनीमा हिँडिरहेको तस्बिर विश्वभरका विभिन्न सञ्चारमाध्यमले प्रकाशित गरेपछि बेलायती राजपरिवार फेरि तनावमा आएको छ ।
बेलायती राजपरिवारले दु:ख व्यक्त गर्दै निजी जीवनको सम्मान गर्न
सञ्चारमाध्यमले बिर्सिएको आरोप लगाएको छ । इटाली र अस्ट्रेलियाका
म्यागजिनले ती तस्बिरहरू प्रकाशित गरेका छन् भने फ्रान्स, अमेरिका र
जर्मनीका अखबारले पनि तस्बिर खरिद गरी प्रकाशनको तयारी गरेको जनाइएको छ ।
इटालीको गसिप म्यागजिन ‘ची’ले पहिलो पृष्ठमा उक्त तस्बिर छापेको छ ।
बेलायती महारानी डायनाको सनसनीपूर्ण फोटो छापेका कारण यसअघि यस इटालियन
म्यागजिन विवादमा आएको थियो । अस्ट्रेलियाको म्यागजिन ‘ओमेन्स डे’
राजकुमारी केटसहित विकिनीमा रहेको समयमा उनकी बहिनी पिप्पाको लिइएको तस्बिर
प्रकाशित गरेको छ । उक्त म्यागजिनको दाबी छ, सर्वसाधारणमार्फत उक्त तस्बिर
लिइएका हुन् । ‘ओमेन्स डे’का सम्पादक फिओना कोनेलीले बेलायती राजदम्पती
विलियम–केटको तस्बिर प्रकाशित गर्नु अस्वाभाविक नभएको दाबी गरेका छन् ।
उक्त दम्पती बेलायतबाहिर ‘सुरक्षित प्रजाति’ नभएको भन्दै कोनेलीले भनेका
छन, ‘यो तस्बिर प्रकाशित गर्नु कठिन निर्णय थिएन किनभने केट सार्वजनिक
स्थानमा थिइन् र यससमय अरूभन्दा उनलाई आकर्षक देखिएको थियो ।’