काठमाडौं २६ भदौ
पूर्वसांसद एवं राजपाका नेता शिबपुजन यादवसहित १४ पूर्व गाविस अध्यक्ष र ७ हजार बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
यादवको नेतृत्वमा राजपाका तीन केन्द्रीय सदस्य र १४ जना पूर्व गाविस अध्यक्षसहित ७२०० जना नेता कार्यकर्ता आइतबार माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ ।
आइतबार दिउँसो सर्लाहीको बजिरा नगरपालिकामा आयोजित कार्यक्रममा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा नेता यादव, राजपाका केन्द्रीय सदस्यहरु रामबाबू दास, रामएकवाल राय, राजपा जिल्ला उपाध्यक्ष महेन्द्र प्रसाद यादव, क्षेत्रीय सभापतिहरु अनिलकुमार सिंह, अनितादेवी यादव, विश्वमोहन सिंह लगायतका नेताहरुको नेतृत्वमा ७२०० जना नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री एवं माओवादी नेता जनार्दन शर्मा प्रभाकर, नेताहरु मातृका यादव, रामेश्वर राय यादवले माओवादी केन्द्रमा स्वागत गरेका थिए ।
गणतन्त्र नै गुम्ने खतरा थियो : ‘प्रचण्ड
कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले आफूहरुले पूर्ण संविधान खोजेको भए गणतन्त्र नै खत्तम हुने खतरा रहेको बताएका छन् ।
“अहिलेको संविधान पूर्ण छैन, अहिलेको संविधानमा हाम्रो पनि नोट अफ डिसेन्ट छ । महिलाका अधिकार, दलितका अधिकार, मधेशीका अधिकार पूर्ण रुपमा संविधानमा समेटिएका छैनन् । हामीले अन्तिमसम्म कोशिस गर्यौं । तर, संसदमा हाम्रो अंकगणित तेस्रोमा थियो, त्यसैले हामीले सम्झौताको संविधान बनायौं । अहिलेको संविधान प्रगतिशील छ । हामीले पूर्ण अधिकार सहितको संविधानमा अडान लिएको भए कांग्रेस एमाले मान्ने पक्षमा थिएनन्, गणतन्त्र नै गुम्ने खतरा हुन्थ्यो ।’’ उनले भने “माओवादी कुनै क्षेत्रीय वा समुदाय विशेषको राष्ट्रवाद मान्दैन, काठमाडौं बनाउन मधेशीको श्रम छ, मधेशमा काठमाडौं र पहाडको पसिना छ ।
Comments








