माघ १३ – राष्ट्रपति डा रामवरण यादवले संविधानसभामार्फत संविधान प्राप्त गर्ने नेपाली जनताको चाहनामा दलहरु बाधक बनेको बताएका छन् ।

कानुन विषय (लिगल इस्यु) सम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उदघाटनका क्रममा उनले यादवले संविधानसभामार्फत नयाँ संविधान प्राप्त गर्ने नेपाली जनताको चाहनामा राजनीतिक दलहरु सहमतिमा पुग्न नसक्दा अवरोध आएको भन्दै दुःख व्यक्त गरे ।

सो क्रममा उनले अब पनि वर्तमान सङ्क्रमणकालीन अवस्थालाई अन्त्य गर्दै जनताको चाहनाअनुरुप संविधान प्राप्त गर्न दलहरु नमिले झन समस्या निम्तने उल्लेख गरे ।

उनले स्वतन्त्र न्यायपालिका, विधिको शासन प्रजातन्त्रको मेरुदण्डका रुपमा रहेको चर्चा गर्दै कानुन व्यवसायी भनेका सामाजिक इन्जिनियर भएको समेत जनाए ।

नेपाल बार एसोसिएसन र ल एसियाद्वारा संयुक्त रुपमा आयोजित सो सम्मेलनमा नेपालसहित दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) देशसहित कोरिया, मलेसिया, जापानका कानुन विज्ञहरुको सहभागिता रहेको छ ।

सम्मेलनमा स्वतन्त्र न्यायपालिका, विधिको शासन, कानुनी शिक्षा, स्वतन्त्र बार, मानवअधिकार, कानुनी सहयोग प्रदानलगायतका विषयका कार्यपत्र प्रस्तुत भई छलफल हुनेछ ।

साथै सहभागी देशहरुका बारलगायत न्यायालयका न्यायमूर्तिद्वारा आ–आफ्ना देशका कानुनी शासनका अवस्थाका बारेमा अनुभव आदानप्रदान गर्नेछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।