अरु देशका मन्त्री सकेसम्म अरुलाई चिथोरेर, फकाएर, धम्काएर र अक्किलले आफ्नो देशका लागि हित गर्छन् । देशलाइ धनी बनाउन खोज्छन् । ईतिहास पढ्छन् । तथ्य केलाउँछन् । बिगतमा भए गरेका गल्तिहरु केलाउने र सच्याउने गर्छन् । ऐतिहासिक दस्ताबेज, लेखोट, प्रमाण जुटाएर पूर्खाले केहि गल्ति गरेको भए सच्याउँछन् । खोसिएका सम्पती लिनकोलागि जोडजुलुम गर्छन् । तर हाम्रा मन्त्री ? भएको माटोपनि बिदेशीलाई बेच्छन् । आफ्नो देशको सम्पदामा बिदेशीले ठाडो हस्तक्षेप गर्दा बोल्नु, बिरोध गर्नु त परै, उल्टो त्यसैलाई सहि र सत्य भनेर सदर गरिदिन्छन् । किन त्यस्तो हुन्छ ?
किनकि हाम्रा देशका धेरै मन्त्री नेपाली भेषका दलाल हुन् । शिरमा नेपाली टोपी लाउने काम तिनले नेपालीलाई झुक्याउन हो । नेपाली टोपी र दौरा सुरुवाल लागएर नेपाली झुक्याउने र काम भने बिदेशी स्वार्थका लागि गर्ने तिनको उद्देश्य हो । देशको माटो आफु अनुकुल बेच्छन् । परिस्थिति मिलाईमिलाई, देशमा राजनितिक अवस्था प्रतिकूल रहेका बेला दलाली गरेर बेचिखान्छन् । एकिक्रित नेकपा माओवादीका मन्त्री पोष्ट बहादुर बोगटीले त्यसै गरे ।
सारा दक्षिण एशियामा काउसो बनेका भारतीय दलालहरुले हाम्रो देश नै खान खोजेका छन् । सिंगै निल्न नसकेर चिम्टि चिम्टि हडप्दै आएका छन् । तिनलाई हाम्रो सगरमाथ, हाम्रा बुद्द, हाम्री सिताको नाम सुन्दा सुन्दासाथ जफत गरिहालौं झैं हुन्छ । त्यसैले तिनले अनेक भ्रम र हल्ला फैलाएर बुद्द भारतीय हो, भारतमा जन्मिएको हो, लुम्बिनि भारतमा पर्छ भनेर दुख दिएका छन् । त्यहि भ्रम छर्न अनेक किताब, ग्रन्थ र झुठा सामाग्रि छापेका छन् । त्यसलाइ ह्याउ भएको सरकार, नेपालीको सरकार, जनताको सरकार भए सच्याउन लगाउनुपर्थ्यो । तर छैन । बरु भारतीय लगौंटी लगाउने, भारतीय हितमा बोल्ने, गुप्तचरी गर्ने, आफ्नै देशको माटो बेचेर कमिशन कुम्ल्याउने मन्त्री छन् । त्यस्ता मन्त्रीले सकेसम्म त्यसैलाई सदर गरिदिन्छन् । मन्त्री बनेर भारतीय झुठलाई सहि साबित बनाउन कमर कस्छन् ।
लुम्बिनीबट आएको समाचार झुठो भन्न सकिन्न । राससले लेखेको समाचारमा नेपालका संस्कृति तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटी तथा नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद सहभागी रहेको कार्यक्रममा भारतीय पर्यटन बोर्डले “गौतमबुद्ध लुम्बिनीमा जन्मिएका र उनका बुबा शुद्धोधनको कपिलवस्तु दरबार भारतको उत्तर प्रदेशमा पर्दछ” भन्ने किटान गरेर किताब तथा ब्रोसरहरु वितरण गरेछ । रासस सरकारी सञ्चार माध्यम हो । अरु सञ्चार माध्यमलाई सत्य र भरपर्दो समाचार दिन बसेको हो रासस । सरकारमा एकिक्रित माओवादी नै छ । राससमा आफ्नै कार्यकर्ता भर्ति गरेका छन् । तर । राससलेनै यस्तो समाचार दियो । बरु अब यो समाचार किन दिईस ? यो दिने को हो ? भनेर खोजि गर्दै त्यसको जागिर जखम गर्ने काम गर्न सक्छ माओवादीले ।
कार्यक्रम भारतमा भएको भएपनि ध्यान पुगेन, भारतीयहरुले छक्काए भन्नु । नेपाल-भारत पर्यटनसम्बन्धी छलफलका लागि लुम्बिनीमा गरिएको कार्यक्रम । त्यहाँ गएका सबैलाई भारतीयहरुले त्यहि भ्रम छारेको किताब र ब्रोसर बाँडे । हाम्रा पर्यटन मन्त्री पोष्ट बहादुर बोगटी सरकारी सुबिधामा राष्ट्रको झण्डा हल्लाउँदै गए । तर भारतीयराजदूतसित कान फुकेर, कुम जोडेर बसे । नेपालको पर्यटनको विकास गर्न यसो गर्न पर्छ । उसो गर्नुपर्छ भने । भारतीयहरुले बनाएका ब्रोसर र किताब हेरेर दंग परे । तर आफ्ना गौतम बुद्दलाई भारतीयहरुले दाबी गरेको तथ्य देखेको नदेख्यै गरे । त्यसैलाई बैधानिकता दिएर फर्किए ।
जंगल हिँड्न बाहेक अरु नजान्ने । थर्काउन बाहेक अरु नआउने । आफ्नै देशको सम्पदा जोगाउन नसक्ने । बुद्दी र बिबेक भन्ने शुन्य । ज्ञानको दायरा खुम्चिएको । पर्यटन भनेको केहो रत्ती ज्ञान नभएको । आफ्नो देशको भन्दा भारतीय हितमा चिन्ता लाग्ने । क्रान्तिकारी देखिन सत्तामा नपुगुन्जेल सिमा क्षेत्रका चर्का चर्का भाषण ठोक्ने । तर सरकारमा पुगेपछि तिनैको धोती पखाल्ने । आफ्नो देशको गौरव मेट्ने । सम्पदा र माटो बेच्न मौन समर्थन गर्ने । यस्ता लम्पट, हुतिहारा, भारतीय दलाली गर्नेहरुबाट देशले के आशा गर्ने ? भएको सम्पदानै बिदेशीलाई सुम्पिन मौन समर्थन गर्नेले पर्यटकिय आकर्षणका क्षेत्र विश्वमा कसरि चिनाउने ? केको पर्यटन विकास गर्ने ? भएका सम्पदापनि सक्ने भए यि लम्पटहरुले ।
राष्ट्रिय समाचार समिति (रासस) को समाचार हेर्नुस्
भैरहवा, माघ ४- नेपालका संस्कृति तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटी तथा नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद सहभागी रहेको कार्यक्रममा भारतीय पर्यटन बोर्डले गौतमबुद्ध लुम्बिनीमा जन्मिएका र उनका बुबा शुद्धोधनको कपिलवस्तु दरबार भारतको उत्तर प्रदेशमा पर्दछ भन्ने भ्रामक किताब तथा ब्रोसरहरु वितरण गरेको छ।
नेपाल-भारत पर्यटनसम्बन्धी छलफलका लागि लुम्बिनीमा गरिएको कार्यक्रमका उपस्थित सबैलाई भारतीय पक्षले उक्त किताब र ब्रोसर बाँडेको हो।
कार्यक्रममा दुईदेशका ट्राभल एजेन्ट तथा पर्यटन व्यवसायी पनि सहभागी थिए।
लुम्बिनीमा माघ २ र ३ गते दुई दिनसम्म चलेको सो कार्यक्रममा भारतीय पर्यटन बोर्डका कर्मचारीले व्यापकरुपमा कार्यक्रमस्थलमै ब्रोसर वितरण गरिरहँदा नेपाल पर्यटन बोर्ड रमिते देखिएको सहभागी प्रकाश न्यौपानेले बताए।
भारतीय पक्षबाट बुद्ध सर्किटको प्रचार भन्दै कार्यक्रम गरिरहँदा सो ब्रोसरमा लुम्बिनी बाहेकका बुद्धसँग सम्बन्धित रामग्राम, देवदह, तिलौराकोटको नाम नै राखिएको थिएन। भारतीय पक्षले एकतर्फीरुपमा भारतमै रहेका सारनाथ, सेराबस्ती, सङि्कसा, कउसम्बी, कुशीनगर र लुम्बिनीलाई मात्र बुद्ध सर्किट भनेर व्याख्या गरेको छ।
उनीहरुले वितरण गरेको ब्रोसरमा लुम्बिनीसमेत नेपालमा पर्दछ भनेर लेखिएको छैन। उनीहरुको बुद्ध सर्किट भनेर बुद्ध लुम्बिनीमा जन्मेका हुन् मात्र लेखिएको छ भने अरू सबै भारतीय तीर्थस्थललाई मात्र देखाएर बुद्ध सर्किट भनिएको छ।
नेपाल पर्यटन बोर्ड बेलहियाका प्रमुख प्रदीप बस्नेतले कपिलवस्तुको विषयमा भारतले पनि दाबा गरेको तर यो नेपालमा पर्ने जनाउँदै यसको विषयमा सरकारले कुटनीतिक पहल गर्न आवश्यक रहेको बताए।
भैरहवा क्याम्पसका क्याम्पस प्रमुख डा घनश्याम न्यौपानेले बुद्धको जन्म तथा शुद्धोधनको दरबार नेपालमा पर्छ भन्ने यथेष्ट प्रमाण हुँदा पनि नेपाली पक्षबाट यसको कुटनीतिक पहल गरी नसच्याउनु दुर्भाग्य भएको उल्लेख गरे।
स्थानीय पत्रकार नरेश केसीले नेपालमै आएर कपिलवस्तु भारतमा पर्छ भन्दै ब्रोसर वितरण गर्नु लज्जाजनक भएको उल्लेख गरे। नेपाल प्लसबाट साभार