माघ ३ – पत्रकारका हत्यारालाई कारबाहीको माग गर्दै इटहरीका पत्रकारले कपाल काटेर विरोध गरेका छन् ।
दैलेखका पत्रकार डकेन्द्र थापाको हत्यामा संलग्न भएकालाई कडा कारबाहीको माग गर्दै आज इटहरीका पत्रकारले कपाल काटेर विरोध जनाएका हुन् ।
इटहरी नगरपालिका अगाडिबाट जुलुससहित चोकमा आएर पत्रकारले पत्रकार थापाको हत्यामा संलग्न भएकालाई कारबाही गर्न रोक लगाउने कार्यको कडा शब्दमा विरोध गर्दै कारबाहीका लागि दबाब सिर्जना गर्न कपाल मुण्डन गरेका हुन् ।
देशभर पत्रकार थापाको हत्यामा संलग्नलाई कारबाही हुनुपर्छ भन्दै विरोध चर्किरहेको बेला रिपोर्टर्स क्लब सुनसरीको नेतृत्वमा इटहरी चोकमा भेला भएका पत्रकारले कपाल काटेर सरकारप्रति व्यङ्ग्यसमेत गरेका छन् ।
रिपोर्टर्स क्लब सुनसरीका अध्यक्ष धनबहादुर पुरीको नेतृत्वमा जम्मा भएका झन्डै एकदर्जन पत्रकारले कपाल काटेर वर्तमान सरकार प्रेस विरोधी भएको टिप्पणीसमेत गरेका छन् ।