पुस २५ – नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले नेपाल विस्तारवादीहरुको स्वार्थपूर्तिको अखडा बन्दै गएको उल्लेख गरेका छन् ।
पार्टीको सातौँ महाधिवेशनको उदघाटन सत्रलाई राजधानीको खुल्ला मञ्चमा सम्बोधन गर्दै उनले हाम्रो देश हो कि विस्तारवादीको अखडा भन्दै प्रश्न गरेका थिए ।
कार्यक्रममा उनले नेपाली जनताले यसअघि पनि थुप्रै बलिदानी गरेको भन्दै देशका लागि परेमा अझै ठूलो बलिदानी दिन आफूहरु तयार रहेको समेत जनाए ।
भारतसँग असमान सन्धी सम्झौता भएकाले राष्ट्रिय स्वाधिना जोखिममा परेको समेत उनले उल्लेख गरे । दुई छिमेकी मुलुक मध्ये चीनले नेपालको राष्ट्रिय स्वाधिनताको सम्मान गरे पनि भारतले जहिल्यै गिद्धेदृष्टि लगाएको पनि उनले जनाए ।
उनले १० बर्षे सशस्त्र युद्धको उद्देश्यहरु पूरा नभएको भन्दै दक्षिणपन्थीसाग आफ्नो पार्टीले सम्बन्धबिच्छेद गरेको टिप्पणी गरे ।
वैद्यले दलहरु जनताको हक अधिकारमाथि खेलभाड गरिरहेको भन्दै संसदवादी र यथास्थितिवादी शक्तिहरुले संविधान पुनस्र्थापनाको कुरा गरे पनि यसबाट कुनै पनि हालतमा संविधान नबन्ने ठोकुवा समेत गरे ।
उनले सबै शक्ति मिलेर संयुक्त मोर्चा बन्न आवश्यक रहेको बताउँदै नयाँ पार्टीको आवश्यकता रहेको बताए। ‘हामी नयाँ पार्टी बनाउन चाहन्छौं,’ उनले भने।