पुस २२ – भक्तपुरमा गएराती आगलागी हुँदा एकै घरका ३ जननाको जलेर मृत्यु भएको छ । भत्तपुर नगरपालिका वडा नम्बर १ सुर्यमढी तौलाछेमा रहेको पूर्णभक्त प्रजापतिको घरमा शनिवार राती आगलागी हुँदा जलेर उनकी श्रीमती र दुई छोरीको जलेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा ६४ वर्षकी लक्ष्मीकेशरी प्रजापति र छोरीहरु ३९ बर्षकी पार्वती र २६ बर्षकी सजना प्रजापति रहेको प्रहरीले जनाएको छ । पूर्णभक्त प्रजापति र कान्छी छोरीले भने भागेर ज्यान जोगाउनु भएको छ । आगो लागेपछि चौथो तल्लामा सुतेका छोरीहरुलाई उठाउँन जाँदा आमा लक्ष्मी केशरीको जलेर मृत्यु भएको थियो । गएराती १२ बजे लागेको आगो भक्तपुर, काठमाडौं, ललितपुर र प्रहरीको सातवटा दमकलले बिहान ३ बजेपछि मात्रै नियन्त्रणमा लिएको थियो । हिजो भोजको खानपिन सकिएपछि तेश्रो तलामा बालिएको आगो ननिभाई सुत्दा आगलागी भएको प्रहरीले बताएको छ ।

चौथो तल्लामा पराल, छवाली लगायतका सामानहरु रहेकाले घरभरी नै तत्काल आगो फैलिएको थियो । आगलागीबाट घर पूर्ण रुपमा जलेको छ भने २० लाख रुपैया भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । छिमेकीले समेत आगो लागेको ढिला मात्रै थाहा पाएको र प्रहरी तथा दमकललाई समेत ढिला मात्रै खबर पुगेको धनजनको सुरक्षा गर्न नसकेको प्रहरीको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।