पुस १२ – काठमाडौँ उपत्यकामा सवारी व्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीको आचरण र व्यवहारमा फरक पाइने भएको छ ।

अब विगतमा जस्तो छुचो र रुखो रूपमा नभई मुस्कानसहितको हसिलो अनुहार र सरल व्यवहारका साथ ट्राफिक प्रहरी प्रस्तुत हुनेछन् ।

सवारी व्यवस्थापनमा १८ घन्टासम्म खटिएर काम गर्दासमेत उनीहरूको बारेमा सडक प्रयोगकर्ता र व्यवसायीबाट जनगुनासो र टीकाटिप्पणी हुने क्रम नरोकिपछि सङ्गठन आचार र व्यवहार सुधारको पाटोलाई अघि बढाउने निष्कर्षमा पुगेको हो ।

त्यसका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले आफ्ना मातहतको जनशक्तिलाई मुस्कानसहितको सेवा प्रदान गर्न निर्देशनसमेत दिइसकेको छ ।

महाशाखाले आफ्नो मातहतका जनशक्तिको आचरण र व्यवहारमा परिवर्तन ल्याउन तालिम तथा अनुशिक्षण कार्यक्रम आजदेखि सुरु गरेको छ ।

मुस्कानसहितको सेवा नाम दिइएको सो अनुशिक्षणको उद्घाटन गर्दै महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख नवराज ढकालले नेपाल प्रहरी सङ्गठनको दूतको रुपमा ट्राफिक प्रहरी सडकमा खटिने हुँदा सङ्गठनको छविलाई उज्ज्वल तुल्याउन उनीहरूको व्यवहार र आचरणले ठूलो योगदान पु¥याउने बताए ।

महाशाखाका प्रमुख उपेन्द्रकान्त अर्यालले ट्राफिक प्रहरीको आचरण र व्यवहार सुधार्नुपर्ने पाटोका बारेमा धेरै जनगुनासो आएपछि त्यसलाई सुधार्न अनुशिक्षण कार्यक्रमको थालनी गरिएको उल्लेख गरे ।

नेपाल पत्रकार महासङ्घका सभापति शिव गाउँलेले मापसेविरुद्धको अभियानलाई अझ धेरै छलफलका साथ सुधारेर लैजानुपर्ने आवश्यकता औँल्याए ।

महाशाखाका वरिष्ठ उपरीक्षक लव विष्ट, उपभोक्ता मञ्चका ज्योति बानियाँ, यातायात व्यवसायी तथा मजदुर युनियनका प्रतिनिधिले कानुन कार्यान्वयन गर्ने ट्राफिक प्रहरीको अभियानमा आफूहरूको सहयोग र समर्थन रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ट्राफिक प्रहरीलाई कर उठाउने माध्यम होइन प्रोत्साहन दिएर यातायात व्यवस्थापनका लागि मात्र प्रयोग गर्नुपर्ने, मापसे अभियानको सफलता असफलताको बारेमा अनुसन्धान हुनुपर्ने, ट्राफिक प्रहरीलाई सहयोग पु¥याउन सयन्त्र विकास गर्नुपर्ने, सिट भन्दाबढी यात्रु बोक्न नपाइने नीति बनाउनुपर्ने तथा यात्रुका अत्तिरिक्त समानसमेत बोक्ने गरी बनाइएका यात्रुबाहक बसका छत हटाइनुपर्ने सुझाव सो अवसरमा दिइयो ।

महाशाखाले सवारी चालक र सहचालकलाई समेत आगामी अनुशिक्षणमा सहभागिता गराउँदै लैजाने कार्ययोजना बनाएको राससमा उल्लेख छ ।

उपत्यकाको यातायातको चापलाई व्यवस्थित तुल्याउँदै सवारी दुर्घटना न्यूनीकरण गर्न महाशाखाले समयसमयमा विभिन्न कार्यक्रम चलाउँदै आएको छ ।

महाशाखाले पछिल्लो समयमा मादकपदार्थ सेवन गरेर सवारी साधन चलाउने कामलाई नियन्त्रण गर्न मापसे अभियान चलाइरहेको छ ।

सवारी चापलाई व्यवस्थित गर्न र सडक यातायातलाई सुचारु गर्न अहिले महाशाखाले सादा पोसाकमा आफ्ना जनशक्तिलाई परिचालन गरी सवारी नियम उलङ्घन गर्नेमाथिको कारबाहीलाई तीव्र तुल्याइरहेको छ ।

काठमाडौँ उपत्यकामा अहिले करिब आठ लाखको हाराहारीमा सवारी साधन गुड्दै आएको र त्यसको तुलनामा ट्राफिक प्रहरीको जनशक्ति ज्यादै न्यून रहेको छ ।

हाल उपत्यकामा एक हजार १४६ जना मात्रै ट्राफिक प्रहरी परिचालन हुँदै आएको बुझिइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।