अरेबियन मुलुक ईरान एकपटक पुनः साईबर आक्रमणको चपेटमा परेको छ । यस पटक साईबर आक्रमणको निशानामा भने त्यहाँको बिजुली संयन्त्र र औधोगिक क्षेत्र परेको छ । दक्षिण ईरानको होमोजगन प्रान्तमा ‘स्टस्सनेट’ नामक भाईरसको आक्रमण भएको बीबीसीले जनाएको छ । ईरानले भने साईबर आक्रमण भएपनि उक्त भाईरसलाई नियन्त्रणमा लिएको दाबी गरेको छ ।
ईरानको मिडिया रिपोर्टमा भाईरसलाई फैलिनबाट रोकिएको उल्लेख गरिएको छ । ईरानलाई विशेषगरी पश्चिमामुलुकहरुले परमाणु हतियार बनाउने गरेको आरोप लगाउँदै आएका छन् । यस साईबर हमलालाई पनि त्यही मुद्दासँग जोडिएर हेरिएको बीबीसीले उल्लेख गरेको छ । पश्चिमा देशले ईरानको परमाणु कार्यक्रममाथी लगातर अंकुश लगाउनुपर्ने बताउँदै आएका छन् । अर्कोतर्फ ईरानका अधिकारीहरुले त्यहाँका उद्योगहरुलाई लगातार साईबर हमलाको निशाना बनाउन थालिएको प्रतिक्रिया दिएका छन् ।
ईरानले हालै हमला गर्ने ‘स्टक्सनेट’ भाईरसलाई नियन्त्रणमा लिएको दाबी गरेपनि त्यसले ईरानको उद्योगमा ठूलो हानी पु¥याएको जनाइएको छ । गएको अप्रिल महिनामा ईरानको तेल मन्त्रालय र राष्ट्रिय तेल कम्पनीमा भएको साईबर हमलाका कारण ईरान सरकारले तेल सुविधा रोक्नु परेको थियो । अहिले भने साईबर हमलाको तारो उर्जा क्षेत्रलाई बनाइएको हो । यसले त्यहाँको उर्जा निर्यातलाई प्रभावित गरेको जनाइएको छ ।
हालै भएको यस ‘स्टक्सनेट वार्म’ भाईरसको आक्रमण अहिलेसम्मकै सबैभन्दा ठूलो र खतरनाक साईबर हमला भएको अनुमान गरिएको बीबीसीले जनाएको छ । ईरानले सन् २०१० मा पश्चिमा देशहरुले ‘स्टक्सनेट वार्म’ भाईरसको माध्यमबाट आफ्नो देशको न्यूक्लिएर सेवा प्रभावित गर्न खोजिरहेको आरोप लगाएको थियो । Source: Enter








