पुस ९ – महोत्तरी जिल्लामा चिसोले कठ्याङ्ग्रिएर मर्नेको सङ्ख्या आठ पुगेको छ ।

मङ्सिरको अन्तिम साता सुरु भएको बाक्लो हुस्सुसँगै लगातार बहेको चिसो हावाले अत्यधिक बढेको जाडामा राम्रो जतन हुन नसक्दा आठ जनाको मृत्यु भएको हो । पुस लागेको सङ्क्रान्तिकै दिन जिल्लाको मटिहानी बजारमा नाम वतन नखुलेको एक जना ७५ वर्षीय भिखारी जाडाले कक्रिएर मृत्यु भएको आठ दिनपछि आइतबार साँझसम्म जाडाले कक्रिएर मर्नेको सङ्ख्या आठ पुगेको छ ।

पछिल्लोपटक भटौलिया–४ का ६० वर्षीय मिश्रीलाल यादव र औरही–४ का ४० वर्षीय विनोद चौधरी आइतबार बिहान सुतेकै ठाउँमा कक्रिएको अवस्थामा मृत पाइएपछि जाडाले मर्नेको सङ्ख्या बढेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले पुष्टि गरेको राससमा उल्लेख छ ।

यता जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले भने जाडोकै कारण मृत्यु भएको पुष्टि हुन नसकेको जनाएको छ । बिरामी भएपछि अस्पताल वा स्वास्थ्य संस्थामा उपचार नगराएको र मृत्युपछि शवको मेडिकल परीक्षण नभएकाले पुष्टि हुन नसकेको कार्यालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले बताए ।

जिप्रका महोत्तरीका प्रहरी निरीक्षक सुरज खड्काले भने घरको गरिबी र अभावले जाडाबाट बच्न न्यानो लुगा र पौष्टिक आहारको जोहो गर्न नसकेकाले नै जिल्लामा जाडाबाट मर्नेको सङ्ख्या बढेको बताए ।

शवको प्रकृतिले आफूले सो अनुमान लगाए पनि मृत्युको कारणबारे औपचारिक र वैज्ञानिक पुष्टिका लागि शवको मेडिकल परीक्षण अनिवार्य भएको पनि खड्काको स्वीकारोक्ति थियो ।

यसैबीचमा जाडाले कक्रिएर मरेका भनिएकामा पाँचजना ६० वर्षमाथिका, दुईजना ४० वर्षमाथिका र एकजना चार वर्षीय भएको प्रहरीले जनाएको छ । जाडो छल्ने न्यानो लुगाको जोहो गर्न नसक्ने, पौष्टिक आहारको व्यवस्था गर्न नसक्ने र अर्थाभावले ठीक समयमा उपचार सेवाका लागि अस्पताल पुग्न नसक्ने गरिब बस्तीका बासिन्दा जाडाको मारमा परेको सामाजिक सङ्घसंस्था र स्वास्थ्यक्षेत्रमा कार्यरत जिल्लास्थित स्थानीय क्लबले जनाएका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।