पुस १ – दक्षिण चितवनको माडीमा जङ्गली हात्तीको आक्रमणबाट गएराति एक दम्पतीको ज्यान गएको छ ।

आफ्नै घरमा सुतिरहेका बेला माडीको गर्दी गाविस ९ द्रोपदी नगरका ६५ वर्षीय वुद्धिराम बोट र उनकी ५५ वर्षीया श्रीमती जरिया बोटको हात्तीको आक्रमणबाट ज्यान गएको माडी प्रहरीले जानकारी दिएको छ ।

मध्यरातमा एक्कासि घरमा पसेको हात्तीले सुतिरहेको अवस्थामा आक्रमण गर्दा वुद्धिरामको घटनास्थलमै मृत्यु र उनकी श्रीमतीको उपचारका लागि भरतपुर अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सो क्रममा हात्तीले घरको धान र बालीनालीसमेत नष्ट गरेको प्रहरीले जनाएको छ । गएको महिनामा पनि माडीमै हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गएको थियो ।

गत महिनामा निकुञ्जले दाह्रा काटेर छाडेको हात्तीले नै आक्रमण गरेको स्थानीयवासीले बताएका छन् । निकुञ्जले हात्ती नियन्त्रणको प्रयास जारी राखेको जनाएको छ ।

चितवन र पर्सा जिल्लामा विगत केही महिनादेखि हात्ती आतङ्क जारी छ । यो वर्ष मात्रै यी दुई जिल्लामा हात्तीको आक्रमणबाट एक दर्जन बढीको ज्यान गइसकेको छ । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।