पुष १ – भारतबाट अवैधरूपमा कुखुराको मासु काठमाडौँ भित्र्याइएको भन्दै शनिबार धादिङको धार्केमा कुखुरापालक किसानले दुई वटा भारतीय कन्टेनरको मासु नियन्त्रणमा लिएका छन् ।

देव्यानी इन्टरनेशनल नेपाल लिमिटेडको नाममा आएका एम् एच ४३ यु–४३३७ र डि एल १ एम ६५८२ नम्बरका दुईवटा कन्टेनर किसानले धादिङमा नियन्त्रणमा लिएका थिए । दुईवटै कन्टेनरमा अवैध भारतीय ब्रोइलर कुखुराको मासु भएको कुखुरा व्यवसायी किसान पदमराज कोइरालाले जानकारी दिए ।

मासु बोक्ने ती कन्टेनरसँग चलानीको साथमा भन्सार र क्वारेन्टाइन गराइएको कागजपत्र पाइएको छ ।

वीरगन्ज भन्सार कार्यालयमा राजस्व तिरेर आएको भए पनि सो मासु अवैधरूपमा भित्र्याइएको किसानहरूले जनाएका छन् । भारतमा बर्डफ्लु देखिएका कारण नेपाल सरकारले हाल भारतबाट पक्षीजन्य वस्तु आयातमा प्रतिबन्ध लगाइरहेको छ ।

जिउँदो समेत प्रतिबन्ध गरिएकामा तयारी मासु नेपाल भित्र्याउँदा किसानहरू आक्रोशित बनेका हुन् । विगतदेखि नै यसरी मासु आउने गरेको जानकारी पाएर लामो समय निगरानी राखी शनिबार नियन्त्रण गरिएको नेपाल ह्याचरी उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद शर्माले बताए ।

देव्यानी इन्टरनेसनलले काठमाडौँमा रहेको बहुराष्ट्रिय कम्पनी केएफसी रेष्टुरेन्टलाई मासु आपूर्ति गर्दै आएको छ । नेपालमा उत्पादन भएको मासुको गुणस्तर कम रहेको भन्दै केएफसीले थाइल्यान्ड र ब्राजिलबाट मासु ल्याइने गरेको दाबी गर्दै आएको थियो ।

ब्रोइलर कुखुराको मासुमा नेपालकै उत्पादन पर्याप्त भए पनि भारतबाट अवैधरूपमा मासु भित्र्याउँदा नेपालमा कुखुराको मूल्य निकै सस्तो भएको किसानहरूको भनाइ छ । उत्पादन लागतसमेत नपाउँदा मर्कामा परेका किसानको ढाड सेकाउने काम भएको भन्दै धादिङमा व्यावसायिकरूपमा कुखुरा पाल्दै आएका सयौं किसानहरू धार्केमा जम्मा भएर शनिबार विरोधमा उत्रिएका थिए ।

उत्पादन लागत नै प्रतिकेजी १५० रूपैयाँ हुने जिउँदो कुखुराको मूल्य काठमाडाँैमा १४५ रूपैयाँ रहेको कुखुरापालक किसान कुमार रेग्मीले बताए ।

वीरगन्ज भन्सारबाट २२ कन्टेनर मासु बोकेर आउँदै गरेको सूचना प्राप्त भएको ह्याचरी सङ्घका अध्यक्ष शर्मा बताउनुहुन्छ । केएफसीमा मात्र यति ठूलो परिमाणमा मासु खपत हुनै नसक्ने उनको भनाइ छ । दूषित मासु काठमाडाँै भित्र्याएर नेपालका किसानको ढाड सेकाउँदा समेत राज्य मौन बसेको शर्माको आरोप छ ।

दुवै कन्टेनरलाई नेपाल प्रहरीले सुरक्षा पहरा दिएर राखिएको छ । सरकार र मासु भित्र्याउने कम्पनीका आधिकारिक व्यक्तिहरू स्थलगतरूपमै आएर किसानलाई चित्तबुझ्दो जवाफ नदिएसम्म कन्टेनर नछाड्ने किसानहरूको अडान छ ।

कुखुरापालक आक्रोशित किसानबाट कन्टेनर छुटाउने प्रयास गर्नेक्रममा प्रहरीले शनिबार केही सेल अश्रुग्यास प्रहार गरेको थियो । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।