मङ्सिर २६ – स्वर्गीय राजा वीरेन्द्रका परिवारका नाममा कुनै खाता वा सम्पत्ति नरहेको स्वीस राजदूतावासमार्फत नेपाल सरकारलाई जानकारी प्राप्त भएको नेपाल ट्रस्टको कार्यालयले जनाएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित नियमित पत्रकार भेटघाट कार्यक्रममा ट्रस्टका प्रवक्ता शरदराज विष्टले नेपाल सरकारले स्वीस सरकार समक्ष अनुरोध गरी पठाएको पत्रको जवाफमा स्व राजाको नाममा कुनै पनि खाता नभएको जानकारी आएको बताए ।
ट्रस्टको नाममा सङ्कलन भएको रकमबाट आगामी दिनमा शिक्षा र स्वाथ्य क्षेत्रमा लगानी गर्ने तयारी भइरहेको उहाँले जानकारी दिए । हाल ट्रस्टले वार्षिक रु चार करोड ६२ लाख ११ हजार आम्दानी गर्दै आएको छ ।
त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहायक प्रवक्ता चिरञ्जीवी पौडेलले रु दुई अर्बभन्दा बढी लगानी गर्ने लगानीकर्तालाई प्रधानमन्त्री राष्ट्रिय सम्मान प्रदान गर्ने प्रक्रिया अघि बढाइएको बताए ।
कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धिबहादुर खड्काले २०६९ असोज र कात्तिक महिनामा वैदेशिक रोजगारीमा जान श्रम अनुमतिपत्र लिनेको सङ्ख्यामा गत वर्षको तुलनामा २०.६३ प्रतिशतले कमी आएको जानकारी दिएको राससले जनाएको छ ।







