लागुऔषधको कारोवार गर्ने गिरोहलाई कास्की जिल्ला प्रहरीको सक्रियतामा रुपन्देहीबाट पक्राउ गरिएको छ । असार ३० गते पोखरा महानगरपालिका–१ बगर बस्ने ४९ वर्षीय अर्जुन गुरुङलाई डाइजपाम ६७०, फेनरागन ६७० र ब्रफिनर्फिन ६७४ एम्पुलसहित पक्राउ गरीे अनुसन्धान थालिएकामा भैरहवा निवासी ‘रमेश गुप्ता’ भनिने प्रकाश बानियाँसहित अन्य दुई पक्राउ परेका छन् ।

लागुऔषधको कारोबार गरेको भन्ने सूचनाका आधारमा कास्की प्रहरीले रुपन्देही जिल्ला प्रहरी कार्यालय र बुटवल इलाका प्रहरी कार्यालयलाई उनीहरूको हुलियासहित विवरण पठाएको थियो । रुपन्देहीको प्रहरी टोलीले साउन २१ गते बिहान बुटबल उपमहानगरपालिका–२ मैनाबगरमा लागुऔषध बिक्री गर्न ल्याउँदै गरेको अवस्थामा बानियाँसहित तीन जनालाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुको साथबाट फेनरागन ४५७ एम्पुल, नुर्फिन ४६२ एम्पुल, सेरीजेट ४७६ एम्पुल, नाइट्रोसन ६७५ चक्की र नाइट्रोभ्याट ७० चक्की फेला पारेको थियो ।

मैनाबगर बस्ने ४५ वर्षीया सानुदेवी पुन र नवलपरासीकै सरवाल गाउँपालिका–४ बस्ने ३४ वर्षीया सुभादेवी हरिजन पनि लागुऔषध कारोबारमा सम्लग्न देखिएकाले उनीहरुमाथि पनि अनुसन्धान भइरहेको कास्कीका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।