असोज १५ – इलाममा अविरल वर्षापछि आएको पहिरोले २ वटा गाडी पुर्दा र तीन वटा बगाउँदा हराईरहेकामध्ये ४ जनाको शव फेला परेको छ ।
इलामको हर्कटे कोल्बुङ सडक खण्डमा गएको पहिरोमा परी बेपत्ता भएका १४ जना मध्ये चार जनाको शव फेला परे पनि अन्य १० जनाको अवस्थामा भने अझै पत्ता लाग्न सकेको छैन ।

हराईरहेका १० जनाको खोजी कार्य तिब्र बनाईएको छ । तर त्यहाँ पानी परिरहेकाले उद्दार कार्यमा समस्या आएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसका साथै स्थानीय बासिन्दाले उद्दार कार्य जारी राखेका छन् ।

पहिरोले को १ च २६१९ नम्बरको पिकअप, को १ ख १६१३ नम्बरको पिकअप गाडि पुरेको छ भने, मे १ त ११९६ नम्बरको पिकअप, मे १ च ११९६ नम्बरको ट्रक र अन्य दुइवटा सेन्ट्रो कार बगाएको बताइएको छ ।

मेची राजमार्ग अन्तर्गत उक्त सडकखण्डमा गएको पहिरोका कारण राजमार्ग भएर चल्ने सवारी साधन भने बीच बाटोमै अलपत्र अवस्थामा रहेका छन् । त्यहाँ राजमार्ग सञ्चालन गर्न पनि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।