खोटाङ १२ भदौ

खोटाङको दिप्रुङ गाउँपालिकाले शिशु पोषण भत्ता स्वरुप जन्मेदेखि २ वर्ष नपुग्दासम्म मासिक १ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।

यस्तै, ७० वर्ष माथिका वृद्धावृद्धलाई घरमै निशुल्क स्वास्थ्य चेकजाँच गर्ने निर्णय समेत गरेको छ । यसअघि १६ साउनमा बसेको कार्यपालिकाको बैठकले ६५ वर्षमाथिका वृद्धावृद्धलाई गाउँपालिका भरी निशुल्क याायातको व्यवस्था गर्ने निर्णय समेत गरेको छ ।
गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले गाउँपालिकाका विद्यालयहरुमा आफ्नो विषयमा सबैभन्दा राम्रो नतिजा दिलाउन सफल शिक्षकलाई पुरस्कृत गर्ने निर्णय समेत भएको जानकारी दिए । ‘शिक्षाको विकासका लागि शिक्षकहरुबिचमा नै प्रतिस्पर्धी भावना होस् भनेर गाउँपालिकाभरी आफ्नो विषयमा उत्कृष्ट नतिजा दिलाउन सफल शिक्षकलाई नगदसहित पुरस्कृत गर्ने निर्णय भएको छ, उनले हाम्रोखोटाङ डटकमसँग भने ।
अध्यक्ष राईले बैठकले स्वास्थ्य स्वयम् सेविकालाई मासिक ५ सय दिने निर्णय भएको समेत जानकारी दिए ।
यसरी लिन सकिन्छ शिशु पोषण भत्ताको मासिक एक हजार
गाउँपालिकाले शिशु पोषणका लागि १ हजार दुई वर्षसम्म दिने निर्णय गरेपनि त्यसका लागि केही मापदण्ड समेत तोकिएको छ । यदि गर्भवती महिलाले नियमित रुपमा स्वास्थ्य परिक्षण नगराएको खण्डमा उक्त पोषण भत्ता पाइने छैन । त्यसका लागि गर्भवती महिलाले नियमित स्वास्थ्य परिक्षण गराउनुपर्ने छ । साथै, बच्चा जन्मिएपछि बच्चालाई खुवाउनु पर्ने खोप लगाएको तथा भिटामिन खुवाएको हुनुपर्ने छ ।
सबै बच्चाले पाउने छैनन्
गाउँपालिकाको शिशुका लागि एक हजार दिने निर्णय सबै शिशुले भने पाउने छैनन् । गाउँपालिका अध्यक्ष भुपेन्द्र राईका अनुसार एक आमा बुवाबाट जन्मिने बढीमा दुई सन्तानका लागि मात्र यो सुविधा दिइने छ । एक आमा बुवाबाट २ भन्दा बढी सन्तान जन्मिएमा भने दुई सन्तान बाहेकले यो सुविधान पाउने छैनन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।