लन्डन, भाद्र २८ – प्यारालम्पिकका लागि लन्डन आएका एक नेपाली अधिकारीले लन्डनमा आत्महत्या प्रयास गरेका छन् ।

नेशनल प्यारालम्पिक कमिटी, नेपालका सदस्य ४५ वर्षीय मनबहादुर लोप्चनले सोमबार राति डोरीको पासो लगाई आत्महत्या गर्ने प्रयास गरेका हुन् । आत्महत्या प्रयास गर्दा हृदयघात भएपछि उनको अचेत अवस्थामा इष्ट लन्डनस्थित रोयल लन्डन हस्पिटलमा उपचार भइरहेको छ ।

अस्पताल श्रोतका अनुसार, लोप्चनको अहिले आइसीयु साइड रुममा उपचार भइरहेको र बिहीवार विहानसम्म होस खुलेको छैन् । पासो लगाएपछि अक्सिजन सप्लाईको कमीले ब्रेनको टिष्यु मर्दै गएर उनको अवस्था चिन्ताजनक रहेको अस्पताल श्रोतले जनाएको छ । मंगलबार विहान प्रहरीले उनलाई लन्डन एम्बुलेन्स् सर्भिस्मार्फत अस्पताल पुर्‍याएको थियो । उनी अचेत भएकाले आत्महत्या प्रयासको कारण समेत अज्ञात छ ।

घट्नाबारे नेपालमा रहेका लोप्चन परिवारलाई अवगत गराइसकिएको लन्डनस्थित नेपाली दूतावास श्रोतले जनाएको छ ।
स्रोत: कान्तिपुर

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।