
विशेष अदालतले जोशीलाई भ्रष्टचारी ठहर गर्दै डेढ वर्ष कैद सजाय र २ करोड १६ लाख १४ हजार ३ सय ७६ रुपैयाँ १४ पैशा बिगो र बिगो बमोजिमको जरिवाना सुनाएको हो ।
जोशीले अब विशेष अदालत ऐन अनुसार तोकिएको म्यादभित्र धरौटी राखी पुनरावेदन गर्न पाउनेछन् । म्यादभित्र पुनावेदन नगरे उनलाई हिरासतमा लिइनेछ ।
निक्कै लामो समयदेखि चल्दै आएको उनको मुद्धाको फैसला हुँदा जोशी भनृ उपस्थित थिएनन् । दिउँसो एकैछिन विशेष अदालत आएका उनी लगत्तै निस्किएका थिए ।
विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य केदारप्रसाद चालिसे तथा ओमप्रसाद मिश्रको संयुक्त ईजलासले जोशीलाई २ करोड १४ लाख १६ हजार विगो र सोही वरावर जरीवाना समेत तोकेको छ ।
सार्वजनिक पदमा रहँदा उनले अकुत सम्पत्ति कमाएको र उक्त सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धन आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।
को हुन् त गोविन्दराज जोशी ?
भ्रष्टाचारको अभियोगमा जेल जानेहरुको लाइन पछ्याएका गोबिन्दराज जोशी २०५० सालसम्म सामान्य आर्थिक हैसियत भएका व्यक्ति हुन् ।
अदालतसित बयान दिने क्रममा उनले छोराछोरी बिदेशबाट कमाएर पठाएको र आफूले पनि लेखेर सम्पत्ति जोडेको दावी गरेका छन् । तर ढाँटे कुरा काटेर किन मिल्थ्यो ? करोडौंको सम्पत्ति उनले भनेजस्तै गरी जोडिन्छ भनेर कसले पत्याउने ? हुँदै जाँदा यिनले पनि भ्रष्टाचारकै कारण जेल यात्रा गर्नुपर्यो ।
तनहुँमा जन्मेका जोशी २०२४ सालदेखि २०३४ सालमा जिल्लाकै बिभिन्न विद्यालयमा पढाउँथे । त्यसपछि २०४७ सालमा उनले कानुन व्यवसायमा संलग्न भएर काम गरे । २०४६ सालको राजनीतिक परिवर्तनपछि उनी कांग्रेसमा सकृय भएर लागे । २०४८, २०५१ र २०५६ सालमा लगातार तनहुँबाट प्रतिनिधिसभामा निर्वाचित भए । त्यसपछि उनलाई पटकपटक मन्त्री हुने भाग्य जुर्यो ।
कहिले कहिले भए मन्त्री ?
शिक्षा समाज कल्याणमन्त्री -२०४८।९।१५ देखि २०५१।८।१३ सम्म
शिक्षामन्त्री -२०५२।६।६ देखि २०५३।११।२८ सम्म
गृहमन्त्री -२०५५।१।८ देखि २०५५।९।९ सम्म
गृह र सामान्य प्रशासनमन्त्री -२०५५।९।१०देखि २०५६।२।१६ सम्म
जलस्रोतमन्त्री -२०५६।२।१७ देखि २०५६।११।१० सम्म
गृहमन्त्री -२०५६।१२।८ देखि २०५७।६।१३ सम्म
स्थानीय विकासमन्त्री -२०५७।१०।२५ देखि २०५८।४।६ सम्म
उनी जेल जालान् त ?
उनले बिगो बमोजिमको २ करोड १६ लाख १४ हजार ३ सय ७६ रुपियाँ ४१ पैसा धरौटी राखे भने जेल जानु पर्दैन। बाहिरै बसेर सर्वोच्चमा मुद्दा लड्न पाउँछन्। धरौटी राख्न सकेनन् भने चाहिँ ३५ दिने म्याद जारी गरी उनलाई जेल चलान गरिनेछ।
मिति २०५९।५।६ मा प्रकाशित नेपाल राजपत्रको सूचना बमोजिम यसै अदालतको अधिकार क्षेत्र भित्र पर्ने प्रस्तुत मुद्दाको पूर्ण पाठ तयार भै नसककाले संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ ।
निज प्रतिवादी गोविन्दराज जोशी सार्वजनिक पदमा प्रवेश गरेपश्चात् निजले भ्रष्टाचार गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी आफ्नो परिवार तथा नातेदार समेतका नाममा लुकाई छिपाई राख्ने रखाउने जस्ता कार्यहरूमा आफ्ना नातेदारहरू समेतलाई सक्रिय रूपमा परिचालन गरी गराई सो सम्पत्तिको उपयोग आफू र आफ्नो परिवारले गरी आफ्नो स्वाभाविक आर्थिक हैसियत भन्दा मनासिव कारण विना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरिआएको तथ्य स्थापित हुन आएको अवस्थामा निजसँग रहेका एवं लुकाई छिपाई राखेका मागदावीमा लिईएका चल/अचल सम्पत्ति आर्जनको वैधानिक स्रोत स्वयं निजले नै प्रमाणित गर्नुपर्ने कानूनी व्यवस्था समेत भएकोमा सो प्रमाणको भार समेत निजले वहन गर्न नसकी सो सम्बन्धमा सोधिएका सवालका जवाफ नदिई आफू अभियोगवाट बच्न सक्छु कि भनी चूपचाप बसी मौनतालाई नै आफूले गरेको भ्रष्टाचारजन्य कसूर ढाकछोप गर्ने माध्यम बनाउने घृष्टता गरी अन्ततोगत्वा न्याय निरुपणको प्रक्रियालाई नै वस्तुतः असहज बनाएको तथ्य समेतले पनि निज प्रतिवादी गोविन्दराज जोशीले वैधानिक स्रोत खुल्न नआएको रु.३,९३,६२,५७६।४५ बराबरको सम्पत्ति गैरकानूनी किसिमबाट आर्जन गरी उपयोग गरी भ्रष्टाचारजन्य कसूर गरेको सिद्ध हुन आएको हुदा प्रतिवादी गोविन्दराज जोशीले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, दफा ७(१) एवं १५ को वर्खिलाप गर्दै सोलाई निरन्तरता दिइएको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिमको कसूर गरेकोले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, ७(१) र १५ तथा सोलाई निरन्तरता दिइएको हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) बमोजिम कैद र जरिवाना गरी त्यसरी गैर कानूनी ढंगले आर्जन गरेको विगो रु.३,९३,६२,५७६।४५ मूल्य बराबरको सम्पत्ति साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग. र दफा २९ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) र दफा ४७ एवम् अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम अनुसन्धानको क्रममा देखिएको चल/अचल सम्पत्ति सोही रूपमा तथा निजले लुकाए छिपाएको चल/अचल सम्पत्तिका हकमा निजको स्रोत खुलेको चल/अचल सम्पत्तिबाट र सोबाट पनि नपुग भएमा प्रचलित कानून बमोजिम गरी कैद, जरीवाना तथा जफत हुनाका साथै निज गोविन्दराज जोशी पूर्व मन्त्री समेतको पदाधिकारी रहेबाट साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १४क. र सोलाई निरन्तरता दिइएको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ अनुसार निजलाई थप सजाय समेत गरिपाऊँ।
प्रतिवादी वासुदेव पन्तले निजका भिनाजु प्रतिवादी गोविन्दराज जोशीका गैरकानूनी आजर्नका चल सम्पत्तिका सम्बन्धमा सम्पूर्ण बैंकिङ्ग कारोवार गर्ने कार्यमा प्रत्यक्ष रुपमा संलग्न रहेको, घर जग्गा समेतका अचल सम्पत्ति विभिन्न व्यक्तिका नाममा राख्ने रखाउने, बन्दोवस्त गर्ने गराउने समेतका कार्य गरी एवम् नीरकुमारी पन्तले आफै अग्रसर भई आफ्नो नाममा ज्वाइँ गोविन्दराज जोशीको गैरकानूनी आर्जनको रकम बैकमा खाता खोली राख्ने, झिक्ने, दिने/दिलाउने, घरजग्गा खरीद, बिक्री गर्ने, गराउने समेतका कार्य गरेको र रामकृष्ण तिवारीले गोविन्दराज जोशीको गैरकानूनी आर्जनको सम्पत्ति राख्ने, रखाउने, लुकाउने, छिपाउने समेतका कार्यमा संलग्न भई निजहरू तीनैजना व्यक्ति सो गैरकानूनी कार्यमा सक्रिय रूपमा संलग्न भई प्रतिवादी गोविन्दराज जोशी समेतलाई नगदी जिन्सी, सुविधा र लाभ उपलव्ध गराई दिने तथा आफू समेतलेे लाभ समेत लिने कसूर गरेवाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३० तथा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६क. र सोलाई निरन्तरता दिने हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९को दफा २२ को प्रतिवन्धात्मक वाक्यांश अनुसारको कसूर गरेकोले सोही ऐनको दफा २२ को प्रतिवन्धात्मक वाक्यांश अनुसार मूल कारणी प्रतिवादी गोविन्दराज जोशी सरह सजाय गरिपाऊँ।
साविक ऐनको दफा १५ मा दुई प्रकारका कसूरको व्यवस्था छ। वैध आयश्रोतसँग अमिल्दो सम्पत्ति भई गैर कानूनी रुपमा रिसवत लिएको मानिने कसूर र उक्त कसूरमा सजायको दावी गर्न पूर्वावस्थाको रुपमा अन्य कुनै एक भ्रष्टाचार जन्य कसूर। यी दुवै कसूरहरु भिन्न भिन्न प्रकृतिका भै सजाय समेत फरक फरक छ। यी दुवै कसूर स्वतन्त्र छन् भन्ने सो ऐनको व्यवस्थाले स्पष्ट गर्दछ। गैरकानूनी रुपले रिसवत लिएको अनुमान गरी सजाय गर्न सकिने भनी परिभाषित गरेको सो कसूरमा आरोप लगाई सजायको मागदावी गर्ने सम्मको प्रयोजनको लागि भ्रष्टाचारजन्य अन्य कुनै कसूरको समेत आरोप लागेको हुनुपर्ने हुँदा कसूरको अन्तरवस्तु, तत्व र प्रकृतिमा फरक पर्ने अवस्था छैन। सजायको मागदावी गरी आरोपपत्र प्रस्तुत गर्न आवश्यक पर्ने पूर्वावस्था नरहे नभएका कारणले मात्र कानूनले कसूर नै परिभाषित नगरेको वा सजाय हुने व्यवस्था नै नगरेको भनी अर्थ गर्न मिल्दैन।
प्रतिवादी नीरकुमारी पन्त र बासुदेव पन्तका तर्फबाट विद्वान अधिवक्ताहरु श्री कृष्ण सापकोटा, श्री माधव कुमार बस्नेत, मदन रेग्मी, वरिष्ठ अधिवक्ता श्री रामप्रसाद भण्डारी संभव र प्रतिवादी ताराराज पाण्डेको तर्फबाट वरिष्ठ अधिवक्ता श्री यज्ञमूर्ति बन्जाडे र अधिवक्ता श्री यदुनाथ खनालले बहस गर्नु भएको थियो। २०६९।२।२९ देखि २०६९।३।६।४ सम्म ९ दिन बहस भएको थियो।
गोविन्दराज जोशीले कुनै अमुक काममा घूस खाए, खुवायो भनी कसैले अभियोग लगाउन सकेको छैन। फौजदारी मुद्धामा अभियोग शंकारहित प्रमाणबाट द्यभथयलम चभबकयलबदभि मयगदत पुष्टि हुनु पर्दछ। प्रमाणको भार प्रतिवादीमा रहने भन्नेबित्तिकै वादीले केही गर्न नपर्ने, प्रमाण खोज्न नपर्ने भन्ने होइन भन्ने समेत जिकिर बहसमा आएको थियो।
मन्त्रालयमा गरेको राष्ट्रवादी काम बारे अख्तियारले बुझेन। आफूले गरेको काम बारे प्रधान मन्त्रीय पद्धतिलाई बलियो बनाउनु पर्दछ भन्ने अवधारणामा विश्वास गर्ने व्यक्ति हाम्रा पक्ष हुन्। चिलिमे जल विद्युत आयोजनाको मेकानिकल काममा ७२ करोडबाट ५३ करोडमा झारेर देशलाई फाइदा पुराएका। भूमिगत जल सिंचाईको विधेयक बनाउन १ करोड ७५ लाख निकासा भएकोमा रोकेको, कतिपय ठेक्का रद्द गरेर पुनः टेण्डर गराएकाबाट देशलाई फाइदा गराएका तिर अख्तियारले हेरेन। वागमती सिंचाईमा ४८ करोडबाट ३३ करोडमा झारेर काम गराएको। सुन तस्करी बन्द गराएको। टेण्डरमा प्रतिस्पर्धा गराउन शुरु गरेको। देशलाई फाइदा हुने साहसिक निर्णय गरुँ भन्ने गोविन्द राज जोशी हुन्। भ्रष्टाचारी होइनन्। फसाउने अभिप्रायले शाही शासन कालमा पूर्वाग्रह पीडित भएर मुद्दा लगाइएयो। कुन बेला मुद्दा चल्यो त्यो अदालतबाट हेरिदिनु पर्दछ। राजनीतिक पूर्वाग्रहले ठीक पार्नु पर्छ भनेर मुद्दा लगाईएको हो।
गोविन्दराज कमण्डलु मात्र लिएर आएका, ठिंगो मान्छे त होइनन्। शिक्षक, वकालत, सांसद, मन्त्री, किताव लेखन, पैतृक सम्पत्ति लगायत श्रोतबाट सम्पत्ति भएका मान्छे हुन्। सांसद र ७ पटक मन्त्री भएका व्यक्तिको काठमाडौंमा एउटा घर छैन। अन्य घर सम्पत्ति छैन भने भ्रष्टाचार गरी अकूत सम्पत्ति जोडेको भन्न मिल्ने प्रमाण छैन। राजनीतिको फोहरी खेलमा यस्तो मुद्दा लागिरहन्छ। नेपालको जल्दोबल्दो राजनीतिक नेताका हत्या गर्न पन्त परिवारको बुई चढाएर गोविन्दराज जोशीको टाउकामा हानिएकोछ, गोविन्दराजको राजनीतिक हत्या गर्न ग्राण्ड डिजाइन स्वरुप यो मुद्दा लगाइएकोछ भनी वरिष्ठ अअिवक्ता रामप्रसाद भण्डारीको बहस जिकिर रहेको थियो।
यो मुद्दामा तीन परिवारलाई संलग्न गराइएको छ। गोविन्द राज जोशी, उहाँका ससुराली पन्त परिवार र उहाँको परिवार भित्र नपर्ने पाण्डे परिवार। साला बासुदेवले निजको आमा नीरकुमारी पन्तको नाममा खरिद गरेको घर जग्गा ताराराज पाण्डेको नाममा सार्दैमा गोविन्दराज जोशीको सम्पत्ति हुने होइन। आफ्नो सम्पत्ति आफ्नो खुश गर्न किन नपाउने? अरु कसैको नाममा सम्पत्ति राखेको प्रमाणित भएमा मात्र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ बमोजिम जफत हुने हो। कसैको नाममा राखेको सरकारी पक्षले पुष्टि गराउन सक्नु पर्दछ भन्ने समेत बहस वरिष्ठ अधिवक्ता भण्डारीले गर्नु भएको।
२०५०।९।२८ मा सदीक्षा थापाबाट बासुदेवले बानेश्वरको घर जग्गा रु ५,९२,२४०। मा खरीद गरेको २० लाखमा होइन। पास गरेको लिखतलाई मान्यता दिनु पर्दछ। पारित लिखतलाई मान्यता दिनु पर्ने गरी सर्वोच्च अदालतले विभिन्न मुद्दामा सिद्धान्त प्रतिपादन गरिसकेकोछ। अख्तियारको दवावमा बिक्रेता सदीक्षाले लेखाएको कुराको कानूनी महत्व छैन। सोही घर जग्गा अधिकृत वारेसनामाबाट सविता पन्तले अमीता अग्रवाल समेत ३ जनालाई मिति ०५४।१०।१७ मा रु.३२,५८,६००। मा बिक्री गरेको हो भन्ने समेत बहस जिकिर रहेको।
सदीक्षा थापाले बासुदेव पन्तलाई २० लाखमा बिक्री गरेको भन्ने भनाई र फुमु भोटियाले ७५ लाखमा नीरकुमारीलाई विक्री गरेको भनाईलाई पारित लिखतले खण्डन गरिरहेको अवस्थामा अख्तियारको दवावको भरमा मौखिक भनाईलाई मान्यता दिनु हुँदैन भन्ने समेत बहस जिकिर भएकोमा पारित लिखितले अन्यथा बोले पनि व्यवहारको कसीमा भने बिचारणीय देखिन्छ। यत्रो मोल फरक पर्नाको कुनै मनासिव कारण भन्ने खुल्न सकेको पाइदैन। जावलाखेल घरको साइज, जग्गाको क्षेत्रफल लगायत घर निर्माणको लागत मूल्यांकन लगायतबाट सो घर जग्गाको मोल बढी नै पर्ने हो कि भने जस्तो देखिन्छ।
फुमु भोटियाबाट सासु नीरकुमारीले ७५ लाखमा घर जग्गा खरिद गरेको अभियोगः प्रतिवादी नीरकुमारीले फुमु भोटिया श्रेष्ठसंग जावलाखेलको घर जग्गा रु. ३१,१३,२००। मा खरिद गरेको पारित लिखतबाट देखिएकोमा खरिद मोल सो नभई ७५ लाखमा खरिद गरेको भनी अभियोग लिएको देखिन आयो। फुमुले सो जग्गा कम मोलमा पारित गरेपनि ७५ लाख मोल तिरेको र सोही रकमबाट घर जग्गा बिक्री गरेको भोलिपल्टै हिमालय बैंक ठमेलमा मिति ०५४।१०।१० मा आफ्नो लोत्से कार्पेट उद्योगको कर्जा ७२ लाख जम्मा गरेको भौचरको नक्कल पेश गरेकोमा ७५ लाखमा खरिद गरेकोमा कम मोल देखाउन कम मोलको लिखत पारित गरेको भनी ७५ लाख मोलमा पनि हालको जग्गाको मोल रु. १,२७,१८,७५०। र घरको मूल्यांकन अनुसार रु. ३४,४०,०५७। गरी जम्मा रु. १,६१,५८,८०७। एक करोड एकसठ्ठी लाखको विगो दावी गरेको अभियोगबाट देखिन आयो।
त्यस्तै सदीक्षा थापाबाट २० लाखमा बासुदेव पन्तले बानेश्वरको घर किनेको भनी सदीक्षा थापाको अख्तियारमा बयान भएतापनि पारित लिखितमा जनिएको मोल नै कारोबार भएको लिखत भनी मान्नु पर्ने हुन आयो। मुरारीबहादुरको मुद्दामा प्रतिपादित भएको यस सिद्धान्त अनुसार पारित मोलभन्दा बाहिर मोल कायम गर्न मिलेन। पारित मोललाई नै कायम गर्नु पर्ने हुन आयो। पारित मोल र सरकारी दस्तुर समेत विगो कायम हुन्छ।
ताराराजलाई पहिलो मुद्दामा साक्षीको रुपमा राखी अभियोग नै नलगाएकोमा संविधानतः पछि अर्को मुद्दा लगाउन मिल्दैन। संविधानको धारा २४(६) विपरीत भएकाले सो मुद्दा नै खारेज गरिनु पर्दछ भन्ने समेत प्रतिवादी पक्षबाट बहसमा जिकिर लिइएको थियो।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ मा भएको कानूनी व्यवस्था अनुसार सत्य तथ्य कुरा बताई अनुसन्धान तहकिकातमा सहयोग पुराउनेलाई अभियोग नलगाउन सक्ने तर निजले मुद्दा हेर्ने अधिकारी समक्ष अनुसन्धान अधिकारी समक्ष तहकिकातमा लेखाएको कुराको उल्टो बकेमा मुद्दा लगाउन सक्ने कानूनी व्यवस्था रहेको देखिन्छ। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ मा भएको कानूनी व्यवस्थानुसार नै ताराराज पाण्डेलाई पुनः अभियोग लगाएको कार्यलाई गैर कानूनी भन्न मिलेन।
अपराध गर्ने तरिका, प्रमाणको भार आदि कुराका आधारमा अन्य परम्परागत फौजदारी मुद्दा र निश्चित वारदातका आधारबाट भ्रष्टाचार सम्बन्धी कसूर कायम हुने मुद्दाभन्दा प्रस्तुत अनुमानित कसूर सम्बन्धी मुद्दा ज्यादै फरक र विशिष्ट प्रकृतिको मुद्दा हो। यसमा प्रमाणको भार पूरै प्रतिवादीमा निहित गरिएको छ।
आफ्नो सम्पत्तिलाई अवैध भनी अभियोग लगाएकोमा त्यस्तो सम्पत्तिको वैध श्रोत खुलाउने दायित्व अभियुक्तको हुन जान्छ। तथापी अकुत सम्पत्तिको अभियोग लगाएर मात्र नहुने, प्रतिवादीको साथमा रहेको अकुत सम्पत्तिको प्रमाण समेत वादी नेपाल सरकार पक्षले दिनु पर्ने हुन्छ। वादीले पेश गरेको प्रमाणको खण्डन भने प्रतिवादीले गर्न सक्नु पर्दछ। यस प्रकृतिको मुद्दाको कसूर कुनै खास अवधि वा समयमा घटाइएको वा गरिएको सामान्य प्रकृतिको अपराधको विषय होइन। यस्ता कसूरका मुद्दाहरुमा व्यक्तिको हैसियत र सम्पत्तिको छानबिन गरिने हुँदा सरकारी वा सार्वजनिक सेवामा प्रवेश गरेको समयावधिबाटै प्रतिवादीको आयस्रोतको छानबिनको अवधि हुरु हुने भएबाट जसउपर अभियोग लगाइएको हुन्छ, सो व्यक्तिको हैसियत कस्तो थियो र अहिले कसरी हैसियतभन्दा बाहिर गई अस्वभाविक जीवन बिताएको छ भन्ने कुराको गहन छानबिन र अनुसन्धान आवश्यक हुन्छ। प्रमाणको भार प्रतिवादीमा सारिएको भन्दैमा अनुसन्धान र तहकिकात नगरी अनुमानित रुपमा कसूर लगाई मुद्दा चलाउने भन्ने होइन। प्रतिवादीले आर्जन गरेको सम्पत्ति, निजको खर्च तथा बचत के कसरी भएको छ भन्ने कुरालाई अभियोजनकर्ताले स्पष्ट देखाई प्रतिवादीले हैसियतभन्दा बाहिर गई यति सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको हो भनी स्पष्ट र एकीन दावी लिन सक्नु पर्दछ। प्रतिवादीले पनि आफूले हैसियतभन्दा बाहिर गई कानून विपरीत सम्पत्ति आर्जन गरेको होइन भनी आफ्नो सम्पत्ति आर्जनको वैधानिक स्रोतलाई वस्तुनिष्ठ प्रमाणबाट पुष्टि गर्न सक्नु पर्दछ भनी केशवराज गौतमको मुद्दामा सिद्दान्त प्रतिपादन भएको। पृ.५१ नेपाल सरकार विरुद्ध केशवराज गौतम समेत (फौपुनं. ०६३ ऋच् ०००८, ००७६,०१६१,०१७३ फैसला मिति २०६९।२।९।३) को मुद्दामा प्रतिपादित सिद्धान्त अनुसार यस मुद्दामा पनि प्रतिवादी गोविन्दराज जोशीले कुनै अमुक काम कारबाही वा घटनाको सम्बन्धमा भ्रष्टाचार गरेको भन्ने अभियोग नभई गैर कानूनी रुपमा सम्पत्ति आर्जन गरेको भनी अभियोग दायर हुन आएको देखियो। सोही अभियोगको परिधिभित्र रहेर निजको सम्पत्तिको आय र सम्पत्तिको छानबिन हुनु पर्ने देखिन आयो।
प्रतिवादीले मन्त्री हुँदा सरकारलाई फाइदा पुराएका थिए, कतिपय टेण्डरमा घटाघट गरी कम दरमा ठेक्का दिलाएर सरकारलाई फाइदा पुराएका थिए आदि राम्रा काम गरेको, एयरपोर्टबाट तस्करी बन्द गराएका भनी प्रतिवादीले बयान गरेका र सोही अनुसार बहस आएकोमा यदी प्रतिवादीबाट देशलाई फाइदा हुने गरी पदीय कर्त्तव्य बहन गरिएको भए सो गर्नु निजको पदीय जिम्मेवारीको विषय नै भएकोमा विवाद भएन। देशलाई फाइदा हुने काम गरेकोमा जो सुकै पनि प्रशंसाको पात्र हुने हुन्छ। तर कयांै राम्रा काम गरेको भन्दैमा अकुत सम्पत्ति कमाउने काम प्रतिवादीबाट भयो भनी अभियोग लाग्छ भने त्यस्को जवाफ प्रतिवादीले दिनु पर्ने हुन्छ। प्रतिवादी उपर लागेको अभियोगलाई कानूनी रुपमा टुंगो लगाउनु पर्ने हुन्छ। कानून विपरीत भावनामा आएर स्वतः मुद्दा खारेज गर्ने कानूनी व्यवस्था हाम्रो न्याय प्रणालीमा रहे भएको पाइदैन। शाही शासन कालमा पूर्वाग्रह राखेर मुद्दा लगाइयो भनी कुनै तथ्ययुक्त आधार बिना अदालतले भन्न र मान्न सक्ने अवस्था देखिन आएन। अदालत पनि कानून अनुसार चल्नु पर्दछ, कानूनी बाटो बिराउन र कानूनलाई छाडेर हिड्न यस अदालतले पनि पाउँदैन।
सम्पत्ति प्राप्त गर्दाको लिखत र कारोबार मूल्यलाई विगो कायम गर्नु पर्नेः
यस मुद्दामा पनि प्रतिवादीले खरिद गरेको र बिक्री गरेको जग्गाको कारोबार मूल्यलाईनै कायम गरिएकोछ। हालको मूल्य भनी अख्तियारले कायम गरेको मूल्यलाई मान्यता दिन मिलेन।
घरको मूल्यांकनमा ठेक्का कर र ओभरहेड खर्च नपरेकाले सो वापत खर्च कटाउन नमिल्ने। अनुसन्धानको क्रममा व्यक्तिले निजी तवरमा बनाएको घरको मूल्यांकन गर्न गएको इन्जिनियर सहितको प्राविधिक टोलीले सो मूल्यांकनमा ठेकेदारले प्राप्त गर्ने ओभरहेड खर्च र निजले तिर्नु पर्ने ठेक्का कर समेत समावेश गरी मूल्यांकन गरेको होला भनी अनुमान गर्न मिल्दैन। फर्निचर र विद्युतीय सामानमा निश्चित प्रतिशत कायम गरी मूल्यांकन गर्ने प्राविधिक मापदण्ड रहेकोले सोलाई मान्नु पर्ने। नेपाल सरकार विरुद्ध आन्तरिक राजस्व विभागका निर्देशक मुरारीबहादुर कार्की समेत (फौपुनं.०६५ ऋच् ०००९ फैसला मिति २०६९।२।३।४ पृ.८६) भएको मुद्दामा प्रतिपादित सिद्धान्त अनुसार यस मुद्दामा प्रतिवादी गोविन्दराज जोशीको तनहुँ दमौलीमा बनेको घरको मूल्यांकन सम्बन्धमा हेर्दा सो पुरानो घर भत्काई पुरानै काठ, ढुंगा प्रयोग गरेर ५ लाखमा मर्मत गरेको भनी जिकिर लिई सोही अनुसार प्रतिवादीपक्षबाट बहस आएकोमा घरको मूल्यांकन स्थिति हेर्दा घर नयाँ बनाएको देखिन आएकाले पुरानै घरलाई सामान्य मर्मत गरेको भन्न मिलेन। घर निर्माण हुँदाको मोलमा नै घर निर्माण खर्च कायम गरिएकोछ।
विदेश भ्रमणमा जाँदा प्राप्त गरेको रकम बचत हुने हो वा होइन भन्ने प्रश्न स्वयंमा विचारणीय भए तापनि विदेश भ्रमण वापत प्राप्त भएको आयमा ३० प्रतिशत खर्च भै जाने हुँदा ७० प्रतिशत मात्र बचत हुने भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विभिन्न मुद्दाहरुमा दावी लिएको कारणबाट नेपाल सरकार विरुद्ध रामाज्ञा चर्तुवेदीसमेत विपक्षी भएको (ने.का.प. २०६८, नि.नं. ८६३०, अंक ६) र नेपाल सरकार विरुद्ध जयप्रकाश गुप्तासमेत विपक्षी भएको (ने.का.प.२०६८, नि.नं. ८७२२, अंक ११) लगायत अन्य गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने मुद्दाहरुमा वादी पक्षले आधार लिएको सोही कुरालाई मान्यता दिई विदेश भ्रमण वापत प्राप्त हुने आयमा ७० प्रतिशतसम्म बचत हुने भनी श्री सर्वोच्च अदालतबाट आयको मान्यता प्रदान गरिएको अवस्था भई यस प्रकृतिका मुद्दामा वैदेशिक भ्रमण वापतको आय कायम गर्ने सम्बन्धमा एक निश्चित सिद्धान्त कायम भएको हुँदा सो भन्दा बाहिर जान मिल्ने स्थिति नभएकाले सोही सिद्धान्त अनुसार प्रमाणबाट देखिएको विदेश भ्रमणको आयमा ७० वचत हुने गरी कायम गरिएकोछ। नेपाल सरकार विरुद्ध आन्तरिक राजस्व विभागका निर्देशक मुरारीबहादुर कार्की समेत, (फौपुनं. ०६५ ऋच् ०००९ फैसला मिति २०६९।२।३।४ पृ.७५) भएको मुद्दामा समेत कायम गरे सरह प्रमाणित भएको विदेश भ्रमणमा पाएको रकमको ७० प्रतिशत आय कायम गरिएकोछ।
सामान्य आय हुने राष्ट्रसेवकद्वारा काठमाडौं लगायत महत्वपूर्ण शहरी क्षेत्रमा एकभन्दा बढी घर निर्माण गरिएको तथा घरहरु भाडामा लगाई उल्लेख्य घरभाडा प्राप्त गरेको जिकिर लिइन्छ भने घरभाडा सम्झौता तथा कर तिरेको प्रमाण दाखिल नभई मौखिक जिकीरलाई मान्यता दिन सकिन्न। यो कुरा घरसारको लिखतबाट कारोबार गरिएको अन्य विषय र वकसपत्रको माध्यमबाट सम्पत्ति प्राप्त गरिएको जिकिरका हकमा समेत समान रुपमा लागू हुन्छ। केशवराज गौतम र केशरजंग खड्काको मुद्दामा प्रतिपादित सिद्धान्त अनुसार घर बहालमा दिएको कुनै लिखत नभएको र घर बहाल प्राप्त भए पछि कुनै कर तिरेको समेत प्रमाण नभएकाले घर बहाल प्राप्त भएको मान्न मिलेन। यस अदालतबाट यस अगाडिका मुद्दाहरुमा घर भाडा बापत घर भाडामा दिएको प्रमाण नभएतापनि न्यायोचित घर भाडा आय प्रदान गरिदै आएकोमा श्री सर्वोच्च अदालतको माथि उल्लेखित पछिल्लो प्रतिपादित सिद्धान्त अनुसार प्रमाण नभएकोले घर भाडा आय दिन मिलेन।
कृषि आयको सम्बन्धमा डा.लक्ष्मीराज पाठकको मुद्दामा तराईको जग्गामा प्रतिविघा वार्षिक ३७ हजारसम्म र डिल्लीरमण निरौला र अन्य मुद्दामा रु १५ देखि २० हजार वा सो भन्दा बढी पनि कृषि आय कायम गरीएकोलाई सर्वोच्च अदालतले सदर गरेकोछ। जयप्रकाश गुप्ताको मुद्दामा पनि १५ हजार प्रतिविगाहा कृषि आय कायम गरेको विशेष अदालतको फैसलालाई सर्वोच्च अदालतबाट सदर गरिनुका साथै फैसला भएका अन्य मुद्दाहरुमा पनि प्रति विगाहा वार्षिक २० हजारसम्म कृषि आय कायम गरिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट नै कतिपय मुद्दामा कृषि आय विभिन्न रुपले प्रति विघा वार्षिक २० हजार रुपैयाँ भन्दा बढी पनि प्रदान गरिदै आएको छ। आयोगले नै विभिन्न मुद्दामा विभिन्न रुपले कृषि आय कायम गरेकोले सोही अनुसार यस मुद्दामा पनि प्रति विघा वार्षिक २० हजार रुपैयाँ कृषि आय कायम गरीनु पर्दछ भन्ने समेत प्रतिवादी पक्षको बहस जिकिर रहेको पाइन्छ।
यस्तै प्रकृतिका अन्य मुद्दामा कृषि आयको सम्बन्धमा सम्वत् २०२० साल भन्दा अगाडिको आयको पनि मूल्यांकन गर्नु पर्ने अवस्था आएकाले २०२० अगाडि र त्यस पछिका दशकको आय कायम गर्ने मापदण्ड यस अदालतबाट निर्धारण गरिएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कतिपय अभियोगपत्रमा प्रतिविगाहा २० हजार रुपैयाँका दरले कृषि आय निर्धारण गरेकोलाई दृष्टिगत गरी २०५० साल भन्दा यताको तराईको जग्गाको प्रतिविघा रु २० हजार कृषि आय दिइने गरिएको थियो।
उपरोक्त कानूनी व्यवस्थाका आधारमा मोही लागेको जग्गाको कृषि आय निर्धारण गर्दा भूमि सम्बन्धी ऐनबमोजिम कुत प्रयोजनका लागि तोकिएको उब्जनीको आधारलाई अवलम्बन गरीनु कानूनसम्मत र न्यायोचित हुने देखिन आउँछ। त्यसै गरी जग्गाधनीले नै जग्गा कमाएको भन्ने जिकीर रहेको अवस्थामा समेत कृषि उत्पादनको क्रममा मल, बीउ श्रमलगायतका हुन जाने उपरोक्त मनासिब खर्चहरू कटाई मुख्य बार्षिक उब्जनीबापत कुत प्रयोजनका लागि तोकिएको उब्जनीको दोब्बर खुद आय निर्धारण गर्नु उचित र विवेकसम्मत हुने देखिन्छ। साथै सिंचाई आदिको सुविधा भएको र एकभन्दा बढी बाली लाग्ने जग्गाका सम्बन्धमा कुत प्रयोजनका लागि तोकिएको मुख्य बार्षिक उब्जनीको आधा हिउँदे बालीबापत खुद आय निर्धारण गर्नु न्यायोचित हुने भनी सर्वोच्च अदालतबाट ती मुद्दामा व्याख्या भएबाट प्रस्तुत मुद्दामा प्रतिवादीको जग्गामा सिँचाईको सुविधा भएकोले मुख्य बाली वापत कुत प्रयोजनको लागि तोकिएको कुतको दोब्बर र हिउँदे बालीको हकमा वर्षे बालीबापत तोकिएको मुख्य बार्षिक उब्जनीको आधा खुद आय निर्धारण गर्नु पर्ने” गरी पछिल्लो पटक व्याख्या गरी प्रतिपादित सिद्धान्तलाई जयप्रकाश गुप्ता, केशवराज गौतम, मुरारीबहादुर कार्की, केशरजंग खड्का प्रतिवादी भएको मुद्दामा सोही अदालतबाट नै अनुशरण गर्दै कायम गरेको मापदण्ड बमोजिम यस मुद्दामा पनि प्रतिवादीको कृषि आय कायम गर्नु पर्ने हुन आयो। सो सिद्धान्त भन्दा बढी कृषि आय कायम गरिनु पर्दछ भन्ने प्रतिवादीको बयान जिकिर तथा निज पक्षका विद्वान कानून व्यवसायीहरुको बहस जिकिर र बहस नोटसंग सहमत हुन सकिएन। कृषि आय कायम गर्ने सम्बन्धमा जग्गाधनीले पाउने हिस्साअनुरुप नै निर्धारण गर्दा उचित र न्यायसंगत हुने कुरालाई श्री सर्वोच्च अदालतले स्वीकार गरिए जस्तै यस मुद्दामा पनि सोही अनुसार कृषि आय कायम हुन्छ।
घडेरी जग्गाबाट कृषि आय भएको मान्न नसकिनेः
घडेरी प्रयोजनको लागि खरिद गरिएका जग्गाहरु खेती गर्ने प्रयोजनले खरीद भएको मान्न नमिल्ने र त्यसबाट वचत हुन सक्ने परिमाणमा आय प्राप्त हुने अवस्थाको अनुमान गर्न नसकिने। खेती गर्ने प्रयोजनले ती जग्गाहरु खरीद भएको र खेती लगाएको भन्ने जिकिर लिनेले वस्तुनिष्ठ प्रमाणबाट सो कुराको पुष्टि गर्नु पर्ने। त्यसबाट सानो तिनो कृषि उत्पादन भएकै अनुमान गर्दा पनि त्यो प्रतिवादीको दैनिक उपभोगमा खर्च हुने प्रकृतिको देखिएकाले आयका रुपमा छुट्टै गणना गरिरहनु नपर्ने। काठमाडौं लगायतका शहरी क्षेत्रका घडेरीको रुपमा प्रयोग हुने जग्ग्ााहरु व्यवसायिक रुपमा खेती गर्ने प्रयोजनले खरीद गरेको र ती जग्गामा व्यवसायिक रुपमा खेती गरेको भन्ने पुष्टि हुने प्रमाणको अभावमा ती जग्ग्ााबाट बचत हुने परिमाणमा उल्लेख्य मात्रामा कृषि आय प्राप्त भएको भन्न नमिलेको केशवराज, केशरजंग मुरारी बहादुरको मुद्दामा सिद्धान्त प्रतिपादन भएकोले सो अनुसार यस मुद्दामा पनि प्रतिवादी गोविन्दराज जोशी र निजका परिवारले पछि जोडेको सहरी क्षेत्र समेतको घडेरी जग्गाको कृषि आय कायम गर्न मिलेन। ।
विदेशबाट पैसा आएर मात्र नहुने वैध श्रोत खुल्नु पर्नेः
वस्तुतः गैर कानूनी रुपमा आर्जन गरिएको सम्पत्तिलाई शुद्धीकरण गरी वैधानिक बनाउन हरेक उपायहरु अपनाइने गरिन्छ। त्यस्तो सम्पत्ति आर्जन गरेको अवैधानिक स्रोतलाई अनुसन्धान गर्न कठीन र जटिल बनाई त्यसलाई पहिचान गर्न र पत्ता लगाउन नसकियोस् भनी देशभित्र विभिन्न बैंकहरुमा रकम सार्दै जाने र विदेशमा समेत विभिन्न बहाना र माध्यमबाट त्यस्तो रकम लगि त्यसलाई वैधानिक देखाउन वैधानिक मार्गबाट पुनः देशािभत्र ल्याउने प्रयत्न गरिने हुन्छ। विदेशबाट प्राप्त भएको रकम के कसरी देशभित्र भित्रिएको हो र सो रकमको स्रोत के हो भन्नेतर्फ ध्यान नदिने हो भने अबैधानिक रकमले स्वतः कानूनी आवरण प्राप्त गर्ने हुँदा विदेशबाट रकम प्राप्त भएको भनी दावी गर्ने पक्षले त्यस्तो रकमको स्रोतलाई पुष्टि गर्ने दायित्वबाट उन्मुक्ति पाउन सक्तैन। ड्राफ्टबाट रकम पठाउने स्रोत नै नखुलेको कागजको आधारमा विदेशबाट प्रतिवादीलाई निजका छोराले रकम पठाएको पुष्टि भएको भन्न नमिल्ने हुँदा सो रकमलाई प्रतिवादीको आय कायम नगरेको विशेष अदालतको इन्साफ मिलेको। छोराले विदेश बेलायतबाट आफूलाई हातहातै अन्य रकम पनि पठाएको र त्यसबाट लगानी गरेको भन्ने प्रतिवादीको अपुष्ट भनाईकै आधारमा प्रतिवादीको सो आय काम गर्न नमिल्ने भनी नेपाल सरकार विरुद्ध केशवराज गौतम समेत, (फौपुनं. ०६३ ऋच् ०००८,००७६,०१६१,०१७३ फैसला मिति २०६९।२।९।३) भएको मुद्दामा प्रतिपादित सिद्धान्त अनुसार यस मुद्दामा पनि प्रमाण भएकोमा बाहेक विदेशबाट हातहातै आएको भनिएको आयलाई मान्यता दिइएको छैन।
साँवाबाट प्राप्त व्याज रकम परिचालन गरी अन्य आय तथा सम्पत्ति प्राप्त गरेको नदेखिई बैंकमा नै रहेको र सो ब्याज रकम बढे बढाएको सम्पत्तिसम्म भएको। निक्षेप रकमलाई मात्र प्रतिवादीको सम्पत्ति मानिएको हुँदा सो बाट बढे बढाएको व्याज स्रोतको रुपमा गणना गरिरहनु नपर्ने। नेपाल सरकार विरुद्ध केशवराज गौतम समेत, फौपुनं. ०६३ ऋच् ०००८, ००७६,०१६१,०१७३ फैसला मिति २०६९।२।९।३ मा सर्वोच्च अदालतबाट निर्णय भएको हुँदा बैंक खातामा रहेको रकमको ब्याजलाई आयमा गणना गरिएको छैन।
पहिले आफूले पेश गरेको सम्पत्ति विवरणमा नदेखाएको सम्पत्तिलाई सो मिति भन्दा पछि मेरो सम्पत्ति भनी जिकिर लिन नमिल्ने। नेपाल सरकार विरुद्ध केशवराज गौतम समेत, (फौपुनं. ०६३ ऋच् ०००८, ००७६,०१६१,०१७३ फैसला मिति २०६९।२।९।३) भएको मुद्दामा प्रतिपादित सिद्धान्त अनुसार यस मुद्दामा पनि प्रतिवादी गोविन्दराज जोशीले मन्त्री भएपछि पेश गरेको सम्पत्ति विवरणमा नखुलाएको शिक्षक हुँदा र वकील हुँदा कमाएको भनेको सम्पत्ति निजसंग रहेको भनी मान्यता दिन मिलेन।
प्रतिवादी गोविन्दराज जोशीले आफूले लेखका पुस्तक बिक्रीबाट कमाएको रु. ३०,८७,८१५। रुपैयाँ भन्दा बढी आम्दानी गरेको भनी जिकिर लिएको देखिन आयो।
मेरा अनुभूतिहरु भन्ने कृतिको प्रकाशक नेपाली कांगे्रस समिति १, तनहुँ, पहिलो संस्करण २०५५ पृ.२२७ मूल्य रु.२९५ भनी प्रकाशन भएको देखिन्छ।
अर्को कृति मेरा अनुभूतिहरु भाग ३ भन्ने कृतिमा प्रकाशक विवेक प्रकाशन काठमाडौं पृ १४७ मूल्य रु २०० लेखिएको पाइन्छ। सोही कितावको भित्री पृष्ठमा पहिलो संस्करण २०५५ भाग १, ५००० प्रति, दोस्रो २०५७ माघ, भाग २, ४००० प्रति तथा भाग ३, ०५९ मंसिर ५००० प्रति भनी छापिएकोछ।
तेश्रो किताव शब्दचित्रमा नेपाल २०५८ असार प्रकाशक नारायणी प्रिन्टिंग एण्ड टे्रडर्स सहकारी संस्था लि नयाँ बानेश्वरबाट पृष्ठ ३४१ भएको मोल रु ३०० लेखिएको किताव प्रकाशन भएको देखिन्छ।
कितावको रोयल्टीको लागि लगानी, मुद्रित प्रति आदि देखिनु पर्ने भनी यस्तै कितावको रोयल्टीको माग भएको मुद्दामा “Tax Audit नामक पुस्तक लेखी रु ४४ हजार आय प्राप्त भएको जिकिर लिए पनि रु ५५ मूल्यको किताव कति प्रति छापिएको, त्यसको लागि यो यति लगानी परेको र बिक्री गरेको भनी स्पष्ट रुपमा जिकिर लिन नसकेको। परन्तु पुस्तकको अस्तित्व देखिएको, ट्यशन पढाएको, प्रशिक्षण दिएको तथा कपी जाँच ४ शीर्षकमा गरी रु. २,३४,८००। आय भएको माग गरेकोमा न्यायोचित रुपमा रु.४६,७५६।०४ आय प्राप्त भएको कायम हुने भनी नेपाल सरकार विरुद्ध आन्तरिक राजस्व विभागका निर्देशक मुरारीबहादुर कार्की समेत, फौपुनं. ०६५ ऋच् ०००९ फैसला मिति २०६९।२।३।४ पृ.८२ मुद्दामा सिद्धान्त प्रतिपादन भए जस्तै यस मुद्दामा पनि प्रतिवादीले कितावको लेखकस्व वापत प्राप्त गरेको भनेको आय सम्बन्धमा निरोपण गर्नु पर्ने हुन आयो। प्रतिवादीले ३० लाख बढीको आम्दानी माग गरेकोमा अख्तियारले २ लाख आय प्रदान गरेको देखिन आयो। त्यस उसले लगानी बिक्री र आम्दानीको यकिन बिबरण, कर तिरेको प्रमाण लगायत प्रमाणको अभावमा अख्तियारले न्यायोचित रुपमा रायल्टी वापत रु २ लाख आय कायम गरेको मिलेकै देखिन आयो, प्रतिवादी गोविन्दराज जोशीको माग बमोजिम ३० लाख आय कायम गर्न मिलेन।
छोरीको कमाई बाबुको आयमा जोड्न नमिल्नेः
छोरीको तलव लगायत आय बाबुको आयमा जोडिनु पर्छ भन्ने जिकिरः छोरीको आर्जनले घर व्यवहार नगरिनेः
गैर कानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने मुद्दामा जाँच अवधि को आय र व्यय अर्थात् सम्पत्ति र स्रोतबीचको अस्वभाविकता र असामञ्जस्यताबाट कसूर कायम हुने र नहुने यस प्रकृतिका मुद्दामा हालसम्म अवलम्बन गरिएको आधारको सिंहावलोकन गर्दा न्यायिक विवेक र विश्लेषणभन्दा पनि सम्पत्ति र आयको लेखापरीक्षण ९ब्गमष्तष्लन० मा बढी ध्यान केन्द्रीत गरिन्छ।
यी प्रतिवादी गोविन्दराज जोशीले २०४८ सालमा मन्त्री पदमा नियुक्ति भएपछि मन्त्रीपरिषद् सचिवालयमा २०४८।१०।२० र त्यसपछि प्रत्येक पटक मन्त्री नियुक्त हुँदा सो सचिवालयम मिति २०५२।९।१७, ०५५।२।२७, ०५६।३।२, ०५६।१२।२८ र ०५७।११।१८ मा तथा सम्पत्ति न्यायिक जाँचबुझ आयोगमा मिति ०५९।१।१६ मा निजले सम्पत्ति विवरण पेश गरेको देखिन आयो। सो सम्पत्ति विवरण २०४८ साल र पछि पनि पटक पटक भरेको देखिन आयो। जाँच अवधि भनेको सांसदमा सदस्य भई सो हैसियतमा रहेको मिति २०५९।२।८ सम्मको अवधि हो। २०४८।१।२९ मा संसदको सदस्य भएपछि नै मन्त्री समेत भई सार्वजनिक पदाधिकारीको रुपमा यी प्रतिवादीको जिम्मेवारी र दायित्व रहेको देखिन आयो। यी प्रतिवादीले भरेका सम्पत्तिका ती विवरणहरुमा लेखिएका सम्पत्ति भन्दा अरु सम्पत्ति पनि थिए भनी गैर कानूनी सम्पत्ति आर्जनको यो मुद्दा लागे पछि देखाएको वा जिकिर लिएको आम्दानीको श्रोतलाई पुष्टि गर्ने दायित्व प्रतिवादी कै हुन्छ।
आफूले विधिवत रुपमा पेश गरेको सम्पत्ति विवरणलाई खण्डन गर्न मिल्दैन। पेश गरेको सम्पत्ति विवरणमा लेखिएको भन्दा बढी सम्पत्ति आफूसंग त्यतिबेला थियो भनी वैधानिक रुपमा प्रमाणित गर्र्नु पर्दछ।
सम्पत्ति विवरण भर्दा बाबु बाजेबाट आएको पुर्खौली सम्पत्ति, बिक्री गरेको जग्गाको आर्जन, शिक्षक भएर कमाएको तलव भत्ता, ट्युशनबाट कमाएको आर्जन, सकृय चालु वकील भएर कमाएको सम्पत्ति आदि केही पनि जोड्दै नजोडेका होलान् भनी भन्न सकिदैन भने मन्त्री पदमा नियुक्त भए पछि आफैले भरेको सम्पत्ति विवरणमा नदेखाएको सम्पत्तिलाई अहिले मुद्दा परे पछि मेरो यो यो सम्पत्ति थियो भनी भनेको भरमा सो जिकिरलाई मान्न सकिने कानूनी आधार पनि प्रतिवादीले देखाउनु सक्नु पर्दछ। यदि त्यसरी विभिन्न श्रोतबाट जोडेको सम्पत्ति बाँकी रहेको भए त मन्त्री पदमा नियुक्ति भए पछि आफूले पटक पटक पेश गरेको सम्पत्तिको विवरणमा देखाउने दायित्व पनि निजकै हुन्छ। सो विवरणमा लेखेको बाहेक सम्पत्ति कतै बाँकी थियो भनी उहाँले देखाउन सकेको पाइदैन।
पहिले आफूले पेश गरेको सम्पत्ति विवरणमा नदेखाएको सम्पत्तिलाई सो मिति भन्दा पछि मेरो सम्पत्ति भनी जिकिर लिन नमिल्ने। पृ.६७ भनी नेपाल सरकार विरुद्ध केशवराज गौतम समेत भएको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा (फौपुनं. ०६३ ऋच् ०००८, ००७६,०१६१,०१७३ फैसला मिति २०६९।२।९।३) प्रतिपादित सिद्धान्त अनुसार पनि प्रतिवादी गोविन्दराज जोशीको मन्त्री भएपछि सम्पत्ति विवरणमा नदेखाएको अन्य पेशबाट आर्जित आय थियो भनी विना आधार प्रमाण मान्न मिलेन।
त्यसउसले अन्य राष्ट्रसेवक कर्मचारी माथिको अकुत सम्पत्ति मुद्दामा जस्तो जागीरमा प्रवेश गरेको मिति देखि जाँच अवधिसम्मको आम्दानी र सम्पत्तिको यस मुद्दामा हिसाव गर्नु पर्ने अवस्था देखिन आएन। शिक्षक पदमा नियुक्ति भएको २०२४ साल देखि २०३५ साल सम्म र त्यस पछिको वकील पेशबाट गरेको तथा अभियोग लगाउँदा सम्मको अवधिको आम्दानी र सम्पत्तिका हिसाब गरिनु पर्दछ भन्ने प्रतिवादीको बयान र निज पक्षका कानून व्यवसायीको बहस जिकिर र आम्दानी र सम्पत्तिको श्रोत खुलाएको बहस नोटसंग सहमत हुन सकिएन।
पेश भएको बहसनोट र बहस जिकिर अनुसार प्रतिवादी गोविन्द राज जोशीको वैध आम्दानी भनी जिकिर गरिएका शीर्षकहरु निम्नानुसार छन्ः
निज नेपाल बैंक लि मा बरिष्ठ वही रक्षक अर्थात् हेड असिष्टेन्ट पदमा नोकरीमा रहेको देखिन आयो। नीर कुमारी पन्त ७९ वर्षकी वृद्धा रहेकीमा निजको नाममा जग्गा खरिद गर्दा वा वैंकमा मुद्दति तथा वचत र अन्य खाता खोली कारोबार भने निजका एक मात्र सगोलका छोरा प्रतिवादी बासुदेव पन्तले गरेको देखिन्छ। प्रतिवादी नीरकुमारीले छोरा बासुदेव पन्तलाई साक्षी राखी जावलाखेलको घर ताराराज पाण्डेलाई ०५८।१२।१७ मा विक्री गरेकी देखिन्छ। नीर कुमारीले आफूले गरेको कारोबारमा जम्मै कुरा छोरालाई थाहा छ भनी बयान गरेबाट कारोबार गर्ने मुख्य कारिणी भने बासुदेव नै रहेका देखिन आयो।
प्रतिवादी बासुदेव र नीर कुमारीले पुर्ख्यौली सम्पत्ति प्रशस्त रहेकोमा बिक्री गरी बैंकमा लाखौं रकम जम्मा गरेको भनी बयान गरेकामा २०४० साल भन्दा अघि नै बिक्री गरेको देखिन्छ। २०४० पछि २०४८ सालसम्म बिक्री गरेको जग्गा र सो बाट खास रकम प्राप्त भएको देखिएन। यो मुद्दाको विवाद २०४८ साल देखि २०५८ साल सम्मको भएकाले २०४८ साल सम्मको पन्त परिवारको सम्पत्तिको स्थिति र त्यसपछिको आय तथा २०४८ देखि २०५८ सालसम्म जोडिएको चल अचल सम्पत्तिमा भएका लगानीको सम्बन्धमा हेर्नु पर्ने हुन आयो।
बिक्री गरेको जग्गा र प्राप्त रकम यस प्रकार देखिन आयोः
२०५० बैशाखमा चितवनको जग्गा रु. १,२५,०००।
०५० चैत्रमा चितवनको जग्गा रु . ५०,०००।
०५१ सालमा चितवनको जग्गा रु. १,८४,०००।
०५१ काठमाडौं,कालीमाटी जग्गा रु. २४,९५०।
जम्मा रु. ३,८३,९५०।
०५०।२।२० काठमाडौंमा जग्गा खरिद रु. १,१२,५००।
०५०।५।८ काठमाडौंमा जग्गा खरिद रु. ४८,१५०।
२०५१ सालमा भरतपुरमा जग्गा खरिद रु. २१,०००।
२०५१ सालमा काठमाडौंमा घर जग्गा खरिद रु. ३,५२,८७१।
जम्मा रु. ५,३४,५२१।
सोही अवधिमा २०५० सालमा बानेश्वरमा रु ५,९२,२४०। लिखत अंक राखी घर जग्गा खरिद गरेको देखिन्छ, जसको कारोबार २० लाखमा भन्ने बिक्रेता सदीक्षाको भनाइ छ। त्यतिबेला खरिद गर्न सक्ने अवस्था नै देखिदैन र सो घर गोविन्दराजको लगानीबाट खरिद गरेको भन्ने अभियोग रहेको छ।
यो अवधिमा नीरकुमारीकी छोरी चोला कुमारी पन्त र बुहारी सविता पन्त पनि नोकरीमा रहेका देखिन्छन्। आय वृद्धि भएको देखिन्छ। यसै अवधिमा चितवनमा चोलाकुमारी र नीरकुमारीका नाममा रु ४,१०,०००। र रु.२,८०,०००। को जग्गा खरिद भएको देखिन्छ। चितवनको जग्गा बिक्रीबाट रु १९,०००। मात्र प्राप्त भएको देखिन्छ।
यसै अवधिमा ०५३।१२।१२ मा रु. २५ लाख नीरकुमारी पन्तका नाममा मुद्धति खातामा जम्मा गरेको देखिन्छ जसको श्रोत जग्गा र अन्य आयबाट भएको पुष्टि हुँदैन। साथै २०५४।८।२२ मा नीरकुमारी कै नामा डिल्लीबजार बैंकमा रु ९,८०,०००। जम्मा भएको छ। यस अवधिमा २०५४।१०।१७ मा बासुदेव पन्तका नामको घर जग्गा अग्रवालहरुलाई बिक्री भए पनि सो घर जग्गा खरिद गर्न निजको आयश्रोत पुगेको देखिन नआएकाले सो बिक्री गरेको आय निजलाई प्राप्त भएको वैध आय भनी मान्न मिलेन।
उक्त बानेश्वरको घर जग्गा २०५४।१०।१७ मा बिक्री हुनु ९ दिन अगाडि नै ललितपुर उपमनपा २० जावलाखेलमा २०५४।१०।९ मा घर जग्गा लिखत मूल्य रु. ३१,१३,२००। मा (खरिद मोलमा अभियोगमा ७५ लाख भनी विवाद देखाए तापनि) खरिद गर्न निज बासुदेवको परिवारको आयश्रोतबाट पुग्ने देखिन आएन। बानेश्वरको किनं २६३ मा बनेको सदीक्षा थापाबाट खरिद गरेको घर निजको आयबाट खरिद गरेको नभएकाले सो घर बिक्रीबाट निजलाई आय प्राप्त भएको मान्न मिल्ने देखिन आएन।
२०५४।१०।९ मा नीरकुमारीको नाममा खरिद भएको घर जग्गा २०५९।१२।१७ मा ताराराज पाण्डेको नाममा बिक्री भएको देखाइएतापनि रकम लिनु दिनु नगरी बासुदेव पन्तको आग्रहमा आफ्नू नाममा राखेको मात्र हो आफ्नो आय नभएको भन्ने ताराराज पाण्डेको अधिकार प्राप्त अधिकारी समक्षको बयान समेतबाट गोविन्दराज जोशीको गैरकाननूनी आर्जनको सम्पत्ति लुकाउने काम गरेको देखिन आएबाट जावलाखेलको घर जग्गा बेचेर बासुदेव पन्तको परिवारको आय भएको मान्न मिलेन।
यस आवधिमा बानेश्वरको ६ आना जग्गा र चिवनको जग्गा २०५६ सालमा क्रमशः रु. २,३४,०००। र रु. १९,०००। मा बिक्री गरेको देखिन्छ भने बानेश्वर कै घरजग्गा छोरी पूर्णकुमारी पन्तलाई रु. १२,६८,५००। मा हा.ब. गरिदिएको देखिन आयो। छोरीलाई वकस नै गरिदिएको भनी बयान गरेबाट आय प्राप्त हुने भएन। सिर्फ २,५३,०००। मात्र जग्गा बिक्रीको आय मान्नु पर्ने देखियो।
गोविन्दराज जोशीले ससुरालीका नाममा १ करोड रुपैयाँ बैंकमा राखेको र घर किनेको तथा नाताका ताराराज पाण्डेको नाममा लुकाएको भन्ने अभियोग सम्बन्धमा विचार गरी हेर्दा भ्रष्टाचार गरी कमाएको सम्पत्ति भरसक लुकाएर राखिन्छ। भ्रष्टाचार गरी कमाएको सम्पत्ति जफत हुने सम्पत्ति हुनाले आफ्ना नातागोता तथा विश्वासका अन्य व्यक्तिको नाममा राखिन्छ। स्वेतःग्रीवी अपराधको प्रकृति र विशेषता नै यस्तै हो। जसको नाममा सम्पत्ति पाइन्छ सो सम्पत्ति निजको आयबाट आर्जित सम्पत्ति होइन भन्ने तथ्यले पुष्टि हुन्छ भने सो सम्पत्तिको वास्तविक स्वामी पत्ता लगाउन प्रत्यक्ष प्रमाण फेलापार्न पनि कठिन हुन्छ। तथापी यस मुद्दामा ताराराज पाण्डेले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान र निजको सम्पत्तिको विवरणलाई हेर्दा विवादित नीरकुमारीको मुद्धति खाता र ताराराज पाण्डेको नाममा लुकाएको घर जग्गा प्रतिवादी गोविन्दराज जोशीकै देखिन आयो।
बासुदेव पन्तका ससुरा डेलिम्बराज पाण्डेका भाई भैरहवा बस्ने ताराराज पाण्डेको नाममा जावलाखेलको घर जग्गा ०५९।१२।१७ मा मोल रु. ३६,२६,५००। राखेर बिक्री गरेको देखाई हक सारेको देखिन आयो।
सहअभियुक्तको पोल यथार्थ रुपमा सवूद प्रमाणबाट समर्थित हुनु पर्ने। ीबध अबलुत दभ ्कबमभ चयनगभुक अजबचतभच, फुलबेन्च गंगामाया श्रेष्ठ विरुद्ध श्री ५ को सरकार, नेकाप २०४१ अंक ८ निनं.२०७७ पृ. ६८६
गोविन्दराज जोशी उपर चलेको मुद्दामा अनुसन्धान तहकिकातको सिलसिलामा गरेको बयानको उल्टो वयान अदालतमा गरेकोले निज उपर दायर भएको मुद्दामा अदालतमा बयान गर्दा मलाई मानसिक यातना दिई बयान गराएका थिए। के के लेखी मलाई जवरजस्ती सही गर्न लगाएका हुन्। अनुसन्धानको क्रममा मलाई अदुअआ मा उपस्थित गराइएन। (सज ६) भनी आफूलाई जवरजस्ती सही गर्न लगाएका भनी बयान गरेका। के के लेखी सही गराएका भनी बयान गरे तापनि पारिवारिक विवरण (सवालजवाफ ३), अंशवण्डाको कुरा (सज४), घरायसी विवरण र सम्पत्ति, विवाह,बसोबासको स्थान, बसाई सराई,(सज६), जग्गा बिक्री सट्टा पट्टाको विवरण विभिन्न सालको कारोबारको विवरण,(सज १९) आफ्नू नाममा आएको घर जग्गा गोविन्दराज जोशीको रहेछ भनी बयान गरेकामा बयान नसुनाएको, नहेरेको भए, के लेखेको भन्ने थाहा नपाएको भए जवरजस्ती कागज गराइयो भनी लिएको जिकिर अपत्यारिलो देखियो। उक्त बयानमा निजको दस्तखत पनि भएको छ। अतः यस्तो अवस्थामा ताराराज पाण्डेका आर्थिक स्थिति समेत सवै प्रमाणको अवलोकन गर्दा ताराराज पाण्डेले सो घर जग्गा आफ्नो होइन भनी अधिकार प्राप्त अधिकारी समक्ष मौकामा गरेको बयान स्वेच्छाले गरेको भनी प्रमाणमा लिनु पर्ने हुन आयो।
जाँच अवधि जाँच अवधि (२०४८-२०५९।२।८) मा जोडिएको सम्पत्ति
४ सुन २,२७,२१४।७२ २०४८ मा सम्पत्ति विवरण पेश गरेभन्दा बढेको २० तोलाको त्यतिबेलाको मोलमा।
११ छोरा दीपकराज जोशीलाई अमेरिका पठाउँदा लागेको खर्च १,२३,८७३।७५
१२ छोरा दिनेशराज जोशीलाई अष्टे्रलिया पठाउँदा लागेको खर्च। ७५,३९८।४०
१३ ललितपुर उ म न पा वडा नं. २० ख किनं. ५३०,४५१, ४७४ र ४७६ समेत गरी जम्मा १ ९ १ ३ जग्गा र सो जग्गामा भएको घर नीर कुमारी पन्तको नाममा मिति २०५४।१०।९ मा फुमु भोटियाबाट खरिद भएकोमा फुमुले ७५ लाखमा बिक्री गरेको भनी आयोगम बयान गरेपनि लिखत मोल अनुसार मोल कायम गर्ने भनी प्रतिवादी मुरारी बहादुर कार्की र केशवराज गौतमको मुद्दामा सं सर्वोच्च अदालतबाट भएको फैसला अनुसारको लिखत मूल्य मानिएको छ।
त्यस्तै फुमु भोटियाबाट ०५४।१०।९ मा नीरकुमारीको नाममा आउँदा रु.४,३५,८४८। तथा ताराराज पाण्डेकोमा २०५९।१२।१७ मा हस्तानतरण भै जाँदा रु.२,२९,५९०। रजिष्टे्रशन दस्तुर लागेकोमा सो प्रतिवादीबाटै खर्च भएकोले श्रोत पुर्याउनु पर्ने सम्पत्तीमा पारिएको। ३१,१३,२००। (घर जग्गाको मोल)
प्रतिवादी नीरकुमारी पन्तको नाममा रहेको सो मुद्दती रकम प्रतिवादी गोविन्दराज जोशीले अवैध आर्जन गरी लुकाएको रकम भएको।
१७ मुद्धतीको ब्याज रु. २०,५९,०९३।२५ को पनि श्रोत पुर्याउन पर्ने दावी वादीले लिएको तर बढे बढाएको रकमको श्रोत पुर्याउन पर्ने भन्ने कानूनी व्यवस्था नभएकोले सो रकमको श्रोत पुर्याउन पर्ने भनी सम्पत्तिमा समावेश गरिएको छैन।
१. प्रतिवादी दिनेशराज जोशी र गोविन्दराज जोशीको नाममा आरोपपत्रको तालिका नं. २६ मा उल्लेख भएको ने.वै.लि.तथा नवील वैंकको खातामा रहेको रु. १५,५४,९६१।२७ र सोबाट बढे बढाएको सम्पत्ति।
२. प्रतिवादी दिनेशराज जोशी र रक्षा भट्टराईको भागको नारायणी प्रिन्टिंग एण्ड टे्रड सहकारी संस्थाको अफसेट मेसिनको मूल्यांकन प्रतिवेदन बमोजिमको रु. ८८,६४०। र शेयर खरिद रु. १०,०००। समेत जम्मा रु. ९८,६४०।
३. प्रतिवादी गोविन्दराज जोशीको नाममा रहेको रु. २२,०२,८१९।५० मोल कायम भएको बा. २ च ९०४१ नम्बरको टोयोटा ल्याण्डक्रुजर गाडी एक।
४. गण्डकी टेक्निकल टे्रनिंग सेन्टरको नाममा २०५३।९।२८ मा जिल्ला तनहुँ कुर्लुङ गाविस वडा नं. ६(ङ ) कि.नं. ११५,१३४,५५९ र ६३ को लिखत मूल्य २,३६,२५०। कायम भएको मध्ये प्र.दिनेशराज जोशीको हक पुग्ने एक तिहाई जग्गा।
५. प्रतिवादी दिनेशराज जोशी समेत ३ जनाले संयुक्त रुपमा खरिद गरेको तनहुँ फराकचौर ९ग कि.नं.८०१ र ८०२ को लिखत मूल्य ३,५८,२००। कायम भएको जग्गा मध्ये एक तिहाई जग्गा।
६. प्रतिवादी ताराराज पाण्डेको नाममा रहेको मूल्य रु. ३१,१३,२००। उल्लेख भएको ललितपुर उपमहानगरपालिका वडा नं. २० (ख) कि.नं.५३०,४५१,४७४ र ४७६ समेतको जग्गा रोपनी १-९-१-३ र सो जग्गामा भएको घर लगापात समेत।
७. प्रतिवादी गोविन्दराज जोशीको नवील र्वैंकमा अमेरिकी डलरको खाता नं ०११०२१३०४३२०१ मा रहेको अमेरिकी डलर १६,०६८।१९ को आजको सटही दर रु. ८९.३१ अनुसार हुने रुपैयाँ १४,३५,०५०।०५।
जफत गर्न नपुग बाँकी विगो रु. १,३०,११,५५५।५९ को हकमा प्रतिवादी गोविन्दराज जोशीको अन्य जायजातबाट प्रचलित कानून बमोजिम असूल उपर गर्नू।
प्रतिवादी बासुदेव पन्त प्रतिवादी गोविन्दराज जोशीका गैरकानूनी आर्जनका सम्पत्तिका सम्बन्धमा सम्पूर्ण बैंकिंग कारोवार गर्ने कार्यमा प्रत्यक्ष रुपमा संलग्न रहेको, घर जग्गा समेतका अचल सम्पत्ति विभिन्न व्यक्तिका नाममा राख्ने रखाउने बन्दोबस्त गर्ने, गराउने समेतका कार्य गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ क र प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा २२ को कसूर गरेकाले सोही ऐनको दफा २२ बमोजिम कारणी सरह नै सजाय गरी पाउँ भन्ने अभियोग दावी भएकोमा प्र.गोविन्दराज जोशीले अवैध रुपमा आर्जन गरेको रकमबाट आमा नीरकुमारी पन्तको नाममा रु.३१,१३,२००। मूल्य उल्लेख भएको घर जग्गा राखी प्र.ताराराज पाण्डेको नाममा लुकाउने उद्देश्यले हक सार्ने कार्य र आमा नीरकुमारीको नाममा सोही अवैध रुपबाट आर्जित रकमको मुद्दती खाता खोली एक करोड रुपैयाँ लुकाउने छिपाउने समेतको कार्य गरी प्रतिवादी वासुदेव पन्तले तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६क र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको मतियारको कसूर गरेको ठहर्छ।
सो ठहरेकोले सजायको हकमा सोही ऐन बमोजिम सो विगोको आधी रु. ६५,५६,६००। जरिवाना र कैद महिना ६ (छ) समेत हुने ठहर्छ।
प्रतिवादी ताराराज पाण्डेको हकमा फौ.नं. ९३-६८-००१२२ को छुट्टै भ्रष्टाचार मुद्दा दायर भई सोही मुद्दाको फैसला बमोजिम हुने भएकाले निजको कसूर सम्बन्धमा यस मुद्दामा बोली रहन परेन। प्रतिवादी ताराराज पाण्डेको नाममा रहेको मूल्य रु. ३१,१३,२००। म्ाोल कायम भएको ललितपुर उपमहानगरपालिका वडा नं. २० (ख) कि.नं.५३०,४५१,४७४ र ४७६ समेतको जग्गा रोपनी १-९-१-३ र सो जग्गामा भएको घर लगापात समेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ समेत बमोजिम जफत हुने ठहर्छ।
प्रतिवादी नीरकुमारी पन्तको मिति २०६३।२।३१ मा मृत्यु भैसकेको देखियो। निज नीरकुमारी पन्तको नाममा प्रतिवादी गोविन्दराज जोशीले अवैध रुपमा आर्जन गरेको रकमको मुद्दती खाता खोलिएको र जाउलाखेल स्थित घर जग्गा खरिद भएको देखिएपनि निजको उमेर अवस्थाले गर्दा ती कार्यमा आफैं संलग्न भएको नभै छोरा प्रतिवादी बासुदेव पन्तको अग्रसरता र संलग्नता रहकोले निज नीरकुमारी पन्तले आरोपित कसूर गरेको नदेखिँदा सफाई पाउने ठहर्छ।
त्यसैगरी प्रतिवादी रामकृष्ण तिवारीको हकमा विचार गर्दा नीरकुमारी पन्त तीर्थाटन जाने भएकीेले निजको अधिकृत वारेसको नाताले जाउलाखेलको घर पारित गराउने कार्यमा सम्म संलग्न रहेको साथै गोविन्दराज जोशीको खाताबाट प्राप्त चेकको रकम निकाली बासुदेव पन्तलाई उपलब्ध गराएकोसम्म देखिँदा प्रतिवादी गोविन्दराज जोशीको गैरकानूनी आर्जनको कुनै सम्पत्ति राख्ने, लुकाउने, छिपाउने कार्यमा मतियारको रुपमा संलग्न रहेको कुराको पुष्ट्याई शंकारहित रुपबाट भएको नपाइएकोले निजले आरोपित कसूरबाट सफाई पाउने ठहर्छ।
प्रतिवादी दिनेशराज जोशीका हकमा निज समेतको नाउँमा दर्ता रहेको जग्गा जफत प्रयोजनको लागि आरोप पत्रमा दावी लिएको र निजको नाउँको जग्गा जफत हुने ठहरेकाले अरु केही गरिरहनु परेन। अन्य कुरामा नेपाल सरकारको अभियोग दावी पुग्न सक्तैन।
|