असार २९ – नेकपा माओवादीका उपाध्यक्ष सिपी गजुरेलले चिनियाँ जनताले साथ दिए साम्राज्यवादीसँग युद्ध थाल्ने उदघोष गरेका छन् । 
उनले नेपाल र चीनको राजधानीका ठूला बडाले गर्ने सम्बन्ध मात्रै नपुग्ने भन्दै त्यसका लागि आमनेपाली जनता र करौंडौं चिनियाँ जनताको बिचमा सुदृढ सम्बन्ध हुनुपर्ने बताए ।

उनले नेपाल–चीन जनमैत्री समाजद्वारा आयोजित ‘नेपाल–चीन मैत्री सम्बन्ध र जनमैत्रीको महत्व’ विषयक अन्तक्र्रिया कार्यक्रममा सो कुरा बताएका हुन् ।
नेपाली जनताले क्रान्ति चाहेको र त्यसमा विदेशी हस्तक्षेप भएको बताउँदै उनले भने हामी विदेशी हस्तक्षेपसँग लड्न सक्छौं त्यसका लागि चिनियाँ जनताको साथ लियौं भने साम्राज्यवादीसँग लडेका जनतासँगको सम्बन्धले नयाँ उचाई हासिल गर्नेछ ।’ 
उनले कतिपयले चीनसँगको सिमा क्षेत्र खुला गर्नु हुँदैन भन्ने मान्यता राखेको र सो मान्यताले नै नेपाललाई समस्या उब्जाएको दाबी गरे । उनले भने, ‘यसले जनता–जनता बीचको सम्बन्ध छेकेको छ ।’ 
चीनसँग कहिल्यै कटुता नभएको तर भारतद्वारा ५२ ठाउँमा सिमा मिचिएको प्रसंग उल्लेख गर्दै उनले भने, ‘दक्षिणतिर खुला सिमा हुँदा टाउको नदुख्ने तर उत्तर तिरको प्रसंग चल्दा टाउको दुख्ने ?’
उनले नेपालका शासकहरु एक चीन नीतिमा प्रतिबद्ध भएको बताउने तर व्यवहारमा त्यसो नभएको चर्चा गर्दै भने, ‘बाबुराम र विजय गच्छेदारहरु पनि एक चीन नीति भन्छन् तर नेपालको राजधानी वरिपरि बनेका बिल्डीङहरु हेर्दा थाहा हुन्छ ।’ उनले फ्री तिब्बत गतिविधि गर्ने गरी हालै नेपाली नागरिकलाई दलाई लामाले नियुक्ति गरेको प्रसंग उल्लेख गर्दै उक्त कुरा भने । 
नेपाललाई विदेशी क्रिडास्थल बन्न नदिन नेपाल–चीन सिमाक्षेत्रका ग्रामिण जनताहरु बीच यस्ता किसिमका छलफल चलाउन आवश्यक रहेको बताउँदै भने, ‘ नेपाल र चीनको सुरक्षाकालागि चीन र नेपालको सम्बन्ध जनस्तरमा हुनुपर्छ ।’ 
सोही अवसरमा उनले चीनले नेपाललाई दिएको सहयोग जनताको लागि भन्दा शासकहरुको मस्ती र भ्रष्टचारका लागि मात्र भएको पनि बताए । उनको विचारमा काम चलाउ सरकारका प्रमुखले आजकल रातोदिन भोज खाने र उडाउने धन त्यस्तै सहयोग मध्येको हो । 
नेकपा–माओवादीका उपाध्यक्ष गजुरेलले बाबुरामले संकटमा फसाएको तर निकास नदिएको पनि बताए । उनले बाबुरामले पुन संविधान सभाको चुनाव र प्रचण्डले संविधान सभाको पुर्नस्थापनाको कुरा गर्नु सहि राजनैतिक निकास नभएको तर्क दिए । उनले भने,‘यसले गर्दा नेपाली जनतामा सतिले सरापेको देशमा अपराधीकै ढलीमली हुन्छ भन्ने परेको छ ।’ उनले जनघाती सत्तालाई ढाल्न जनता कि आन्दोलनमा लाग्नु पर्ने वा तत्कालको सस्तो समाधानको उपाय सर्वपक्षीय गोलमेच सभा भएको बताए । 
नेकपा–माओवादीका पोलिटब्युरो सदस्य नारायण प्रसाद शर्माले आफुहरुले चिनीयाँ जननेता माओ त्सेतुङको सहि विचार र कार्यदिशा भएमात्र सबै चिज प्राप्त हुन्छन भन्ने कुरा आफुहरुको लागि महत्वपूर्ण शिक्षा भएको बताए । उनले चीन सम्पन्न र नेपाल विपन्न भएको प्रसंग उल्लेख गर्दै त्यसकालागि चीनले जनस्तरको सहयोगलाई उच्च प्राथमिकता दिनुपर्ने बताए । 
नेपाली काँग्रेस विदेश विभाग सदस्य चाउ एनलाई श्रेष्ठले जनस्तरिय सम्पर्कलाई दुईदेश बीचको ठूलो सम्बन्ध भएको बताए । उनले विदेशी चलखेल भएको नेपाल र चीन .बीच उत्पन्न हुने समस्या हल गर्न यस खाले समाजको आवश्यकता भएको पनि उल्लेख गरे । 
नेकपा–माओवादीका सल्लाहकार हुकुम बहादुर सिंहले अवधारणा पत्र प्रस्तुत गर्दै हिमाल पानी र तिनलाई जोड्ने सडकलाई नेपाल चीन जोड्ने सेतु भएको चर्चा गरे । उनले भने, ‘नेपाल र चीनका जनताको जनस्तरिय सम्बन्धलाई मजबुत बनाउने काममा नेपाल चीन जनमैत्री समाज सबैसँग सहकार्य गर्न तयार रहेको बताए । 
उक्त अवधारणा पत्रमाथि टिप्पणी गर्दै परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपाल चीनको सम्बन्ध जनस्तरमा पहिले भएको चर्चा गर्दै साम्राज्यवाद विरुद्धको एकता आवश्यक भएको बताए । उनले सिमाक्षेत्रलाई शान्तिपूर्ण, मैत्रीपूर्ण, पारदर्शी र अपराधमुक्त बनाउनु पर्ने आवश्यकतामाथि जोड दिए ।
यसैगरी अर्का टिप्पणीकर्ता चीनकालागि पूर्व राजदूत टंक कार्कीले नेपालले चीनबाट धेरै सहयोग पाएको चर्चा गर्दै सन् २०११मा मात्रै ८० हजार चीनियाँले नेपाल भ्रमण गर्नुलाई जनसम्बन्धको कारण बताए । 
उनले पूर्वको ओलाङ्चुङ्गोलाबाट पश्चिमको हिल्सासम्म जनस्तरीय सम्बन्ध विकास गर्नु पर्नेमा जोड दिँदै भने ,‘‘तर हामीले आशे विकास काम लाग्दैन भन्ने कुरा पनि बुझ्नु पर्दछ ।’ 
अर्का टिप्पणीकर्ता नेपाल चीन समाजका उपाध्यक्ष जनार्दन आचार्यले चीन विकसित मुलुक भएकोले मात्र होईन रणनैतिक छिमेकी मुलुक हुनुले त्यही प्रकारको सम्बन्ध विकास गर्नु पर्ने आवश्यकतामाथि जोड दिए ।
कार्यक्रम समाजका अध्यक्ष कर्णजीत बुढाथोकीको सभापतित्व, उपाध्यक्ष तारा घर्ति मगरको स्वागत मन्तब्य र सचिव दुर्लभ कुमार पुन मगरको संचालनमा होटल मनाङमा सम्पन्न भएको थियो । 

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।