काठमाडौं २९ साउन
नेपाल पत्रकार महासंघमा दुई दशकदेखिको वाम गठबन्धन भत्किने अवस्था आएको छ । आगामी ४/५ भदौमा हुन गइरहेको महासंघको केन्द्रीय महाधिवेशनमा एमाले निकट प्रेस चौतारी र माओवादी केन्द्र निकट प्रेस सेन्टरबिचको लामो साझेदारीले यो पटक निरन्तरता नपाउने स्थिति आएको हो ।
अघिल्लो निर्वाचनमा चौतारीले सेन्टरलाई अध्यक्ष दिने लिखित समझदारी गरेपनि चौतारीले अध्यक्ष दिन आनकानी गरेका कारण वामबन्धन धरापमा पर्ने स्थिति आएको हो । चौतारीले अध्यक्ष दिने बताउँदै आएपनि दिने निर्णय नगरेर झुलाउँदै आएको छ । स्रोतका अनुसार चौतारीले सेन्टरलाई अन्तिमसम्म अध्यक्ष दिने भनेर युनियनसँग तालमेल गर्न झुलाउने र अन्तिममा अध्यक्ष समेत नदिने खेल खेलेको बताइन्छ ।
त्यसो त चौतारीका विभिन्न जिल्लाका १३७ केन्द्रीय पार्षदले अध्यक्ष सेन्टरलाई दिएमा भोट नहाल्ने भन्दै भित्रभित्रै अभियान चलाएपछि सेन्टर झनै बिच्कन पुगेको हो ।
सेन्टरलाई नेतृत्व दिन चौतारीको एक खेमा तयार भएपनि अर्को खेमा तयार नबनेको हो । यसअघि, सेन्टरका अध्यक्ष महेश्वर दाहालले एमाले नेता योगेश भट्टराई र चौतारी अध्यक्ष गणेश बस्नेतलाई भेटेर सहमतिमा हस्ताक्षर गर्न आग्रह गरेपनि उनीहरुले एक दिन, दुई दिन भन्दै भाका सार्ने काम गर्दै आएको बताइन्छ ।
यसैबिच, प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले सेन्टरलाई अध्यक्ष दिएर भएपनि सेन्टरसँग तालमेल गर्न कांग्रेस निकटको पत्रकार संगठन प्रेस युनियनलाई निर्देशन दिएका छन् । उनले एमालेले अतिवाद गरेको भन्दै जसरी भएपनि महासंघबाट आउट गराउन निर्देशन दिएका हुन् । शनिबार युनियनका उच्च नेता तथा महासंघमा सामेल पूर्व पदाधिकारीबिच भएको छलफलमा देउवाले यस्तो निर्देशन दिएपछि युनियन र सेन्टरबिच तालमेल हुने सम्भावना बढेर गएको छ । सो छलफलमा बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि एमालेलाई जसरी भएपनि हराउन निर्देशन दिएको बुझिएको छ ।
पत्रकारका उच्च नेताहरुका अनुसार आज बेलुकी अर्थात ढिलामा भोलिसम्म तालमेलको अन्तिम टुंगो लाग्ने भएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।