त्यसदिन मैले उनलाई भेट्दा उनी निकै खुशी देखिएका थिए । यसअगाडि उनलाई मैले कहिले पनि यस्तो खुशी देखेको थिइन । हुन त हाम्रो कतिधेरै भेटघाट पो हुन्थ्यो र ? त्यहीं ज्याक्सनहाइटतिर निस्केको बेलामा भेट हुने त हो । न्युयोर्कमा नेपालीहरुको जमघट हुने मुख्य थलो न यहीं ज्याक्सन हाइट त हो नि ।

अहिले त के छ कुन्नी ? म त्यता नगएको धेरै भयो । तर पहिले नेपालमा काठमाडौंको बशन्तपुरबाट गणेश मन्दिर हुंदै मरुहिटीको हल्का ओरालो लाग्दा पोखरी पार गर्नासाथ विहान विहान भारतीयहरुको ठूलै जमघट देख्न सकिन्थ्यो । हुलै बांधेर बाटै छेक्नेगरी पान चपाउदै बसेर ठूलो ठूलो स्वरमा कुरा गरिरहेका उनीहरुले युपी विहार तिरको झल्को दिन्थे ।

न्युयोर्कमा पनि यसैगरी ज्याक्सनहाइटतिर जम्मा हुने नेपालीहरुले बातै मारेर भएपनि नेपालको झल्को दिन्छन् । यिनै बातबहादुरहरुको भींडमा कहिलेकांही उनीसंग भेटघाट हुन्थ्यो मेरो । पहिले पहिले सामान्य चिनजान थियो पछि पछि मनका बात पनि हुन थाले । त्यसैले मैले उनलाई यस्तो विधि खुशी हुुनुको कारण सोधिहालें । जवाफ दिए उनले – म त बच्चाको बाबु बन्ने भएं ।

हुन पनि उनको बच्चाको बाबु बन्ने रहर पुरानै थियो । तर खै किन हो विहे गरेको पांच वर्षसम्म पनि बच्चा भएन । बच्चा किन र कस्को कारणले भएको थिएन, यो त उनले बताएनन् । न मैले नै कुनैदिन सोधें । किनभने मेरा यस्ता प्रश्नले उनलाई दुखी पनि बनाउन सक्थ्यो । म उनलाई दुखी बनाउन चाहन्नथें ।

एकमन त मलाई के कारणले बच्चा नभएको हो जान्न मन पनि लागेको थियो । किनभने यस्तो जान्न पाएमा उनलाई केही सल्लाह सुझाव पनि दिन सक्थें । हामी नेपालीहरुलाई अरुलाई सल्लाह सुझाव दिन त माहिर छदैंछौं । तर मलाई उनका बच्चा नहुनुको कारण सोध्ने हिम्मतै आएको थिएन । यो अवस्थामा उनले आफू बच्चाको बाबु बन्ने खबर सुनाउदा उनको सुखद खबरबाट म पनि खुशी भएको थिएं ।

आफू बच्चाको बाबु बन्ने कुरा उनले मलाईमात्र होइन, धेरैलाई सुनाए । शायद अपुतो भन्नेहरुलाई पनि जवाफ दिनुथियो उनलाई । बच्चाको बाबु बन्ने भएकोमा उनी यति खुशी थिए कि यो खबर साथीहरुलाई सुनाउन पाउंदा उनको मनमा हर्ष र उमंग छाएको थियो । किनभने छोरा वा छोरीले बाबा भनेर बोलाएको सुन्ने उनको रहर छिटो नै पूरा हुंदै थियो ।
उनले आफू बाबु बन्ने कुरा सुनाएको त्यो भेट नै उनको र मेरो अन्तिम भेट थियो । त्यसपछि उनीसंग भेट हुन पाएन । पछि त्यस्तै पांच छ महिना बितेपछि उनी न्युयोर्क छाडेर टेक्सासतिर हो कि कता हो लागे भन्ने सुनियो । न्युयोर्क छाड्दा उनी निकै दुखी थिए रे । उनीसंग अन्तिमपटक भेट भएपछिका दिनमा उनको जीवनमा निकै ठूलो आरोह अबरोह आएछ । एउटा दुखद कथाजस्तै । पछि अरुसंग बुझ्दा थाहा पाइयो ।

बच्चाको बाबु बन्ने सपना पुरा हुने दिन नजिक नजिक आउदै थियो । त्यसैले बैंक अकाउण्ट पनि उनले अलिकति बढाएका रहेछन् । सुत्केरी भइसकेपछि श्रीमतिले काम गर्न सक्ने कुरा भएन । त्यसैले पैसाको जोहो गर्नु उनका लागि जरुरी थियो । यो अवधिमा उनले ग्यास स्टेशनमा ६ दिन होइन, कहिलेकाही त हप्ताको सातै दिन पनि काम गरे । श्रीमतिले पनि न्युजर्सीमा एकजना काला अमेरिकनकोमा काम गरिरहेकै थिइन्, त्यसबाट पनि अलिकति पैसा आइरहेकै थियो । घरखर्च धानेर केही रकम श्रीमतिकै कमाइबाट पनि बच्थ्यो ।

श्रीमति सुत्केरी हुन दिन पनि आयो । लामो प्रतिक्षापछि बच्चाको अनुहार हेर्न उनी निकै लालायित थिए । बच्चा पेटमा नर्मल अवस्थामा नै रहेकाले सुत्केरीहुंदा कुनै कठिनायी भएन । बच्चा स्वस्थ्य र सकुशल थियो । यहांसम्म त उनको जीवनमा सबैकुरा ठीकठाक नै भइरहेको थियो । तर कुरा यहींनेरबाट बिग्रियो ।

आफ्नो पहिलो सन्तानको अनुहार हेर्न हरेक बाबुआमालाई हतारै हुन्छ । त्यसैले निकै हतार गरेर उनी बच्चाको अनुहार हेर्न अघि सरे । हुन पनि छोरा नै जन्मिएकाले उनी अझ बढी खुशी थिए रे । छोराछोरी बराबर भनेपनि छोरा जन्मिएकोमा खुशी मान्ने वा छोराको चाहना राख्ने बाबुआमाहरुको के कमि छ र ? त्यो क्याटेगोरीमा उनी पनि परेकै थिए ।

छोराको अनुहार देखेपछि भने उनको मनभरी एकैछिन अगाडि छाएको उमंग मरेर गयो । अनुहार नै फिक्का भयो । किनभने छोराको अनुहार बाउसंग होइन, अमेरिकाको न्युजर्सीमा काम गर्ने घरको साहुसंग पो मिल्न पुग्यो । सातो गएजस्ता भएका उनी श्रीमतिलाई अस्पतालमा नै छाडेर बेपत्ता भए ।

श्रीमतिले काम गर्ने घरको साहुजस्तै कालो अनुहारको मात्र होइन, काटीकुटी साहुकै अनुहारको । त्यसैले शायद डिएनए परिक्षणको झन्झट पनि गर्ने आवश्यकता ठानेनन् उनले । उनले तत्कालै श्रीमतिलाई छाड्ने निर्णय गर्न पुगे । श्रीमतिलाई छाडेपछि उनी टेक्सासतिर लागे भन्ने सुनियो ।

पछि श्रीमति आफूले काम गर्ने तिनै कालाजातिका अमेरिकन साहुकोमा गुनासो गर्न पुगेकी थिइन् रे । किनभने बच्चा त्यहीं साहुकै भएको कुरामा श्रीमतिलाई कुनै शंका नै थिएन । उसो त साहुलाई पनि शंका थिएन । किनभने यस्तो भइरहन्छ अमेरिकामा । र यो सामान्य घटना जस्तै हो अचेल । कतिले थाहा पाएपनि श्रीमतिलाई स्वीकार गरिरहेकै हुन्छन्, कतिले थाहै पाउदैनन् । लोग्नेले छोडेकी उनलाई ति साहुले श्रीमतिकै रुपमा राखेको खबर त आएन, तर उनीपनि त्यसपछि कता गइन् केही थाहा पाउन सकिएन । – विश्वन्युज अनुप थापा

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।