विभिन्न विषयमा विवाद उत्पन्न भएपछि माओवादी लडाकूहरुको सेनामा समायोजनाका लागि सुरु भएको भर्ना छनोट प्रक्रिया अवरुद्ध हुन पुगेको छ ।

सेनामा समायोजन हुन चाहने लडाकुको अनमिनबाट भएको प्रमाणीकरण, शैक्षिक योग्यता र नागरिकतामा फरकफरक देखिएपछि विवाद उत्पन्न भएको हो ।

समायोजनका लागि भरेको फारम सेनाको भर्नाका लागि दलहरुबीच विगतमा भएको सहमति र तोकिएको मापदण्डभन्दा फरक देखिएपछि छनोट प्रक्रिया आजबाट अचानक स्थगन हुन पुगेको हो ।

समायोजनमा जाने कतिपय लडाकुहरुको उमेर मापदण्डभन्दा कम र केहीको बढी देखिएपछि त्यस विषयमा अर्को निर्णय नभएसम्म केही दिनका लागि छनोट प्रक्रिया स्थगन गरेको नेपाली सेनाले जनाएको छ ।

मुलुकका विभिन्न भागस्थित सातवटा शिविरमा रहेका तीन हजार १२३ लडाकुको समायोजनका लागि भर्ना छनोटको काम बुधबारदेखि सुरु भएको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।