असार २२ – नेपालको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थललाई अध्यागमन, भन्सार, सुरक्षा र टावरबाहेक व्यवस्थापन मात्रैको नाममा भारतीय कम्पनीलाई दिने तयारी भएको छ ।

बाबुराम भट्टराई नेतृत्वको सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति, सुधार र व्यवस्थापनको जिम्मा भारतलाई दिन लागेको हो ।

नागरिक उड्डयन प्राधिकरणले एसियाली विकास बैंक (एडीबी) को ऋण र आफ्नै स्रोतबाट स्तरोन्नतिको काम सुरु गर्ने तयारी गरिरहँदा सरकारले नवगठित लगानी बोर्डमार्फत भारतीय कम्पनीलाई जिम्मा दिने प्रक्रिया अघि बढाएको छ ।

देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मा भारतीय कम्पनीलाई दिने तयारीले ठूलै शंका उपशंकाहरु उब्जाएको छ ।

कुनै पनि देशको अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को देशको हतियारधारी सेना आएर सुरक्षा दिने अवस्था आयो भने विशाल दुई छिमेकी राष्ट्रको बीचमा रहेको हाम्रो देशलाई निक्कै अप्ठ्यारो पर्ने देखिन्छ ।

यहाँ कुरो बुझ्दा व्यवस्थापनको जिम्मा मात्रै भनिएपनि भारतीय कम्पनीलाई टेण्डर आह्वान गरेर ठेक्का दिन लागिएको होइन । त्यस्तै व्यवस्थापन अन्तर्गत के–के कुरा पर्छन भन्ने खुलाइएको छैन ।

विपक्षीहरुको भनाई मान्ने हो भने यो भारतले आफ्नो सेना छिराउने सबैभन्दा उत्तम उपायका रुपमा प्रयोग गरेको रणनीति हो ।

भारत निकट मानिएका बाबुरामलाई प्रयोग गरेर आफ्ना हतियारधारी सेना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छिराउन लामो समयदेखिको योजना भारतले पूरा गर्न खोजिरहेको छ भन्छन् विपक्षीहरु ।

नागरिक उड्डयन प्राधिकरणले एसियाली विकास बैंक (एडीबी) को ऋण र आफ्नै स्रोतबाट स्तरोन्नतिको काम सुरु गर्ने तयारी गरिरहँदा सरकारले नवगठित लगानी बोर्डमार्फत भारतीय कम्पनीलाई जिम्मा दिने प्रक्रिया अघि बढाउनुले पनि शंका उब्जाएको छ ।

उक्त कम्पनीसँग प्रधानमन्त्री बाबुराम भट्टराईले कात्तिक पहिलो साता गरेको भारत भ्रमणक्रममा लगानी सुरक्षा प्रत्याभूत गरेका थिए ।

यसैबीच, प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको सार्वभौमिकतालाई नै संकटमा पार्ने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनको जिम्मा भारतीय कम्पनीलाई दिन लागेको भन्दै प्रमुख दलका नेताहरुले गम्भीर आपत्ति जनाएका छन् ।

युवा संघ नेपालले आज राजधानीमा गरेको कार्यक्रममा नेपाली कांग्रेस, एमाले र नेकपा– माओवादीका नेताहरुले बाबुराम सरकारको राष्ट्रघाती कदमलाई कुनै पनि हालतमा सफल हुन नदिने अठोट व्यक्त गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।