असार ४ – लामो समयदेखि दुई धारमा उभिएको एकीकृत नेकपा माओवादी आजदेखि औपचारिक रुपमा दुई टुक्रा भएको छ ।
संविधानसभा रहँदाको सबैभन्दा ठूलो दल बनेको एमाओवादीका बरिष्ठ उपाध्यक्ष मोहन वैद्य समुहले राष्ट्रिय कार्यकर्ता भेला गरि नयाँ पार्टी घोषणा गरेको हो ।
तीन दिनदेखि राजधानीको बौद्धमा रहेको शेर्पा मलमा राष्ट्रिय कार्यकर्ता भेलामा वैद्यले गरेको नयाँ पार्टी गठनको प्रस्तावलाई सर्वसम्मत पारित गरेपछि माओवादी आजबाट औपचारिक रुपमा विभाजन हुन पुगेको हो ।
नयाँ पार्टीको नाम नेकपा माओवादी राखिने भएको छ । सो पार्टीको नेतृत्व बरिष्ठ उपाध्यक्ष मोहन वैद्यले नै गर्ने बताइएको छ । बैद्यले केन्द्रीय समिति ७५ हुने प्रस्ताव गरेको भएपनि त्यसलाई भेलाले परिमार्जन गर्न सकिने उल्लेख गरिएको छ ।
वैद्य पक्षले संस्थापन पक्षसँग पनि छलफल भने जारी राख्ने जनाएको छ । करिव पाँच वर्षदेखि नै दुई चिरामा रहेर फरक विचार समुहको रुपमा क्रियाशिल रहेको माओवादीका उपाध्यक्ष बैद्य पक्षले माओवादी संस्थापन पक्षले पार्टीको क्रान्तिकारिता गुमाएको र संशोधनवादी धारमा परिणत भएको आरोप लगाउँदै संस्थापनको हरेक क्रियाकलापको विरोध जनाउँदै आएको थियो ।
त्यसो त संस्थापन पक्षले पनि यसअघि वैद्य पक्षलाई निस्केर जाँ भन्न सकेको थिएन भने वैद्य पक्ष पनि पार्टी फुटाएर नयाँ पार्टी घोषणा गर्न सकेको थिएन । एक अर्कामा आरोप प्रत्यरोपको युद्ध गर्दै आएका यी दुई धार अलग भएपनि यसले राष्ट्रलाई फाइदा भन्दा पनि घाटा बढी लगाउने सम्भावना बढी छ ।
विगतलाई हेर्दा…..
२०४३ सालको सेक्टर काण्डमा आफ्नो
गल्ती महसुस गर्दै आत्मालोचनासहित वैद्यले नेकपा मशालको महामन्त्री पद
छाडेपछि पार्टीमा उनका चेला दाहालले रिक्त स्थान भरेका थिए। ४३ सालको
चुनावमा वैद्यले पार्टीमा निर्णय नै नगराई प्रहरीचौकीमा विस्फोट गर्न
निर्देशन दिएपछि यसको विरोध भएको थियो जसलाई सेक्टर काण्ड चिनिन्छ। त्यही
मशाल नै अहिलेको माओवादी हो। त्यही पार्टीमा अहिले वैद्य अढाइ दशकअघि
गुमेको आफ्नो भूमिका खोजिरहेका छन् जसमा माओवादीका हस्तीहरू बादल, देव
गुरुङ, विप्लव र सिपी गजुरेल ‘गौरवुले सघाइरहेका छन्।