काठमाडौं १० कात्तिक । सर्वोच्च अदालतका १९ न्यायाधीशमध्ये १८ न्यायाधीश प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको विरुद्धमा उभिएका छन् । उनीहरुले राणाले राजीनामा दिनुपर्ने माग राख्दै आएपछि राणा थप नैतिक संकटमा फसेका छन् ।
प्रधानन्यायाधीश राणाले पद र शक्तिको दुरुपयोग गरेर मन्त्रीपरिषदमा बार्गेनिङ गरेको भन्दै राजीनामा दिनुपर्ने पक्षमा सुरुमा सात÷आठ जना न्यायाधीशहरू उभिएकोमा अहिले आएर १८ न्यायाधीसका साथै बार समेत लागेको छ ।
न्यायाधीशहरूले सोमबारका लागि प्रधानन्यायाधीशले बोलाएको पूर्ण इजलास बहिस्कार गर्ने निर्णय गरेका थिए भने आज पनि इजलासमा गएका छैनन् ।
पूर्ण इजलास बहिस्कार गर्ने न्यायाधीशमा दीपक कार्की, मीरा खडका, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, डा। आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी, मनोजकुमार शर्मा र नहकुल सुवेदी थिए।
सर्वोच्चमा प्रधानन्यायाधीश राणासहित २० जना न्यायाधीश छन्। आइतबार अरू पाँच न्यायाधीश बिदामा थिए। न्यायाधीश ईश्वरप्रसाद खतिवडा हाल अमेरिकामा छन् भने सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा, तेजबहादुर केसी र कुमार चुँडाल बिदामा थिए।
मंगलबारसम्ममा कुमार चुँडाल काममा फर्किए र उनी पनि प्रधानन्यायाधीशविरूद्ध १४ जना न्यायाधीशले सुरू गरेको विद्रोहमा सामेल भए। मंगलबार नै देशबाहिर रहेका खतिवडा र काठमाडौंबाहिर रहेका मल्ल र सिन्हाले इमेलमार्फत् आफूहरूको पनि पन्ध्र न्यायाधीशलाई साथ रहेको जानकारी गराएको एक न्यायाधीशले बताएका छन्।
यसरी प्रधानन्यायाधीशविरूद्ध सर्वोच्चका न्यायाधीश तेजबहादुर केसी मात्र खुल्न बाँकी छ। बिदामा रहेका उनी राणाको पक्ष वा विपक्षमा उभिएका छैनन्। केपी ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि राणाले गठन गरेको संवैधानिक इजलासमा आफूसँगै ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई राखेका थिए।







