राजनीतिकर्मी चुकेकै कारण ५० लाख युवा विदेशमा : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिकर्मी चुकेकै कारण ५० लाख युवा विदेशमा काम गर्न बाध्य भएका, विकास आयोजनाहरु लथालिंग भएका र विश्वविद्यालयहरु आफ्नो क्यालेन्डर पनि बनाउन नसक्ने गरी भद्रगोल भएको बताएका छन् ।

उनले आफ्नो तेस्रो कार्यकालमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने संकल्प लिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीका रूपमा आफ्नो पहिलो कार्यकाल सोचेजस्तो नभएको, दोस्रो कार्यकालमा केही गरेको र तेस्रो कार्यकालमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने संकल्प लिएकाले त्यसमा साथ दिन पनि प्रतिनिधिसभाका सांसदहरुलाई आग्रह गरेका हुन् ।

प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्प आफूले लिएको र त्यसलाई पूरा गर्न आफूले संसद्मा विश्वासको मत मागेको पनि स्पष्ट पारे । प्रधानमन्त्री दाहालले वामपन्थी र लोकतान्त्रिक शक्तिहरु मिलेर मात्रै मुलुकमा सार्थक परिवर्तन सम्भव भएको उल्लेख गर्दै आफूले सोही बाटोबाट अघि बढने नीति लिएको बताए । उनले राजनीतिक दलहरु मिल्दा मुलुक अगाडि बढेको र नमिल्दा संकटको सामना गर्नु परेको तथ्य पनि स्मरण गराए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।