काठमाडौं । अनलाइनखबरले हरेक वर्ष ४० वर्षमुनिका प्रभावशाली ४० युवा युवतीलाई छनोट गर्छ । २०८२ सालमा त्यहीँ प्रभावशालीको सुचीमा रश्मि पन्तलाई पनि छनोट गरेको थियो ।
उक्त रश्मीकाे प्रोफाइलमा प्रभु बैंकको बिजनेस प्लानिङ अफिसरका रूपमा सेवा प्रवेश गरेकी रश्मि कर्पोरेट हेड, एचआर हेड र चिफ कर्पोरेट प्लानिङ अफिसर, चिफ अपरेटिङ अफिसर हुँदै समग्र बैंककै तेस्रो वरीयताको चिफ बिजनेस अफिसरको जिम्मेवारीमा छिन् भनेर उल्लेख गरेको थियो । तर, वर्ष दिन पनि नबित्दै तिनै रश्मीको हातमा हत्कडी लाग्यो ।
बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई केही समय अगाडी पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।
किन पक्राउ परिन् उनी ?
रुपन्देहीस्थित ‘एसियन भिलेज रिसोर्ट’लाई प्रवाह गरिएको करिब ४८ करोड रुपैयाँ कर्जा दुरुपयोग प्रकरण तथा अनियमितताको आरोपमा उनलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो ।
दैनिकी डटकमका अनुसार उच्च अदालत पाटनमा पुगेर सुटुक्क ६५ लाख धरौटीमा उनी छुटेकी थिइन । तर त्यसको दुई साता नबित्दै उनी पक्राउ परेकी हुन् । उक्त अनलाइनले महिनौँदेखि प्रहरीको फरार सूचीमा रहेकी रश्मी अर्धभूमिगत रहेको उल्लेख गरेको छ ।
रश्मीसँग जोडिएका तीन वटा मुद्दा अदालतमा विचाराधिन अवस्थामा रहेको छ । एउटा मुद्दामा धरौटीमा छुटे पनि अर्को एसियन भिलेज रिसोर्टसँग जोडिएको कर्जा दुरुपयोग मुद्दामा उनी पक्राउ परेकी थिइन् ।
प्रभु बैंककै तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पक्राउ पर्दा पनि उनी भने भागेर जोगिदैं आएकी थिइन् । बैंक स्रोतका अनुसार बैंकको केन्द्रीय कार्यालयमा रहेको सुचनाका आधारमा उनलाई पक्राउ गर्न प्रहरी पुग्दा पनि उनी लुकेर जोगिन सफल भएकी थिइन् ।
अनलाइनखबरले कसरी उनलाई छानेको थियो ?
चालिस वर्ष मुनिको प्रभावशाली व्यक्तिको छनोटसँगै अनलाइन खबरले भने कूटनीतिक क्षमता, प्रभावशाली सञ्चार शैली र नयाँ युवाको ऊर्जासँग पुराना बैंकरको अनुभवलाई जोड्न सक्ने क्षमता नै उनको सफलताको मुख्य आधार भएको उल्लेख गरेको थियो । उनी आफ्नै नेतृत्वमा बैंक हाँक्ने अठोटका साथ काम गर्छिन् भनेर अनलाइनले दाबी पनि गरेको थियो ।
अनलाइनखबरका अनुसार बैंकिङ क्षेत्रमा उत्कृष्ट योगदान दिएबापत उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री पदक प्राप्त गरेको र यसका साथै उनले सरस्वती विद्या पदक र अन्य अन्तर्राष्ट्रिय सम्मानहरू पनि पाएको उल्लेख थियो । त्यसो त प्रभू बैंकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी संलग्न मदन भण्डारी फाउण्डेशनमा ठूलो राशीको सहयोग गरेको चर्चा पनि हुने गरेको छ ।
पैसामा पद र पुरस्कार किनेको चर्चा
रश्मि पक्राउसँगै विज्ञापन लगायतको आर्थिक प्रलोभन र प्रभावमा उनी आफैंले आफ्नो कथा लेख्न र छाप्न लगाएको चर्चा पनि चुलिएको छ ।
प्रभु बैंकबाट मदन भण्डारी फाउण्डेशनलाई सहयोग गरिनु र त्यसको बदलामा रश्मीलाई पुरस्कार दिएको चर्चा छ । त्यस्तै, मिडियामा पनि विज्ञापन तथा आर्थिक प्रलोभनमा पारेर आफ्नो कथा बुनेर छापिएको चर्चा उनी पक्राउपछि चुलिएको छ ।
उनी बैंकको तेस्रो बरियतामा पुग्नुका पछाडी पनि राजनीतिक शक्ति केन्द्र लगायतको प्रभाव रहेको पनि बताइन्छ ।






