काठमाडाैं । प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी इसराइलमा केयर गिभरका रूपमा पठाइदिने भन्दै २ करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रामेछाप सुनापति गाउँपालिका–१ का ५९ वर्षीय भरत चौलागाईं र दोलखा कालिञ्चोक गाउँपालिका–८ की ३२ वर्षीया बालिका सिवाकोटी पक्राउ गरेको हो।
नेपाल सरकार र इसराइल सरकारबीच भएको सरकार–सरकार (जीटूजी) सम्झौताअनुसार सन् २०२४ मा इसराइलमा केयर गिभरका लागि कामदार पठाउन परीक्षा सञ्चालन गरिएको थियो।
उक्त परीक्षामा सहभागीमध्ये इसराइल जान छनोटमा नपरेका १५६ जनालाई चौलागाईं र सिवाकोटीलगायत व्यक्तिले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी इसराइल पठाइदिने भन्दै विश्वासमा पारेको प्रहरीको भनाइ छ।




