Tuesday, July 28, 2026
Home समाचार मुडे चरिकोट सडक तत्काल सम्पन्न गर्न वा कारबाहीका लागि तयार रहन सांसद...

मुडे चरिकोट सडक तत्काल सम्पन्न गर्न वा कारबाहीका लागि तयार रहन सांसद कार्कीको चेतावनी

काठमाडौं । दोलखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गंगा कार्कीले लामोसाघँु जिरी सडक खण्ड अन्तर्गत मुडे चरिकोटको काम तत्कालै सम्पन्न गर्न वा कारबाहीको लागि तयार हुन ठेकेदार कम्पनीलाई चेतावनी दिएका छन् ।

राजधानी काठमाडौंको सडक सुधार आयोजनाको कार्यालयमा आज भएको त्रिपक्षिय छलफलमा सांसद कार्कीले ठेकेदारलाई मौसम राम्रो हुँदा पनि काम नगर्ने र वर्षायाम कुर्ने तथा विभिन्न बहानाबाजी गरेर उम्कने जस्ता उपायतिर नलागि काम गुणस्तरिय तवरले सम्पन्न गर्न सचेत गराएका हुन् । “तपाई काम गर्नुस, सहजीकरणका लागि म तयार छु, अन्यथा सम्बन्धित निकायमा कारवाहीको लागि प्रकृया अगाडि बढाउन ताकेता गर्छु” सांसद कार्कीले भने ।

उक्त अवसरमा सडक सुधार आयोजनाको तर्फबाट आयोजना संयोजक ज्ञानेन्द्र कुमार झाले ठेकेदार कम्पनीका प्रतिनिधिलाई सो सडकको काम चैत्र महिना भित्रै सम्पन्न गर्न निर्देशन दिएका छन् ।

ठेकेदार कम्पनी सुनौला खिम्तीका प्रतिनिधि गणेश भण्डारीले आयोजनाको काम अगाडि बढिरहेकोले चैत्र महिना भित्रै सम्पन्न गर्ने र गुणस्तरिय कामलाई ध्यान दिने प्रतिवद्धता जाहेर गरे । उनले आर्थिक समस्याका कारण काम समयमै सम्पन्न गर्न नसकेको गुनासो पनि राखे । एम्जिम बैंक इण्डियाले भुक्तानी गर्नुपर्ने रकम पनि समय नदिदाँ भुक्तानी असन्तुलन भएर, काम गर्न असमर्थ भएको दुखेसो उनले पोखे ।

आयोजनाको तर्फबाट इश्वर कार्कीले अव करिव ७ प्रतिसत मात्र काम बाँकी रहेको र मौसम अनुकुल भएकाले चैत्रसम्म ठेकेदारले कालोपत्रे गरिसक्नु पर्ने बताए ।
उक्त छलफलमा दोलखा जिल्लाका राजनितिकर्मिहरु शंकर लामा, बासुदेव पोखरेल, सोम तामाङ, लाप्साङ लामा र प्रखरको पनि सहभागिता रहेको थियो ।
मुडेदेखि चरिकोटसम्मको ३० किलोमिटर सडक खण्ड अन्तर्गत केहि स्थानमा सडक कालोपत्रे नभएको र केहि ठाउँमा काम गुणस्तरहिन भएको गुनासो आएपछि, सांसद कार्कीले काम सम्पन्न गर्न पहल लिएका हुन् ।

दोलखा जिल्ला भित्र काम भईरहेका र सम्पन्न भएर पनि तत्कालै बिग्रेका सडकहरुको अनुमगन गर्ने सांसद कार्कीले बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।