काठमाडौं । दोलखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गंगा कार्कीले लामोसाघँु जिरी सडक खण्ड अन्तर्गत मुडे चरिकोटको काम तत्कालै सम्पन्न गर्न वा कारबाहीको लागि तयार हुन ठेकेदार कम्पनीलाई चेतावनी दिएका छन् ।
राजधानी काठमाडौंको सडक सुधार आयोजनाको कार्यालयमा आज भएको त्रिपक्षिय छलफलमा सांसद कार्कीले ठेकेदारलाई मौसम राम्रो हुँदा पनि काम नगर्ने र वर्षायाम कुर्ने तथा विभिन्न बहानाबाजी गरेर उम्कने जस्ता उपायतिर नलागि काम गुणस्तरिय तवरले सम्पन्न गर्न सचेत गराएका हुन् । “तपाई काम गर्नुस, सहजीकरणका लागि म तयार छु, अन्यथा सम्बन्धित निकायमा कारवाहीको लागि प्रकृया अगाडि बढाउन ताकेता गर्छु” सांसद कार्कीले भने ।
उक्त अवसरमा सडक सुधार आयोजनाको तर्फबाट आयोजना संयोजक ज्ञानेन्द्र कुमार झाले ठेकेदार कम्पनीका प्रतिनिधिलाई सो सडकको काम चैत्र महिना भित्रै सम्पन्न गर्न निर्देशन दिएका छन् ।
ठेकेदार कम्पनी सुनौला खिम्तीका प्रतिनिधि गणेश भण्डारीले आयोजनाको काम अगाडि बढिरहेकोले चैत्र महिना भित्रै सम्पन्न गर्ने र गुणस्तरिय कामलाई ध्यान दिने प्रतिवद्धता जाहेर गरे । उनले आर्थिक समस्याका कारण काम समयमै सम्पन्न गर्न नसकेको गुनासो पनि राखे । एम्जिम बैंक इण्डियाले भुक्तानी गर्नुपर्ने रकम पनि समय नदिदाँ भुक्तानी असन्तुलन भएर, काम गर्न असमर्थ भएको दुखेसो उनले पोखे ।
आयोजनाको तर्फबाट इश्वर कार्कीले अव करिव ७ प्रतिसत मात्र काम बाँकी रहेको र मौसम अनुकुल भएकाले चैत्रसम्म ठेकेदारले कालोपत्रे गरिसक्नु पर्ने बताए ।
उक्त छलफलमा दोलखा जिल्लाका राजनितिकर्मिहरु शंकर लामा, बासुदेव पोखरेल, सोम तामाङ, लाप्साङ लामा र प्रखरको पनि सहभागिता रहेको थियो ।
मुडेदेखि चरिकोटसम्मको ३० किलोमिटर सडक खण्ड अन्तर्गत केहि स्थानमा सडक कालोपत्रे नभएको र केहि ठाउँमा काम गुणस्तरहिन भएको गुनासो आएपछि, सांसद कार्कीले काम सम्पन्न गर्न पहल लिएका हुन् ।
दोलखा जिल्ला भित्र काम भईरहेका र सम्पन्न भएर पनि तत्कालै बिग्रेका सडकहरुको अनुमगन गर्ने सांसद कार्कीले बताएका छन् ।