काठमाडौं । काठमाडौंको तीनकुनेमा एक पत्रकारसहित २ जनाको ज्यान जाने गरी भएको शुक्रबार भएको हिंसात्मक राजावादी प्रदर्शनलगत्तै फरार रहेका दुर्गा प्रसाईंलाई पक्राउका लागि प्रहरी लागि परेका छन् । तर, प्रहरीले अहिलेसम्म उनी कहाँ छन् भन्ने सुइको समेत पाउन सकेको छैन ।
प्रहरीको सिंगो युनिट उनको खोजीमा भएपनि प्रहरीले उनी कुन ठाउँमा छन् भन्ने पत्तो लगाउन नसक्दा प्रसाईं पक्राउ पर्न नसकेका हुन् ।
प्रहरीले उनलाई पक्राउ नगरेपछि विभिन्न शंका उपशंका पनि उब्जिन थालेको छ । कतिपयले उनी भागेर छिमेकी मुलुक भारत पुगिसकेको हुने अनुमान गरेका छन् । कतिपयले उनी नेपालका अन्तिम राजा ज्ञानेन्द्र शाह बस्ने निर्मल निवाससँगै भित्र बसेको हुन सक्ने अनुमान गरेका छन् । अर्को थरीको अनुमान भने अलिक भिन्न किसिमको पाइने गरेको छ । उनीहरुको अनुमान अनुसार प्रसाईं कतै लुकेर बसेपनि विभिन्न शक्तिको दबाबका कारण उनलाई पक्राउ नगरी राखिएको हो ।

सत्यता जे भएपनि प्रसाईं पक्राउ नपरेपछि विभिन्न अड्कल बाजी गरिनु सामान्य बन्न थालेकाे छ । तर, प्रहरीले भने उनको खोजीलाई अझै तिव्रता बनाएको र ढिलो चाँडो उनी पक्राउ पर्ने जनाएको छ ।
प्रदर्शन भएकै मध्यराति प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलसमशेर राणा, अधिवक्ता भद्रप्रसाद (स्वागत) नेपालसहितलाई पक्राउ गरेको थियो । जसमध्ये स्वागत नेपाल भने छुटेका छन् । अन्यको हकमा म्याद थप भई प्रहरीले अनुसन्धान गरिरहेको छ ।
फेरियो प्रहरीको रणनीति
दुर्गा प्रसाईंको खोजीका लागि नेपाल प्रहरीले रणनीति नै परिवर्तन गरेको पाइएको छ । प्रहरीले एकद्वार प्रणालीको विकास गर्दै प्रधान कार्यालयस्थित विशेष व्युरोको कमाण्डबाट खोजि कार्य शुरु गरेको हो । यसअघि प्रसाईंको खोजीका निम्ति केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) र उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली परिचालित थियो ।
नेपाल प्रेसका अनुसार कार्यालयको टोलीले दुई दिनयता प्रसाईंको खोजी कार्य बन्द गरेको छ । सिआइबीले पनि अहिले प्रसाईंको खोजीबाट हात झिकेको छ ।

एक मन्दिरमा सुरक्षित बसेको छु : प्रसाई
प्रसाईंले आफू काठमाडाैंकै एक मन्दिरमा सुरक्षित बसेको बताएका छन् । मन्दिरकै अगाडि बसेर खिचिएको भिडियो सन्देशमा प्रसाईंले आफू फरार नभएको जिकिर पनि गरेका छन् ।
प्रधानमन्त्रीले आफूलाई गोली हान्ने आदेश दिएको थाहा पाएपछि सुरक्षित बसेको उनको भनाइ छ । ‘दुर्गा प्रसाईं टाढा छैन । १२ भाइ मिडिया हात धोएर लाग्या छन् । म भागेको छैन, भाग्दिनँ । पुलिस र प्रशासनले मलाई खोज्नुपर्दैन । मलाई गोञ्जालो बनाएर दबाउन खोजिएको छ । त्यसैले सुरक्षितमात्रै बसेको हो । प्रधानमन्त्रीबाटै गोली हान्ने आदेश छ भन्ने सुनेपछि सुरक्षित बसेको हुँ । म भाग्दिनँ । बरु तपाईंहरूकै अगाडि मर्छु’, प्रसाईंले भनेका छन् ।
प्रसाईंद्धारा राज्यमाथि अझै चुनौती
हिंसात्मक आन्दोलन गरेर फरार रहेका राजावादी आन्दोलनका कमान्डर भनिएका दुर्गा प्रसाईंले आफूलाई पक्रन र २४ घण्टाभित्र पूर्वराजा ज्ञानेन्द्र शाहलाई नजरबन्दमा राख्न उल्टै चुनौती दिएका छन् ।
अज्ञात स्थलबाट भिडियो सन्देश जारी गर्दै प्रसाईंले तीन दलका शीर्ष नेताहरू बसेर आफूलाई थुन्ने र पूर्वराजालाई नजरबन्दमा राख्ने योजना बनाउन थालेको समेत उल्लेख गरेका छन् ।








