बदनामीको भारी बोकेर मुख्यसचिव एकनारायण अर्यालको बिदाई

काठमाडौं । मुख्य सचिवको १५ महिने कार्यकाल पूरा गरेर एकनारायण अर्याल बुधबारदेखि ५८ वर्ष उमेरहदका कारण निवृत्त हुँदै छन् । बिदाई हुँदै गर्दा उनी बदनामी र स्वार्थको फेरो बोकेर जान लागेका छन् ।

यसअघिका मुख्यसचिवहरुको तुलनामा धेरै ठूलो कार्य गर्न सकेनन् भने उल्टै कर्मचारीतन्त्रको बेइज्जत हुने गरी उनले आफ्नो छाप छोड्न पुगे ।

सरकारले पेस गरेको विधेयकमा निजामती कर्मचारीलाई ‘कुलिङ पिरियड’ लगाउने व्यवस्था गरेको बुँदालाई नै गलत ढंगले प्रस्तुत गर्न लगाएर आफू निवृत्त भएपछि राजनीतिक नियुक्ति पाउने व्यक्तिगत लोभ देखाए ।

मन्त्रालय तथा संसद् सचिवालयका सचिवहरुलाई सँगै लिएर प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेतृत्वलाई प्रत्यक्ष रुपमा दबाबसमेत दिएका थिए । त्यतिबेला मुख्य सचिवको पदको हैसियत नराखेको भन्दै चौतर्फी आलोचना भएको थियो । उनीमाथि सरकारको प्रस्तावविरुद्ध देउसी खेल्दै हिँडेको आरोप लाग्यो । उनले नै विवाद उत्पन्न गराउन नेतृत्व गरेका कारण निजामती विधेयक प्रतिनिधिसभाबाट पारित हुने समय लम्बियो ।

पारित हुँदा पनि उनी त्यसबाट चोखो रहेनन् । उनकै मिलेमतोमा कुलिङ पिरियड सम्बन्धी व्यवस्था संशोधन गरिएको भनेर उनीमाथि प्रश्न चिह्न खडा भयो ।

संसद् विघटन भएकाले अब बन्ने संसद्‍मा कर्मचारी विधेयकलाई पुनः सुरुदेखिकै प्रक्रिया अघि बढाउनुपर्छ । नेपाल टेलिकमको बिलिङ टेन्डरका विषयमा पनि उनको नाम जोडिने गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।