Friday, August 21, 2026
22.1 C
Kathmandu
Home ब्यानर एनआईएमबी बैंकका सीईओ पाण्डे निर्दाेष ठहरिएनन्, अदालतले माग्याे ८० लाख धरौटी

एनआईएमबी बैंकका सीईओ पाण्डे निर्दाेष ठहरिएनन्, अदालतले माग्याे ८० लाख धरौटी

​काठमाडौँ । स्मार्ट टेलिकमकाे सम्पत्ति गैरकानुनी ढंगले एनसेललाई बेचेपछि ठगी, संगठित अपराध र बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरमा मुद्दा खेपिरहेका नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेसँग काठमाडौँ जिल्ला अदालतले ८० लाख रुपैयाँ धरौटी माग गरेको छ।

अदालतले प्राप्त प्रमाण र आधार अनुसार अहिले नै पाण्डेलाई निर्दाेष भन्न नसकिने ठहर पनि गरेकाे छ ।

यद्यपि, मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६८ र ७२ बमोजिम ८० लाख रुपैयाँ धरौटी बुझाएपछि मुद्दाको पूर्पक्ष गर्न पाउने गरी थुनछेक आदेश जारी गरिएको छ ।

​स्मार्ट टेलिकम प्रा.लि.को लाइसेन्स रद्द भएपछि कम्पनीको धितो लिलामी प्रक्रिया र घरभाडा बक्यौता रकम हिनामिना गरेको आरोपमा पाण्डे लगायतविरुद्ध मुद्दा दायर भएको थियो।

जाहेरीकर्ता पन्नाकाजी महर्जन र प्रकाश भक्त श्रेष्ठले टावर राखेबापतको घरभाडा र विद्युत महसुल वापतको रकम नदिई बैंक, एनसेल र नियामक निकायका पदाधिकारीहरूको मिलेमतोमा ठगी गरिएको आरोप छ ।

​अदालतमा बयान दिने क्रममा पाण्डेले आफूले बैंकको निक्षेपकर्ताको रकम असुलीका लागि कानून र नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नै लिलामी प्रक्रिया अगाडि बढाएको भन्दै कसुर अस्वीकार गरेका थिए।

​तर, पाण्डेको बरामद मोबाइल परीक्षण गर्दा सतिश लाल आचार्य र सचिनलाल आचार्यसँग ह्वाट्सएपमा रकम भुक्तानी, नियामक निकायको निर्देशन र पदबाट हट्ने विषयमा भएका कुराकानीका प्रमाण भेटिएका थिए।
कुराकानीमा नेपाल राष्ट्र बैंक र नेपाल दूरसञ्चार प्राधिकरणको कारबाहीबारे चेतावनी तथा भुक्तानी सेटिङका विषयहरू समेत समेटिएका छन् ।

अदालतले ऋणी संस्थाको विस्तृत मूल्याङ्कन र कर्जा सदुपयोगिताको अनुगमन नदेखिएको लगायतका प्रमाणका आधारमा पाण्डे अहिले नै पूर्ण निर्दोष मान्न नसकिने ठहर गरेको हाे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।