Friday, August 21, 2026
27.1 C
Kathmandu
Home समाचार वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चद्धारा बदर

वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति सर्वोच्चद्धारा बदर

काठमाडाैं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति बदर गरेको छ। बिहीबार न्यायाधीशहरू सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले श्रेष्ठको नियुक्ति बदर गरेको हो।

निगम संचालक समितिका सदस्य उपेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सचिवालय समेत गरी ५ जनालाई विपक्षी बनाएर असार ३२ गते रिट दायर गरेका थिए।

उनले श्रेष्ठको नियुक्ति बदर गरी आफूलाई नियुक्त गरिपाऊँ भन्ने परमादेश समेत माग गरेका थिए। सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले यसमा आंशिक मात्रै रिट जारी भएको जानकारी दिए।

‘आंशिक रिट जारी भनेको अहिले कार्यकारी अध्यक्ष रहेकाको नियुक्ति बदर भयो। निवेदकले आफूलाई नियुक्ति गराउनका लागि परमादेश समेत माग गरेका थिए। त्यो परमादेशको हकमा भने खारेज भयो,’ उनले भने।

पर्यटन मन्त्रालयले यसअघि योग्यता अनुसार पहिलो नम्बरमा रहेका कार्कीलाई संचालक समिति पदमा समेत नियुक्ति दिएको थिएन।

त्यसविरूद्ध पनि उनी सर्वोच्च अदालतमा रिट लिएर पुगेका थिए। त्यतिबेला मन्त्रालयले उनलाई छाडेर डा. दिपक प्रसाद बाँस्तोला, प्रविन भट्टराई, महेश्वरभक्त श्रेष्ठ, रूपा लामिछाने र लिलाराज ढकाललाई सञ्चालक समितिमा नियुक्त गरेको थियो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।