काठमाडौं । एनसेल आजियाटाले नेपाल सरकारलाई ८५ अर्ब भन्दा ठूलो दायित्वको भारी बोकाएर छाड्ने रणनीति अवलम्बन गरेको पाइएको छ ।
एनसेलले अहिले नै ८५ अर्ब भन्दा बढी तिनुपर्ने अवस्था रहेको छ । जसमध्ये १ अर्ब बराबर सर्वसाधरणलाई ठगेको रकम तिर्नुपर्नेछ । जुन, फाइल सञ्चार मन्त्रालयको दराजमा थन्किएर बसेको छ ।
कानुन अनुसार एनसेल २०८६ पछि स्वतः नेपाल सरकारको स्वामित्वमा आउनेछ ।
तर, नेपाल सरकारको स्वामित्वमा आउँदा एनसेलको सम्पत्ति भन्दा नि तिनुपर्ने दायित्व कयौं गुणा बढी हुने देखिएको हो ।
एनसेलले तिर्नुपर्ने आयकर, मूल्य अभिवृद्धि कर, अग्रिम कर, पुँजीगत लाभकर, स्वामित्व परिवर्तन कर निर्धारणसमेतका विषयमा प्रशासकीय पुनरावलोकन, राजस्व न्यायाधीकरण लगायत विभिन्न तहगत निकायहरुमा १० वटा मुद्दा विचारधिन रहेको पाइएको हो ।
ती मुद्दाहरुमा लिएको दाबी रकम ८५ अर्ब भन्दा बढी रहेको टंकमणी शर्मा संयोजकत्वको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
स्मार्ट टेलिकमको पूर्व सञ्चालक भावना सिंह लगायत पनि अहिले एनसेलका सञ्चालक हुन् । स्मार्ट टेलिकमले नै राज्यलाई झण्डै ३० अर्ब बराबर तिर्नुपर्ने रहेको छ । भावना सिंहहरुले राज्यलाई तिनुपर्ने ठूलो बक्यौता बाँकी नै राखेर एनसेलमा लगानी गरेका थिए । सरकाले भावना सिंहको समूहबाट उक्त रकम फिर्ता गर्नेमा चासो दिएको छैन ।
एनसेलले विगतदेखि नै कर तथा लाभकर नतिर्ने र अदालतमा गएर त्यसलाई लम्ब्याई रहने नीति अवलम्बन गर्दै आएको पाइन्छ । यसरी मुद्दा लम्ब्याउन उसले अतिरिक्त खर्च गर्ने तथा प्रलोभनमा पार्ने गरेको जानकारीहर बताउँछन् । सोही कारण एनसेलका मुद्दा वर्षौसम्म फैसला नहुने गरेको छ । अदालत तथा प्रशासनिक निकायमा यस्ता मुद्दालाई लम्ब्याएर जसरी पनि २०८६ सम्म पुर्याउने एनसेलको योजना रहेको हो ।
एनसेल प्रवक्ता विशाखा खड्कालाई हामीले यसअघि नै मुद्दा लम्ब्याउने एनसेलको नीतिबारे इमेलमार्फत प्रश्न गरेका थियौं । त्यसको एनसेलले जवाफ दिएको छैन ।
२०५८ सालमा ५० करोडको कम्पनी खडा गरेर २०६१ देखि सञ्चालनमा आएको एनसेलले यस अवधीमा १ खर्ब १३ अर्ब नाफा गरिसकेको छ । त्यसमा उसले ९३ अर्बभन्दा बढी लाभांश घोषणा गरेर ६६ अर्ब विदेश नै लगिसकेको छ ।
सानो लगानीको कम्पनीले यति धेरै नाफा कमाउनुको पछाडी सर्वसाधरण यसको प्रत्यक्ष मर्कामा परेको भनेर पनि आवाज उठ्ने गरेको छ । तर, दुरसञ्चार क्षेत्रको कमजोर नियमन र नीतिका कारण करोडको लगानीले पनि खर्बको नाफा दिलाउने गरेको हो ।




