काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन बेटिङ, क्रिप्टोकरेन्सी र अश्लील सामग्री प्रसारण हुने वेबसाइट तथा एप तत्काल बन्द गर्न इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई पुनः निर्देशन दिएको छ । शनिबार एक सूचना जारी गर्दै प्राधिकरणले यस्ता गैरकानुनी प्लेटफर्ममा पहुँच रोक्न ताकेता गरेको हो ।
नेपालको कानुनले अनलाइन प्रविधिमार्फत हुने जुवा (जस्तै: वन एक्सबेट), क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ्ग, बालयौनजन्य सामग्री तथा अश्लील सामग्रीको प्रकाशन र पहुँचमा रोक लगाएको छ ।
यस्ता गैरकानुनी क्रियाकलाप र आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट तथा एप नेपालभित्र सञ्चालन हुन नसक्ने गरी व्यवस्था मिलाउन प्राधिकरणले इन्टरनेट र मोबाइल सेवा प्रदायक कम्पनीलाई भनेको छ ।
प्राधिकरणले आफ्नो निर्देशन पालना नगर्ने कम्पनीलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।
Comments




