काठमाडौँ, १ चैत । नेपाली सेनाका जवानहरुले रक्षामन्त्री बालकृष्ण खाँणसँग बिहानको खाजामा रोटी वा पाउरोटी समावेश गरिदिन माग गरेका छन् ।
रक्षामन्त्री खाँणले नेपाली सेनाको नारायणहिटीस्थित उपत्यका पृतना मुख्यालयको मंगलबार निरीक्षण गरेका थिए । निरीक्षणपछि रक्षामन्त्री खाँणले जवानका मेसमा जवानसँग बसेर खाना खाएका थिए ।
सो क्रममा जवानहरुले सेनालाई बिहानको खाजामा दिइँदै आएको चना र अण्डामा रोटी वा पाउरोटीलाई पनि समावेश गरिदिन हुन रक्षामन्त्रीसँग अनुरोध गरेका हुन् ।
निरीक्षणका क्रममा उनले पृतनाले विपद् व्यवस्थापन र उपत्यका लगायतका जिल्लामा शान्ति सुव्यस्था कायम राख्न खेल्दै आएको भूमिकाबारे जानकारी समेत लिएका थिए ।
रक्षामन्त्री खाँणलाई पृतनापति उपरथी शरदकुमार गिरीले उपत्यका पृतनाको कार्यक्षेत्र र दिएको जिम्मेवारी, जनशक्ति तथा कार्य सम्पादनका बारेमा जानकारी गराएका थिए ।
सो अवसरमा रक्षामन्त्री खाँणले नेपाली सेनालाई आधुनिकीकरण र क्षमता अभिवृद्धि गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाली सेनाले शान्ति सुव्यवस्था एवम् विपद् व्यवस्थापनमा गरेको कार्यको प्रशंसा गरेका थिए ।
Comments







