Monday, August 24, 2026
24.1 C
Kathmandu
Home अर्थ बिशेष ‘बाँसबारी जग्गाकाण्डका आरोपीदेखि जुवाडे’सम्मका छन् नेपाली वाणिज्य तथा महावाणिज्यदूत

‘बाँसबारी जग्गाकाण्डका आरोपीदेखि जुवाडे’सम्मका छन् नेपाली वाणिज्य तथा महावाणिज्यदूत

टेनिस राेका/हेलाेखबर
काठमाडौं । विदेशी मुलुकका अवैतनिक वाणिज्यदूत तथा महावाणिज्यदूत बनेका नेपाली व्यवसायीमध्ये केही भ्रष्टाचार मुद्दादेखि जुवा प्रकरणसम्म जोडिएको पाइएको छ।

वाणिज्यदूत तथा महावाणिज्यदूत जस्तो विशेषाधिकार तथा छुट प्राप्त व्यक्ति नै विवादित पृष्ठभूमीका समेत रहेको पाइएको हो ।
स्पष्ट कानुन अभाव तथा पहुँच र शक्तिका आडमा त्यस्ता विवादित पात्र नै नेपाली दूतका रुपमा रहने गरेका हुन् ।

बाँसबारी जग्गाकाण्डका प्रतिवादी चौधरी
अरुणकुमार चौधरी नेपालका अर्बपति विनोद चौधरीका कान्छा भाइ र सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुन्।
उनी हंगेरीका अवैतनिक महावाणिज्यदूत समेत हुन् ।

उनै चौधरीलाई बाँसबारी लेदर एन्ड सुज फ्याक्ट्रीको करिब १० रोपनी जग्गा हिनामिना गरेको अभियोगमा सिआइबीले पक्राउ गरी अनुसन्धान गरेको थियो। काठमाडौं जिल्ला अदालतले सुरूमा चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे थियाे । पछि भने अदालतले थप हिरासत आवश्यक नरहेको भन्दै उनलाई र अन्य दुई आरोपीलाई रिहा गर्न आदेश दिएको थियो।

पछि जग्गा सरकारको नाममा फर्काउने प्रक्रिया अघि बढ्यो। तत्कालीन महान्यायाधिवक्ताले मुद्दा अघि नबढाउने निर्णय गरेकाले सबै आरोपीहरु चोखिएका छन् ।

जुवाडे अग्रवाल
गिनीका अवैतनिक वाणिज्यदूत अशोककुमार अग्रवाल भने जुवाडेका रुपमा परिचित छन् । लकडाउनका बेला काठमाडौंमा जुवा खेलिरहेको आरोपमा पक्राउ परेका व्यवसायीमध्ये उनी पनि एक थिए। पछि उनी धरौटीमा रिहा भएका थिए।

सुरज वैद्यको कम्पनीद्धारा नापतौलमा ठगी
सुरज वैद्य फिलिपिन्सका अवैतनिक महावाणिज्यदूत हुन् । उनको कम्पनी नेपाल वेलहोप एग्रिटेकको उत्पादन तथा तौलसम्बन्धी विवादमा परेको थियो । २०२१ मा चितवनका किसानले नेपाल वेलहोप एग्रिटेकले उत्पादन गर्ने ‘विजय पेलेट’ कुखुराको दानाको तौल कम भएको भन्दै उजुरी गरेका थिए।

नापतौल कार्यालय वीरगन्जले परीक्षण गर्दा ५० किलो लेखिएको बोरामा करिब ४६ किलो मात्रै दाना भेटिएको जनाएको थियो। एउटा किसानले किनेका १० बोरा तौलिँदा करिब ४६.१ देखि ४६.६ किलो मात्रै भेटिएको थियाे । त्यसपछि १० बोरा दाना जफत गरिएको थियो।

यस प्रकरणमा वाणिज्य विभागले उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना गरेको र नापतौल कार्यालयले स्ट्यान्डर्ड नाप तथा तौल ऐनअन्तर्गत मुद्दा परेको थियो ।

पदको नाममा व्यापारिक स्वार्थ
नेपालका ठूला व्यापारिक घराना तथा राजनीतिक पहुँच राख्ने उद्योगी तथा व्यापारीले महावाणिज्यदूत तथा वाणिज्यदूतको नाममा आफ्नो स्वार्थ अनुकुल पदकाे दुरुपयोग गर्ने गरेको पनि पाइएको छ । यस्ता व्यापारी वर्षौदेखि सरकारी पदको नाममा अखडा जमाएर बस्ने र त्यसैलाई दुरुपयोग गर्दै विदेश भ्रमणदेखि आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने र व्यापार विस्तार समेत गर्ने गरेका छन् ।

नियमनकाे खाँचाे
नेपालमा दूतको विषयमा नियमनको पनि खाँचो देखिन थालेको छ । छिमेकी मुलुक भारतमै कूटनीतिक गाडीको नम्बर प्लेट, भन्सार छुट वा विशेषाधिकारलाई व्यक्तिगत व्यापार वा कर छलीमा प्रयोग गर्न पाइँदैन।

दुरुपयोग गरेको पाइएमा भारत सरकारले तत्कालै स्वीकृति रद्द गर्ने गर्छ ।

तर, नेपालमा भने यसलाई सामान्य रुपमा लिइदै आएको छ । कतिपय व्यापारीहरूले यो पदलाई सामाजिक प्रतिष्ठा, कूटनीतिक नम्बर प्लेट, प्रयोग गर्न र राजनीतिकरप्रशासनिक पहुँच विस्तारका लागि प्रयोग गर्ने गरेको आलोचना हुने गर्छ।

* यसअघिको समाचारमा केही गलत तथ्य पर्न गएकाले सम्पादन गरिएको


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।