काठमाडौं १ चैत
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचडले प्रदेश सिंमाकन संशोधन बिना नै स्थानीय तहको निर्वाचनमा जान सकिने बताएका छन् । स्थानीय तहको निर्वाचनका लागि प्रदेश सिमांकन अनिवार्य नभएको भन्दै प्रधानमन्त्रीले अहिलेका लागि सिमांकन संशोधनलाई यथावत नै राखेर स्थानीय तहको निर्वाचनमा जानुपर्ने बताए । प्रधानमन्त्रीले राजनीतिक सहमति हुन साथ प्रदेश सिमांकनको प्रस्ताव सरकारले अघि बढाउने समेत जनाएका छन् ।
‘स्थानीय तहको निर्वाचनका लागि प्रदेशको सिमांकन हेरफेर अनिवार्य छैन, संसदमा दर्ता भएको विधेयक पारित हुने अवस्था आउने बित्तिकै सरकारले अघि बढाउँछ,’ स्थानीय तहको कार्यालय सञ्चालनको उदघाटनका क्रममा ललितपुर महानगरपालिका परिसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री दाहालले भने, ‘अहिलेको अभियानमा साथमै रहेर अघि बढ्न म मधेसी जनता र मधेस केन्द्रित दलहरुलाई विशेष अनुरोध गर्दछु ।’
निर्वाचनमा जाँदा स्थानीय तहको सीमाङ्कन हेरफेर आवश्यक नरहेको बताउँदै उनले तराई–मधेसका जायज मागलाई संविधान संशोधनमार्फत पूरा गरिने जानकारी दिए । प्रधानमन्त्री दाहालले सिंहदरबारमा निहित बन्दै आएको अधिकार गाउँ नगर र टोलमा गएको भन्दै कार्यपालिका व्यवस्थापिका, न्यायापालिकाका धेरै अधिकार स्थानीय तहमै पुगेको समेत उल्लेख गरे । स्थानीय तह कार्यान्वयनसँगै गणतन्त्रको उज्यालो जनता आफैंले अनूभुति गर्ने वातावरण बनेको भन्दै संविधान कार्यान्वयनका लागि निर्वाचनमा जोड दिए ।
प्रधानमन्त्रीले सिंहदरबारमा केन्द्रित अधिकारी जनताको घर आँगनमा पुगेको भन्दै स्थानीय तहको कार्यालय सञ्चालन तथा कार्य शुभारम्भका क्रममा गणतन्त्र घोषणाको दिन र संविधानसभाबाट संविधान जारी भएको दिनजस्तै ऐतिहासिक र जनताको विजयको दिनको संज्ञा समेत दिए । ‘आजको दिन जनता विजय भएको दिनका रुपमा मैले लिएको छु,’ प्रधानमन्त्री दाहालले भने, ‘किनभने सिंहदरबारमा केन्द्रित र निहित कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासम्बन्धी अधिकार जनताको घर आँगनमा जाँदैछ ।’
प्रधानमन्त्रीले गणतन्त्रको उज्यालो जनताका घरदैलामा सेवा, सुशासन र विकासमार्फत प्रवेश गर्ने भन्दै अहिलेको सरकारको एउटै लक्ष्य निर्वाचन सफल पार्नु भएको समेत जनाए । आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न गर्नेे सरकारको एक मात्र अर्जुनदृष्टि हो, प्रधानमन्त्रीले भने, निर्वाचनमा सहयोग गर्न राजनीतिक दल एवम् सबै पक्षसित म विशेष आग्रह गर्दछु ।
प्रधानमन्त्री दाहालले अहिले कुन पार्टी जित्छ, कुन पार्टी हार्छ भन्दा पनि देश र जनताले जित्ने भएकाले निर्वाचन अनिवार्य भएको समेत बताए । उनले भने, मैले निर्वाचनलाई कुन राजनीतिक दल र तिनका उम्मेदवारले विजयी हुन्छन् भन्दा पनि देश र जनताले जित्छन् भन्ने रुपमा लिएको छु, निर्वाचनलाई महान् उत्सवका रुपमा लिई स्वतः स्फूर्त रुपमा जनता सहभागी बन्नुपर्छ ।’ 
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।