- दर्जन औपचारिक भेटघाट, दर्जनौं नेतासँग फोनमा वार्ता, मन्त्रीपरिषद र मोर्चासँगको छलफल भएन
काठमाडौं २५ फागुन
प्रधानमन्त्री पुष्पकमल दाहालको मंगलबार (हिजो) तनाबसँगै व्यस्ततामा दिन बित्यो । सप्तरीमा राज्य पक्षले गोली चलाएसँगै देशमा राजनीतिक वातावरण बिग्रिएको भोलि पल्ट प्रधानमन्त्रीले सप्तरी घटनाको विषयलाई लिएर औपचारिक, अनौपचारिक कार्यक्रममा मात्र नभएर उदघाटन समारोहमा समेत चासो व्यक्त गरे । उनले मंगलबार दर्जनको संख्यामा राजनीतिक भेटघाट गरे । त्यस्तै, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, संयुक्त मधेसी मोर्चाका बिभिन्न नेता तथा सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुसँग समेत गरेर दर्जन भन्दा बढी फोन वार्ता गर्न भ्याए ।

उनले मंगलबार उपत्यकाबाहिरको एक कार्यक्रममा सहभागी बने भने राजधानीकै अर्को एक उदघाटन कार्यक्रममा सहभागी बने । प्रधानमन्त्री दाहाल मंगलबार बिहान ग्लोबल एलाइन्स फर ब्यांकिंग अन भ्यालुको सम्मेलन उदघाटनमा उपस्थित बने ।
त्यसलत्तै करिब ८ बजे प्रधानमन्त्री दाहालले शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापासहित चिकित्सा क्षेत्रको सुधारमा आन्दोलन गर्दै आएका गोविन्द केसीसँग छलफल गरे । छलफलममा प्रधानमन्त्री दाहालले केसीसँग भएका सम्झौता कार्यान्वयनबारे चासो लिदै सहमतिको कार्यान्वयन गर्न निर्देशन दिएको प्रधानमन्त्रीको नीजि सविचालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले मंगलबार दिनभर विभिन्न नेताहरुसँग समसायिक तथा राजनीतिक विषयमा छलफल गरेका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले एमाले अध्यक्ष, केपी शर्मा ओली, मधेसी मोर्चाका नेताहरु तथा कांग्रेस नेताहरुसँग फोनमा सप्तरी घटना तथा समसामयिक राजनीतिक विषयमा छलफल गरेका थिए ।
प्रधानमन्त्रीले मंगलबार शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिसँग पनि भेट गरे । सुरुमा देउवासँग मात्र भेट गरेका प्रधानमन्त्रीले त्यसपछि देउवा र निधिसँग संयुक्त रुपमा भेट गरेका थिए ।
प्रधानमन्त्रीले मंगलबार नै बोलाइएको मन्त्रीपरिषदको बैठक भने स्थगित भएको थियो । प्रधानमन्त्रीको सचिवालयले कार्य व्यस्तताका कारण बैठक बुधबारलाई सारिएको जनायो । प्रधानमन्त्रीले मंगलबार नै मोर्चाका नेताहरुसँग कांग्रेससहित छलफल बोलाए पनि हुन सकेन । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक, मोर्चाले पनि सोही समयमा अगाडी नै बैठक आह्वान गरिसकेकाले मंगलबार मोर्चासँग वार्ता हुन नसकेको हो ।
प्रधानमन्त्रीले मंगलबार अर्थमन्त्री कृष्णबहादुर महरा, पूर्वगृहमन्त्री समेत रहेका माओवादी नेता शक्ति बस्नेत, अग्नि सापकोटा, पम्फा भुसाल, हरिबोल गजुरेलसँग छुट्टाछुट्टै भेट गरेका थिए ।
प्रधानमन्त्री दाहालले आज भने बिहानैदेखि राजनीतिक भेटघाट सुरु गरेका छन् । मोर्चाका नेताहरुसँग भेट गरेका प्रधानमन्त्रीले तीन दलको बैठक बोलाएका छन् ।







